बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
पोष्टमार्टम रिपोर्ट

भैँसीको प्रतिकारबाट कसरी मर्‍यो बाघ ?

बिहीबार, ०६ भदौ २०८१, १७ : ०६
बिहीबार, ०६ भदौ २०८१

मकवानपुर । बिहीबार बिहान ३ः१५ बजेको समयमा मकवानपुरको मनहरीमा भैँसीको प्रतिकारमा बाघ मरेको घटना प्रकाशमा आयो । गोठमा बाँधेको भैँसीले हानेर बाघको मृत्यु भएको विवरणसहितको समाचार प्रकाशमा आएसँगै धेरैले आश्चर्य मानिरहेका छन् ।

मनहरी गाउँपालिका–६, प्रतापुरस्थित बल बहादुर राईको गोठमा भैँसीलाई आक्रमण गर्न प्रवेश गरेको ८ वर्ष उमेरको बाघ गोठमै मृत फेला परेको हो । भैँसीको प्रतिकारका क्रममा बाघको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

राईको गोठमा बाधेको भैँसीलाई बाघले आक्रमण गर्दा भैसीको घाँटीमा चोट लागेको छ । गोठमा बाँधेको भैँसीले चतुल सिकारी मानिने बाघलाई कसरी मार्‍यो होला भन्नेबारे सर्वत्र चासो बढिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघ शारीरिक रूपमा कमजोर र अशक्त भएका कारण भैँसीको प्रतिकार झेल्न नसकेको जनाएको छ ।

सो भैँसीको ५ दिन अगाडिमात्र पाडो मरेको थियो । पाडोसँगको विछोडका कारण भैँसीले लात्ता हान्ने, रिसाउने झैँ व्यवहार गर्दै आएको थियो । यसै बिच केही दिनदेखि उक्त क्षेत्रमा बाघ घुमिरहेको थियो । सोही क्रममा बाघ राईको गोठमा राति प्रवेश गरेको वडाध्यक्ष युवराज थपलियाले बताए ।

घटनाबारे जानकारी पाएलगत्तै आफू घटनास्थल पुगेर निकुञ्ज तथा प्रहरीलाई खबर गरेको वडाध्यक्ष थपलियाको भनाइ छ । प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट भैँसीले हान्दा बाघ मरेको हुन सक्ने निष्कर्ष निकालेको थियो ।

घटनास्थल चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने भएकाले बिहान ६ः१५ बजे चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा व्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मृत बाघ अनुसन्धानका लागि जिम्मा लिएको थियो ।

कसरी मर्‍यो बाघ ?

८ वर्ष उमेरको बाघ सिकार गर्न कमजोर हुने कुरै भएन । सक्रिय रूपमा सिकार गर्ने उमेरको बाघ भैँसीको प्रतिकारबाट मर्नु आफैँमा अपत्यारिलो कुरा हो ।

अधिकांश बाघहरु १५ वर्ष उमेर सम्म जङ्गलमा बस्छन् । त्यो समयमा बाघले आफ्नो अस्तित्व जङ्गलमै भेटाउने र खोज्ने काम गर्न सक्ने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) डिल बहादुर पुर्जा पुनले जानकारी दिए ।

उनका अनुसार सक्रिय रूपमा सिकार गरेर आफू बाँच्न सक्ने उमेर १५ वर्ष र सो पश्चात बाघहरू कि मर्छन्, अन्यथा बस्ती र गाउँ पस्ने गर्छन् । सिकार गर्न नसक्ने अवस्थाको बाघलाई समयमा नै रेस्क्यु गर्न सकेमा २÷४ वर्ष बचाउन सकिने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जले बाघको पोष्मार्टम गरेको छ । पोस्मार्टम गर्दा बाघको शरीरका विभिन्न भागमा घाउ भेटिएको वार्डेन पुनले बताए । पोष्टमार्टममा बाघले २ हप्तादेखि आहारा खान नपाएको देखिएको उनको भनाइ छ ।

२ हप्तादेखि भोकाएको बाघ आहारा खोज्ने क्रममा गाउँ पसेको पुनले बताए । खान नपाएको बाघ सिकारकै खोजीमा गोठमा पसेको उनले बताए । पोष्टमार्टमा उक्त बाघ जंगलका अन्य बाघसँग जुधेर घाइते भएको देखिएको वार्डेन उनको भनाइ छ ।

‘पोष्टमार्टम हेर्दा बाघ २ हप्तादेखि आहाराविहीन थियो । जङ्गलमा भौँतारिने क्रममा सो बाघ अन्य बाघसँग पनि जुधेको देखिन्छ । जङ्गलमा जुधेर घाइते भएको अवस्थामा बाघ गाउँ पसेको हो । बाघले बाँच्ने अन्तिम प्रयासका रूपमा भैँसीलाई आक्रमण गरेको हो,’ उनले भने ।

कमजोर अवस्थामा बाँच्ने प्रयासमा भैँसीलाई आक्रमण गर्दा बाघभन्दा भैँसीको प्रतिकार शत्तिशाली भएको पुनको भनाइ छ । अनुसन्धानका क्रममा भैँसी रिसाहा प्रवृत्तिको र पीडामा रहेको बुझिएको उनले बताए । भैँसीले आफ्नो सन्तान गुमाएको अवस्थामा प्रतिकार गर्दा तुलनात्मक रूपमा कमजोर बाघको मृत्यु भएको उनले बताए ।

उनका अनुसार पोष्टमार्टमा बाघको टाउकोमा बढी चोट देखिएको छ । बाघले भैँसीको गर्धनमा आक्रमण गर्दा टाउकोमा चोट लागेको उनले बताए ।

समयमै बाघलाई रेस्क्यु गर्न सकेको भए ३/४ वर्ष सो बाघ बाँच्न सक्ने पुनले बताए । बाघ गाउँ पसेको विषयमा निकुञ्जलाई कुनै जानकारी नहुँदा घटना भएको उनले बताए ।

बाघ विज्ञ रमेश थापाका अनुसार चितवनको घटना हेर्दा बाघ निकै कमजोर भएकाले मृत्यु भएको हो । धेरै दिन देखि भोकाएको र बाघ निकै दुब्लो रहेकाले भैसीसँग प्रतिस्पर्धा गर्न नसक्दा मरेको उनले बताए ।

‘दाँत र नङ्ग्रा बाघका प्रमुख हतियार हुन् । चितवनको घटनामा देखिएको बाघ अन्य बाघसँग जुध्दै विस्थापित भएर त्यहाँसम्म आएको हुन सक्छ । सामान्य अवस्थाभन्दा पनि दुब्लो अवस्थाको बाघले आहाराका लागि भैँसीलाई आक्रमण गर्‍यो । तर, सिकार गर्न सकेन । फलस्वरुप भैँसीको प्रतिकारमा बाघको मृत्यु भएको हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप