मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पीडब्लयूसीको चिनियाँ व्यवसाय ६ महिनाको प्रतिबन्धमा

बिहीबार, ०६ भदौ २०८१, १९ : ०२
बिहीबार, ०६ भदौ २०८१

बेइजिङ । बहुराष्ट्रिय बेलायती पेसागत सेवा प्रदायक कम्पनी प्राइसवाटरहाउसकुपर्सको चिनियाँ लेखा परीक्षण एकाइ ६ महिनाको प्रतिबन्धमा पर्ने भएको छ  । 

चीनको रियल इस्टेट कम्पनी एभरग्रान्डेको लेखापरीक्षणको मामिलामा कम्पनीले सो सजाय पाउन सक्ने पाँच स्रोतलाई उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ । व्यावसायिक प्रतिबन्ध पीडब्ल्यूसी चोङ चियान एलएलपीमाथि लाग्नेछ । यो चीनमा कम्पनीले दर्ता गराएर काम गरिरहेको लेखापरीक्षण संस्था हो ।

यस बाहेक पनि कम्पनीलाई ४० करोड युआन (५ करोड ६० लाख अमेरिकी डलर) बराबरको जरिवाना लाग्ने सम्भावना छ । विश्वको चार ठुला लेखापरीक्षण कम्पनीमा पर्ने कुनै पनि कम्पनीले चीनमा पाएको यो सबैभन्दा ठुलो सजाय हुनेछ । पीडब्ल्यूसीले पाउने सजायबारे अन्तिम फैसला भने भई नसकेको बताइएको छ । चीनको वित्त मन्त्रालयले यसमा काम गरिरहेको अर्को स्रोतको भनाइ छ । मार्चमा एभरग्रान्डेमाथि ७८ अर्ब डलरको ठगी गरेको आरोप लागेको थियो ।

त्यसयता नै एभरग्रान्डेको लेखापरीक्षणमा कम्पनीको भूमिकालाई लिएर पीडब्ल्यूसीलाई चिनियाँ नियामकले तारो बनाइरहेका थिए । सन् २०२३ को शुरुआतसम्म पीडब्ल्यूसीले १४ वर्ष एभरग्रान्डेको कारोबारको लेखापरीक्षण गरेको थियो । गएको वर्ष डेलोइटको बेइजिङस्थित शाखालाई चिनियाँ अधिकारीहरूले २१ करोड १९ लाख युआन जरिवाना तिराउँदै तीन महिनासम्म सो शाखाको व्यवसाय सञ्चालनमा रोक लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप