शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : एसपीपीदेखि विद्युत् महसुल विवादसम्म

बिहीबार, ०६ भदौ २०८१, १९ : ३४
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । व्यवस्थापन तथा स्रोत सम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड आर वर्मा गत साउन ३२ गते नेपालमा थिए । पहिले नै विवादमा परेको अमेरिकासँगको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)को विषयमा उनी नेपाल भ्रमणमा आएको बेला सरकारले के छलफल गर्‍यो भन्ने चासो बढ्यो ।

सोही भ्रमणलाई आधार बनाएर सांसदहरूले यथार्थ विवरण माग गरे अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रोस्टममा उभिएर जवाफ दिनु परेको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिए । एसपीपी‚ अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ लगायतका विषयमा जानकारी माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।

‘आर वर्मा नेपाल आएर सरकारसँग घनीभूत छलफल भएको भन्ने सुनियो । के के विषयमा छलफल भयो ? एसपीपी र स्टार लिंक स्टेशन सम्बन्धी सम्झौताका लागि पहल भएको भन्ने सुनिन्छ‚’ घर्तीको प्रश्न थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले एसपीपी र स्टार लिंक सम्बन्धी कुनै विषयमा छलफल नभएको सदनलाई जानकारी दिए । छलफलका क्रममा वर्माले नेपालको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएकोमा बधाई ज्ञापन गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘उहाँले यूएसएड र डीएफसी लगायत अमेरिकी संस्थाहरूमार्फत नेपाललाई अमेरिकी सहायता तथा लगानी निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । एसपीपी र स्टार लिंक स्टेशन सम्बन्धी सम्झौताका विषयहरू भेटघाटमा छलफल नै भएन‚’ ओलीले भने ।

विद्युत् महसुलको विषयमा प्रम ओली : कसैलाई हिरो बनाउन जरुरी छैन

रोस्टममा उभिएर प्रधानमन्त्री ओलीले डेडिकेटेड ट्रंक लाइनको विद्युत् महसुल उठाउने विषयमा व्यक्ति विशेषलाई हिरो बनाउने कामको अर्थ नभएको बताए । उनको यो जवाफ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङतिर लक्षित थियो ।

‘कसैलाई हिरो बनाउने प्रयासको काम, अर्थ छैन । व्यक्ति विशेषलाई हिरो बनाउने ?‚’ उनको प्रतिप्रश्न थियो ।

प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनका विद्युत् उपभोक्ताहरूबाट सरकारले बक्यौता महसुल उठाउने जानकारी पनि दिए ।

‘उनीहरूले उपभोग गरेको विद्युतको महसुल एक रुपैयाँ पनि छोड्दैन । यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको छ‚’ ओलीको भनाइ थियो‚ ‘विद्युत् प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाह गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेको छ ।’

प्रधानमन्त्री ओलीले सरकार र विद्युत् प्राधिकरणकाबिच बाहिर प्रचार गरिएजस्तो मतभेद नभएको पनि दाबी गरे ।

सांसद साउदको प्रश्न : बंगलादेशमा ४० मेगावाट बिजुली कसरी बेच्ने ?

प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्दै सांसद एनपी साउदले बंगलादेशको अस्थिर राजनीति रहेको अवस्थामा ४० मेगावाट बिजुली बेच्न नेपाल सरकारले के गर्दैछ भन्ने प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले पछिल्लो समय बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण अन्योलको वातावरण बनेको स्वीकार्दै ४० मेगावाट विद्युत् निर्यात गर्न सम्झौता सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमपछि भर्खरै अन्तरिम सरकार गठन भएको सन्दर्भमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उपर्युक्त सम्झौता यथाशक्य छिटो सम्पन्न गर्न पहल भइरहेको छ‚’ ओलीको जवाफ थियो ।

संविधान संशोधनका लागि संसद्को आँट चाहिन्छ

प्रश्न उत्तरको सिलसिलामा सांसदहरूले नयाँ बनेको गठबन्धन र संविधान संशोधनको विषयमा पनि ओलीलाई प्रश्न सोधेका थिए ।

जसमा प्रधानमन्त्री ओलीले संविधान संशोधन आवश्यकता मात्र नभई सदनको आँटको विषय भएको बताए । सांसद नारायणी शर्माले सोधेको प्रश्नको जवाफमा उनले संविधान संशोधन आवश्यकता अनुसार हुने उल्लेख गरे ।

‘संविधानमा संशोधन हामीले ८ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो‚’ ओलीको जवाफ थियो‚ ‘त्यसमा सरकारको मात्रै होइन, सम्मानित संसद्को पनि आँट चाहिन्छ । यो विषय एउटाको आँट अर्कोले हेर्ने विषय होइन, सबै मिलेर आँट गर्ने विषय हो ।’

दमक भ्यूटावरबारे ओली : चाँडै सञ्चालनमा आउँछ

प्रश्नोत्तर कार्यक्रममा सांसद निशा डाँगीले दमक भ्यूटावर सञ्चालन गर्ने योजनाबारे जवाफ माग गरेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री ओलीले दमक वरपरका व्यापारिक गतिविधिलाई सहयोग पुर्याउने उद्देश्यले ५ बिघा क्षेत्रफलमा दमक बिजनेस कम्प्लेक्सको रूपमा भवनको निर्माण भएको बताए । उनले १ अर्ब ७९ करोड  ४८ लाख रुपैयाँमा निर्माण भएको टावरलाई चाँडै सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको सदनलाई जानकारी दिए ।

‘यसभित्र व्यापारिक पसलहरू, कर्पोरेट अफिसहरू, सेमिनार हल, प्रदर्शनीकक्ष, विभिन्न स्थानीय जातिको संस्कृतिसँग सम्बन्धित सङ्ग्राहलय समेत रहने गरी सञ्चालनमा ल्याइनेछ‚’ उनले भने ।

दमक बजार, उर्लाबारी, मधुमल्ला लगायतका बजारहरूबाट सहज आवतजावत हुने गरी सडक सञ्जाल विकास गरिने उनले बताए ।

जनतामा असन्तुष्टि छ भनेर भड्काउन खोजिएको छ

प्रधानमन्त्री ओलीले जनतामा जति असन्तुष्टि छ, त्योभन्दा बढी असन्तुष्टि छ भनेर जनता भड्काउने काम भइरहेको जवाफको क्रममा बताए । जति नकारात्मक बोल्यो, त्यति प्रचलित भइन्छ भन्नेले जनतामा असन्तुष्टि छ भनेर देखाउन खोजेको उनको जिकिर थियो ।

‘जनतामा जति असन्तुष्टि छन्, त्योभन्दा बढी बनाउन खोजिएको छ, भड्काउन खोजिएको छ । अरू प्रकारका मनसाय होलान्‚’ उनले भने‚ ‘दलहरूबिच अस्वस्थ्य प्रतिस्पर्धा अहिलेको प्रणाली मन नपाराउनेको चलखेल हुन सक्छ । अथवा देशप्रति जिम्मेवार हुन चाहेर पनि नजान्ने र नकारात्मक भाषा बोल्यो त्यति प्रचलित हुने र कुनै पनि प्रकारले जिम्मेवार लिन नखोज्ने जनतामा निराशा छ भन्ने फैलाए ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारजन्य गतिविधिमा शून्य सहनशीलता बनावटी देखावटी कुरा नभएको उल्लेख गरे । उनले भ्रष्टाचारको विषय क्षणिक प्रचारवाजीको विषय अहिलेको सरकारले नबनाएको पनि स्पष्ट पारे ।

सांसद नारायण खड्काले सोधेको प्रश्नको जवाफ दिँदै उनले संविधान संशोधन प्रतिगमन हो भन्नेलाई जवाफ दिएको भन्दै बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली ल्याउन भूमिका खेलेर अहिलेको लोकतन्त्र आएको बताए ।

‘यी दलहरूले नेपालको राजनीतिलाई अर्थनीति, समाजलाई अघि बढाउने सन्दर्भमा नेपाललाई कानुनी राज्यमा अघि बढाउन भूमिका खेलेर आएका छन् र यसमा सन्देहको कुनै गुन्जाइस छैन । कुनै हिसाबले प्रतिगमनमा जाला भन्ने यो भ्रममात्र हो । भ्रम फिजाउने प्रयासमात्र हो । यसको कुनै अर्थ छैन‚’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप