आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

चिकित्सक सरुवाका लागि दबाब दिने काम नगरौँ : स्वास्थ्यमन्त्री पौडेल

बिहीबार, ०६ भदौ २०८१, १७ : २३
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक सरुवाका लागि दबाब नदिन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित तीनै तहका सरकारको बैठकमा मन्त्री पौडेलले आफ्नै मानिसबाट चिकित्सक सरुवाका लागि अनुरोध आउने गरेको बताउँदै सो कार्य नगर्न आग्रह गरे । ‘हामीले तोकिएको ठाउँमा खटाइएका चिकित्सकलाई ठाउँमै काम गर्न दिऔँ’ उनले भने, ‘यहाँहरूले सरुवाका लागि अनुरोध गर्नुहुन्न भन्ने मैले विश्वास लिएको छु ।’

आफू आएयता लोकसेवा आयोगबाट दरबन्दी तोकिएका सबै चिकित्सक आफ्नो ठाउँमा गएको र यो पहिलो रेकर्ड भएको समेत मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले स्वास्थ्य बीमाको रकम नपाइएको गुनासो सम्बोधन गर्न सरकारले क्रमिक रूपमा रकम निकासा गर्ने प्रक्रिया थालेको जानकारी दिँदै साढे ३ अर्ब निकासा भएको र बाँकी रकम पनि क्रमैसँग किस्तामा जाने बताए ।

बैठकमा बोल्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले सङ्घीयताको मर्मअनुरूप पहिलोपटक बैठक बसेको भन्दै यो कार्य ऐतिहासिक भएको बताए । जनशक्ति व्यवस्थापनको विषय चुनौतीपूर्ण भएको भन्दै उनले यसमा सङ्घसँग मिलेर काम गर्ने समेत प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले अनुभव आदानप्रदान गर्ने अवसर दिएकोमा मन्त्री पौडेललाई धन्यवाद दिँदै प्रदेश सरकारले गर्ने अस्पताल स्तरोन्नतिमा समेत सङ्घीय सरकारको साथ अपेक्षा गरेको बताए ।

लुम्बिनीका स्वास्थ्य मन्त्री खेम सारुले सहकार्यको सुरुवात राम्रो भएको भन्दै आफूहरूले स्थानीय तहको चिकित्सक व्यवस्थापन प्रभावकारी बनाउन साथ दिने बताए ।

बैठकमा कोशीबाहेक सबै प्रदेशका स्वास्थ्य मन्त्रालय हेर्ने मन्त्रीहरू, गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिहरूसँगै स्वास्थ्य सचिव तथा मन्त्रालयका विभाग र महाशाखाका प्रमुख सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप