आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

दोधारा चाँदनी एकीकृत जाँच चौकीको ईआईए वातावरण मन्त्रालयमा पेस

बिहीबार, ०६ भदौ २०८१, १८ : ११
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । प्रस्तावित दोधारा चाँदनीमा एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्क (ईआईए) वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ ले आयोजनाहरू निर्माण र सञ्चालन पूर्व वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

सोही व्यवस्था बमोजिम २०८० वैशाख १७ गते नै एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाह निर्माणको लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको थियो । 

जसअनुसार कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालीका अन्तर्गत वडा नं. १ मा पर्ने गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्रमध्ये ६३ हेक्टर जग्गामा आयोजना सञ्चालनको लागि प्रस्ताव गरिएको थियो । 

प्रस्तावित एकीकृत जाँच चौकीको निर्माण भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोग गर्नेगरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हस्ताक्षर गरेका थिए । भारत सरकारको सहयोगमा निर्माण हुने भएकोले भारत सरकारबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन अनुसार निर्माण गरिने हुँदा आयोजना सञ्चालनको लागि प्रस्तावित कूल ६३ हेक्टर जग्गामध्ये पहिलो चरणमा ४२.३६ हेक्टर क्षेत्रफल मात्र प्रयोग गरिने भएको छ । जसका कारण यसअघि नै स्वीकृति भइसकेको ईआईएमा पुनः अर्को ईआईए गर्नुपरेको हो । 

वन तथा वातावरण मन्त्रालयको स्वीकृति पश्चात् पूर्वस्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजनामा परिमार्जन गरी उक्त परिमार्जित वातावरणीय व्यवस्थापन योजनाको मस्यौदा प्रतिवेदन स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत २०८१ भदौ ५ गते वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले जानकारी दिए । 

परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृति भएसँगै मुलुकको सुदूरपश्चिम प्रदेशमा व्यापार सहजीकरणका लागि अत्याधुनिक सुविधा सम्पन्न व्यापार पूर्वाधारसहितको एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणको लागि ढोका खुलेको छ । यस आयोजना अन्तर्गत सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक,  पशुपन्छी/खाद्य प्रयोगशाला (क्वारेन्टाइन) प्रशासनिक भवन लगायतका संरचनाहरुको निर्माण हुने छ । यस आयोजना निर्माणको लागि करिब ५.७६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यस एकीकृत जाँच चौकी÷सुक्खा बन्दरगाहको निर्माण सम्पन्न भई सञ्चालनमा आए पश्चात् सुदूरपश्चिमको वृहत्तर पक्षको विकासमा कोशेढुंगा साबित हुने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप