आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

रोहित शर्मा र हार्दिक पाण्ड्यालाई हटाउने तयारीमा मुम्बई इन्डियन्स

बिहीबार, ०६ भदौ २०८१, १४ : ३७
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि मेगा अक्सनको मिति घोषणा हुनुअघि सहभागी क्लबहरु आ–आफ्नो रणनीति बनाउन ब्यस्त छन् ।

आगामी आईपीएलको मेगा अक्सनका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले छिट्टै मिति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मेगा अक्सनअघि नै सहभागी क्लबहरूले आगामी सिजनका लागि रिटेन गर्ने (आगामी सिजन पनि आफूसँगै राख्ने) र रिलिज गर्ने (अन्य क्लबमा जान स्वतन्त्र छाडने) खेलाडीहरूको सूचि सार्वजनिक गर्नु पर्नेछ ।

योसँगै सन् २०२५ को आईपीएलका लागि विभिन्न क्लबले रिटेन र रिलिज गर्ने सम्भावित खेलाडी सम्बन्धि समाचार पनि बाहिरिन थालेका छन् । यसै क्रममा मुम्बई इन्डियन्सले आफ्न दुई प्रभावशाली भारतीय खेलाडीलाई रिलिज गर्ने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो सिजनको आईपीएलमा मुम्बई इन्डियन्समा रोहित शर्मा र हार्दिक पाण्ड्यालाई लिएर निकै विवाद भएको थियो । क्लब व्यवस्थापनले अघिल्लो सिजनको आईपीएल सुरु हुनुभन्दा ठिकअघि अप्रत्याशित रूपमा रोहितलाई हटाएर हार्दिकलाई कप्तान बनाउने निर्णय लिएको थियो ।

क्लबको उक्त निर्णयबाट मुम्बई इन्डियन्सका थुप्रै समर्थक आक्रोसित बनेका थिए । तर, मुम्बईको कप्तान भने हार्दिकले नै गरेका थिए । त्यो संस्करणमा रोहित केवल खेलाडीको भूमिकामा थिए । रोहित शर्मा आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तानमध्ये एक मानिन्छन् ।

अहिले आएर मुम्बई इन्डियन्सले सन् २०२५ को आईपीएलमा रोहित र हार्दिक दुबैलाई टोलीमा नराख्ने योजना बनाएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । यी दुवै खेलाडीलाई आगामी मेगा अक्सनअघि नै मुम्बईले रिलिज गर्ने भएको छ ।

पछिल्लो समय मुम्बई इन्डियन्ससँग रोहित शर्माको सम्बन्ध पनि सुमधुर नरहेको बताइएको छ । त्यसैले रोहित र हार्दिकसँगै टोलीका अन्य दुई प्रभावशाली खेलाडी दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोएट्जी र अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यान टिम डेभिडलाई पनि मुम्बईले रिलिज गर्ने भएको छ ।

चारजना प्रभावशाली खेलाडीलाई हटाएपछि मुम्बईले आगामी सिजनका लागि सूर्यकुमार यादवलाई रिटेन गर्दै कप्तान बनाउने सम्भावना बलियो रहेको समाचारमा दाबी गरिएको छ । मुम्बईले तीव्र गतिका बलर जसप्रित बुमराहलाई पनि रिनेट गर्नेछ । मुम्बई इन्डियन्सले इशान किशन र तिलक बर्मालाई पनि रिटेन गर्ने सम्भावना बढी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप