कमला पुल पुनःनिर्माणको माग गर्दै धर्ना बसेका युवाहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै
धनुषा । सिराहा–जोड्ने हुलाकी राजमार्गस्थित भासिएको कमला निर्माणका लागि सिराहाका १० जना युवा मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयका अगाडि तीन दिनदेखि आमरण अनसनमा छन् ।
तराई मधेसको लाइफ लाइन मानिएको हुलाकी सडक २०७८ असारमा भासिएको थियो । निर्माण सम्पन्न भएपछि सञ्चालनमा नआउँदै त्यो पुल भासिएपछि निर्माण कम्पनीले त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याइने बताएका थियो ।
तर पुल भासिएको तीन वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म त्यसको अवस्था जस्ताको तस्तै रहेको छ । सो पुल निर्माणका लागि मधेस सरकारले पनि पहल लिनुपर्ने माग राख्दै हुलाकी सडक अन्तर्गतको कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक एवं सिराहा नगरपालिकाका इन्जिनियर प्रवीणकुमार यादवको नेतृत्व आमवरण अनसन सुरु भएको हो ।
१० जना युवाले भदौ ४ गतेदेखि सुरु गरेको आमरण अनसनमा ऐक्यबद्धता बढ्दै गइरहेको छ ।
यसअघि साउन २७ गते यिनै युवाले पुल पुनः निर्माणको माग राख्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका थिए । मुख्यमन्त्री सिंहले आफूले पुनः निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए तर एक हप्ताभन्दा बढी भइसक्दा पनि मुख्यमन्त्री सिंहले कुनै पहल नगरेको भन्दै ती युवा अनसनमा बसेका छन् ।
सङ्घर्ष समितिका संरक्षक रामरिझन यादवले पुल निर्माण गर्ने काम सङ्घ सरकारको भए पनि समयमा निर्माण कार्य सम्पन्न गराउन प्रदेशका मुख्यमन्त्रीले पनि पहल गर्नुपर्ने बताए । ‘अहिलेका मुख्यमन्त्री सप्तरीका हुन्, मुख्यमन्त्रीको आउजाउ पनि त्यतैबाट भइरहेको हुन्छ यसका लागि सिंहले पनि पहल लिनुपर्छ’ उनले भने ।
आमरण अनसनमा बसेका भोगेन्द्र साहले भने, ‘यो पुल प्रदेश सरकारले पहल लिए मात्र बन्छ नत्र बन्दैन, केन्द्र सरकारले झन् लफडा लगाइ दिन्छ, त्यसैले यसको पहल प्रदेश सरकारले लिनुपर्छ र उसले नै यो निर्माण गर्नुपर्छ ।’
करिब १३ वर्षदेखि यो पुलको निर्माण कार्य जारी छ । २०६८ जेठ ३१ गते ४२ महिनाभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले सो पुल निर्माणको ठेक्का पाएका थिए । तर समयमा निर्माण गर्न नसकेपछि ती कम्पनीको ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो ।
लुम्बिनी बिल्डर्सले निर्माण कार्य अन्तिम चरणमा पुर्याएको थियो । २०७८ साउनमा उद्घाटन गर्ने तयारी चलिरहेको थियो । तर एक महिनाअघि नै १२ वटा स्पानमध्ये एक स्पान भासिएको थियो ।
‘कम्पनीले बनाइ दिने भन्यो । काम पनि सुरु गर्यो । कहिले माटो जाँच गर्छ, कहिले खनिरहेको हुन्छ त कहिले के गरिरहेका हुन्छन् तर निर्माणको प्रगति शून्य देखिन्छ’ अनसनकारी साहले बताए ।
कम्पनीले पुलको बीमा गराएको थियो । तर बीमा कम्पनीबाट त्यसको भुक्तानी नपाएका कारण पुल निर्माणमा ढिलाइ भइरहेको कम्पनीले जनाएको छ । सो पुल २४ करोड ४२ लाखमा निर्माण भएको हो ।
पुल पुनः निर्माणका लागि सिराहामा पटक पटक आन्दोलन भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले समेत पुल निर्माण समयमा हुन्छ भनेर प्रतिबद्धता जनाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुल निर्माणको माग गर्दै आन्दोलनमा बसेकालाई अनसन तोडाइ चाँडै पुल निर्माण हुने प्रतिबद्धता जनाएका थिए । र सम्बन्धित अधिकारीलाई निर्देशन पनि दिएका थिए ।
त्यसपछि प्रधानमन्त्री बनेका प्रचण्डले पनि त्यस्तै आश्वासन दिएका थिए । भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठले पनि निर्माणस्थलमा गएर त्यसको अनुगमन गरी चाँडै नै पुल निर्माण हुने आश्वासन दिएका थिए ।
त्यसपछि भौतिक मन्त्री बनेका रघुवीर महासेठले त पुल निर्माण हुने समय सीमा नै तोकेका थिए । उच्चस्तरीय प्रतिबद्धता आए पनि सो पल निर्माण नभएपछि युवाले मधेस सरकारको विरुद्धमै आन्दोलन सुरु गरेका हुन् ।
आमरण अनसन बसेका युवाहरूको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको छ । उनीहरूलाई डाक्टरले उपचार सुरु गरिसकेका छन् । सबैलाई स्लान पानी चढाइएको छ । सङ्घ तथा प्रदेश सरकारबाट आन्दोलनप्रति कुनै चासो देखाएको छैन । अनसन सुरु गरेकै दिन मधेस प्रदेशका भौतिक मन्त्री सरोज यादव अनसन स्थलमा पुगेका थिए । उनले त्यसबेला भनेका थिए, ‘कमला पुल निर्माणमा मधेस सरकार गम्भीर छ, यसको निर्माण कार्य सम्पन्न गराउन दुई तीन महिनाको समय दिनुहोस् ।’
मन्त्री यादवलाई लिखित रूपमा प्रतिबद्धता जनाउन भन्दा इन्कार गरेकाले आफूहरूले आमरण अनसनलाई निरन्तरता दिएको अनसनकारी साहले बताए ।
उनले भने, ‘हाम्रो माग पुरा नभएसम्म अनसन जारी रहनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समिति सभापति नपाए संसद् बहिष्कार गर्ने मोदीको चेतावनी
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत