बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
शिक्षा

त्रिभुवन विश्वविद्यालयलाई बारम्बार हल्लाइदिन्छ समाजशास्त्र विभागले

विभागीय प्रमुख नियुक्तिमा सधैँ विवाद
बिहीबार, ०६ भदौ २०८१, १७ : ४४
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पछिल्लो समय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रहेको समाजशास्त्र विभागको विभागीय प्रमुखको नियुक्तिलाई लिएर चर्चामा छ ।

समाजशास्त्र विभागको विभागीय प्रमुखको विवाद यो पहिलो पटक भएको होइन । यसअघि पनि पटकपटक यसबारे विवाद हुँदै आएको हो ।

तत्कालीन उपकुलपति तीर्थ खनियाले आफ्नो कार्यकाल सकिने बेला टीकाराम गौतमलाई समाजशास्त्र विभागको तीन महिने नियुक्ति दिएका थिए । जबकि वरिष्ठताका आधारमा सुरेन्द्र मिश्र, युवराज लुईंटेल लगायतका प्राध्यापकहरू हुनुपर्ने थियो । तर, नेपाली कांग्रेस निकट प्राध्यापक गौतमलाई कांग्रेस निकटकै खनियाँले तीन महिनाका लागि विभागीय प्रमुखको जिम्मेवारी दिएर गएको एक प्राध्यापकले बताए ।

‘गलत त्यही बेला भएको हो । योग्यता र वरिष्ठताका आधारमा नियुक्ति दिनुका साटो खल्तीबाट टीकाराम गौतमलाई नियुक्ति दिएर गए । त्यसपछि त्यो लफडा अहिलेसम्म चलिरहेको छ,’ ती प्राध्यापकले भने ।

तीन महिने नियुक्ति पाएका गौतमले लामो समय विभागीय प्रमुख भएर काम गरे । पछि प्राडा धर्मकान्त बाँस्कोटा उपकुलपति भएर आएपछि वरिष्ठताका आधारमा डाक्टर युवराज लुईंटेललाई चार वर्षे कार्यकालका लागि विभागीय प्रमुखमा नियुक्त गरेका थिए ।

लुईंटेल विभागीय प्रमुख भएर आएसँगै नेविसंघका हरि आचार्य, योगेन्द्र रावल लगायतकाले तालाबन्दी गरे । जबकि नेविसंघको केन्द्रीय कार्यालयले नै तालाबन्दी खोल्ने निर्देशन दिएको थियो । तर, केन्द्रकै निर्देशन पालना नगरी तालाबन्दी यथावत राखियो ।

लामो समयदेखि तालाबन्दी गरिएपछि नेविसंघ केन्द्रले हस्तक्षेप गर्दै त्रिविमा कुनै पनि कार्यसमिति क्रियाशील नरहेको प्रस्ट पारेको थियो । प्रहरीको रोहबरमा दुई महिनापछि ताला खोलिएको थियो ।

ताला खोलिएपछि तालाबन्दी गर्ने नेविसंघको समूहको निसानामा परे उप–प्राध्यापक प्रेम चलाउने । २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमै उनीमाथि आक्रमण भयो । उनीमाथि नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहितको टोलीले आक्रमण गरेको थियो ।

त्रिवि पदाधिकारीहरूले अहिले तिनै रावल लगायतको समूहबाट सुरक्षा थ्रेट बढेको दाबी गर्दै आएका छन् । उपकुलपति, रेक्टर, रजिष्ट्रार लगायतले सुरक्षा खतरा बढेको भन्दै सुरक्षा व्यवस्थाका लागि शिक्षामन्त्रीलाई पत्राचार गरेका छन् ।

लुईंटेलको कार्यकाल लामो समय तालाबन्दीमै बित्यो । गत साउन ३२ गते उनको चार वर्षे कार्यकाल सकियो । उनले कार्यकाल सकिनु अघि विभागीय प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरेका थिए । जसमा पहिलो वरीयतामा पासाङ शेर्पा, दोस्रोमा टीका गौतम र तेस्रोमा मनहरी ढकाल थिए ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायकी डीन प्राडा कुसुम शाक्यले भने दोस्रो वरीयतामा रहेका गौतमलाई सिफारिस गरेकी थिइन् । कांग्रेस निकट सह–प्राध्यापक गौतमलाई कांग्रेस निकटकै प्राध्यापक संघबाट डीन बनेकी शाक्यले प्रमुखका लागि सिफारिस गरेकी थिइन् ।

युवराज लुईंटेलको पालामा समेत विभागीय प्रमुखको विवाद बढेपछि त्रिविले वरिष्ठताका आधारमा अगाडि बढ्ने योजना अघि सारेको थियो ।

‘त्यतिबेला पनि विभागीय प्रमुखको नियुक्तिको विवाद भएको थियो । धेरै विवाद भएपछि सिनियारिटीलाई टेकेर अगाडि बढौँ भन्ने भएको हो,’ तत्कालीन डीन प्राडा शिवलाल भुसालले भने ।

सिनियारिटीलाई आधार मानेर विभागीय प्रमुख नियुक्ति गर्ने भनेर सबै विभागको प्रमुख त्यही आधारमा नियुक्ति गरिएको थियो । वरिष्ठतालाई हेर्दा कम्तीमा ६ महिनासम्म म्याद भएकोलाई राख्ने भन्ने थियो । र सिनियरलाई प्रमुख बनाउँदा सबैले मान्ने अपेक्षा गरिएको थियो । त्यही आधारमा कार्यविधि बनाएर प्रमुख नियुक्ति गरिँदै आएको थियो ।

हालका सिफारिसमा परेका गौतम र शेर्पा दुवै रिडर हुन् । नियुक्तिको आधारमा हेर्दा शेर्पाको नियुक्ति अगाडि देखिएको छ ।

कांग्रेस र एमालेबिचको लडाइँ

विभागको प्रमुखमा कसलाई ल्याउनेभन्दा पनि त्यहाँ दुई शक्तिशाली दलबिचको लडाइँजस्तो देखिएको छ ।

डीन शाक्यले पहिलो नम्बरमा सिफारिस गरेका गौतम कांग्रेस निकट प्राध्यापक हुन् । त्यस्तै शेर्पा भने एमाले निकट प्राध्यापक हुन् । शेर्पा केही महिना अगाडिमात्रै त्रिचन्द्र कलेजबाट विभागमा आएका थिए भने गौतम केही वर्ष अगाडि बाग्लुङ बहुमुखी क्याम्पसबाट केन्द्रीय विभागमा आएका थिए ।

नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियु र कांग्रेसको विद्यार्थी संगठन नेविसंघका नेताहरूको फरकफरक चाहना छ । दुवै पक्षले आ–आफ्ना निकटकालाई विभागीय प्रमुख बनाउन चाहेका हुन् ।

विशेषगरी नेविसंघका नेताहरूले गौतमलाई नै विभागीय प्रमुख बनाउनुपर्ने अडान राख्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप