बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौँ : अध्यक्ष बस्नेत

बुधबार, ०५ भदौ २०८१, २१ : ००
बुधबार, ०५ भदौ २०८१

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगर्न चेतावनी दिएका छन् । त्यसरी दुरुपयोग गरेको पाइए कुनै पनि पत्रकारलाई कडा कारबाही गर्ने चेतावनी उनले दिए । उनले समाजलाई तर्साउन र धम्क्याउन नभई सिर्जनात्मक काम गर्नका लागि हतियारका रूपमा प्रेस परिचयपत्र उपलब्ध हुने बताए । 

'डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग गरिए के हुन्छ ? पछिल्ला दिन प्रेस पास दुरुपयोगमा छानबिन भइरहेको जानकारी दिँदै अध्यक्ष बस्नेतले भने, 'मिडियाको प्रेस पास पनि त्यस्तै हो । पत्रकारिताको हितमा समर्पित गर्न पत्रकारलाई प्रेस पास दिइएको हो ।'

उनले सामाजिक सञ्जालमा आएका सूचना र सञ्चार माध्यमका समाचारले आम मानिसमा अन्यौलता र समस्या सिर्जना गरेकाले मिडिया साक्षरता सबैका लागि जरुरी भएको बताए । 

‘पत्रकारलाई, सञ्चार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक छ । हामीले कुन कस्तो मिडिया हो, फरक छुट्याउन सक्नुपर्छ’ उनले भने । 

आम सूचना अहिले जसले जहाँबाट पनि दिन सक्ने भन्दै अध्यक्ष बस्नेतले पत्रकारले निर्माणका कुरा, सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्न सक्नुपर्ने बताए । 

काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाइ आवश्यक नियमन गर्दै आएको छ । युट्युबलाई वर्गीकरण गरी कारबाही समेत हुँदै आएको छ । 

मिडिया साक्षरताका लागि राज्यले लगानी बढाउनुपर्ने तर्फ सरकारको ध्यान पुग्नुपर्ने उनको भनाई थियो ।  

 प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, बार्गेनिङ गर्नेलगायतलाई काउन्सिलले कार्ड खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्नेजस्ता कारबाही काउन्सिलले गर्दै आएको छ । साइवर र अन्य अपराधजन्य अभियोगमा भने काउन्सिलले अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारबाही गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप