बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
संस्थान

राष्ट्रिय नाचघरको बढ्यो हल भाडा, सुविधा घट्दो

हल भाडाबाटै वार्षिक डेढ करोडभन्दा बढी आम्दानी
बिहीबार, ०६ भदौ २०८१, १२ : ५०
बिहीबार, ०६ भदौ २०८१

काठमाडौंँ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले हल भाडा वृद्धि गरेको छ । संस्थानले आफ्ना दुई वटा हल (मेघा र मिनी­)मध्ये मेघा हलको भाडा बढाइएको हो ।

मेघा हलको बिहानी सिफ्टको भाडा यथावत भए पनि दोस्रो सिफ्ट, एकदिन (१२ घण्टा), विशेष समय (रोजेको ६ घण्टा), एकदिन र एकरात (२४ घण्टा)को प्याकेजमा भाडा बढाइएको हो ।

यसअघि प्रतिदिन बिहानी सिफ्ट ६० हजार, दोस्रो सिफ्ट ६० हजार, एकदिन (१२ घण्टा) एक लाख, विशेष समय (रोजेको ६ घण्टा) ८० हजार, एकदिन र एकरात (२४ घण्टाको प्याकेज १ लाख ३० हजार रुपैयाँ रहँदै आएको थियो । अहिले बिहानीलाई छोडेर प्रत्येक सिफ्टमा २० हजारको दरले भाडा बढाइएको छ ।

मिनी हलको भाडा बिहानी १५ हजार, दोस्रो सिफ्ट (दिउँसो) १५ हजार, विशेष समय २० हजार, एकदिन (१२ घण्टा) २५ हजार, एकदिन र एकरात (२४ घण्टा) ३० हजार रुपैयाँमा यथावत छ ।

संस्थानले समय सान्दर्भिक परिमार्जन भन्दै हल भाडा बढाएको हो । आर्थिक मन्दीको मारमा परेकै समयमा हल भाडा बढाएको भन्दै कार्यक्रम आयोजकहरू असन्तुष्ट देखिएका छन् ।

संस्थान भने नियमित प्रक्रिया अनुसार हल भाडा बढाइएको तर्क गर्छ । संस्थानको हल व्यवस्थापन विभाग प्रमुख पार्वती ज्ञवाली २०७३ सालपछि पहिलो पटक हल भाडा बढाइएको बताउँछिन् ।

‘संस्थानको नियममा प्रत्येक ५ वर्षमा हल भाडा बढाउने उल्लेख छ’, ज्ञवालीले भनिन्, ‘कोरोना लगायत विभिन्न कारणले यो पटक ७ वर्षमा भाडा बढाइएको हो ।’ उनी बजारमा महँगीको तुलनामा आफूहरूले थोरैमात्र भाडा बढाएको बताउँछिन् ।

‘महँगी बढेको बढ्यै छ । हल पनि चलाउनुपर्यो । कर्मचारी पनि पाल्नुपर्यो’, ज्ञवालीले भनिन्, ‘हल भाडा बढे पनि हल बुकिङमा कुनै असर परेको छैन ।’

उनले दसैँसम्म हल प्याक रहेको समेत बताइन् । काठमाडौँमा संस्थानको जस्तो सस्तो हल कतै नरहेको उनको दाबी छ ।

भाडा बढ्यो तर सुविधा बढेन

संस्थानले हल भाडा बढाउँदा सबैभन्दा बढी मारमा सौन्दर्य प्रतियोगिता, साङ्गीतिक कार्यक्रम लगायतका आयोजक परेका छन् । कार्यक्रम गरेर खर्च धान्न मुस्किल परेको समय संस्थानले थप पीडित बनाएको उनीहरूको भनाइ छ ।

म्युजिक खबरका सुमन बैरागी अब विकल्प खोज्नुपर्ने समय आएको बताउँछन् । उनले भने, ‘हामीले नाचघरमै गर्नुपर्ने कार्यक्रममात्र अब त्यहाँ गर्ने हो । अन्य कार्यक्रमका लागि सस्तो हल खोज्नुपर्छ ।’

suman

हल भाडा बढाएरमात्र नाचघरको आम्दानी नबढ्ने सुमनको धारणा छ । ‘भाडा बढाए अनुसारको सेवासुविधा पनि भए ठिक हो,’ उनले भने, ‘हामीले कार्यक्रम गर्दा साउन्ड सिस्टम लगायत सबै बाहिरबाट मगाउनुपर्छ ।’

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका राज फैजु पनि संस्थानले सेवा सुविधा घटाएर भाडा बढाएको भन्दै असन्तुष्ट देखिन्छन् ।

raj

‘संस्थान एसीलगायत सबै सुविधा छ भन्छ । कार्यक्रमको समय एसी नचलेर बाहिरबाट कुलर मगाउनुपर्छ’, फैजुले भने, ‘अहिलेको समय कार्यक्रम गर्न नै गाह्रो छ । भाडा बढाउँदा हामीलाई थप भार पर्यो ।’

नेपालमा उपयुक्त हल नभएकाले भाडा दर जति बढाए पनि बाध्य भएर तिर्नुपर्ने अवस्था रहेको फैजुले बताए । ‘हल भाडा लगायतको कारणले कतिपयले इभेन्ट गर्न नै छोडिसके’, उनले भने ।

हलबाट कति छ वार्षिक आम्दानी ?

संस्थानको मेघा र मिनी गरेर दुई हल भाडामा लाग्दै आएको छ । दुवै हलमध्ये मेघाबाट धेरै र मिनीबाट थोरै आम्दानी हुँदै आएको छ । हरेक वर्ष संस्थानले दुवै हलको भाडाबाट डेढ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।

गत आार्थिक वर्ष (२०८०-०८१)मा संस्थानले मेघा र मिनी हलको भाडाबाट एक करोड ५५ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको छ । जसमध्ये मेघा हलबाट एक करोड ४३ लाख ६३ हजार, मिनी हलबाट १२ लाख २ हजार आम्दानी भएको छ ।

अन्य आम्दानी के ?

संस्थानको आम्दानीका अन्य स्रोत पनि छन् । जसमा संस्थानले राष्ट्रिय बाणिज्य बैंकलाई भवन भाडामा दिएको छ । भवन भाडा बापत बैंकले संस्थानलाई वर्षको १५ लाख रुपैयाँ तिर्ने गरेको छ ।

1600074669

त्यस्तै, संस्थानको भवन दुरसञ्चार प्राधिकरणले पनि प्रयोग गर्दै आएको छ । यसबापत प्राधिकरणले संस्थालाई वार्षिक ३ करोड २६ लाख रुपैयाँ दिँदै आएको छ ।

त्यसो त नेपाल सरकारबाट समेत संस्थानले अनुदान पाउँदै आएको छ । नेपाल सरकारले वार्षिक रूपमा संस्थानलाई  एक करोड ६० लाख रुपैयाँ अनुदान प्रदान गर्दै आएको छ ।

खर्च कति ?

संस्थानको वार्षिक खर्च ८ करोड २४ लाख रुपैयाँ छ । संस्थानले कर्मचारी र कार्यक्रम गरेर दुई शीर्षकमा खर्च गर्दै आएको छ । गत आर्थिक वर्षमा दुवै शीर्षकको एकमुस्ट खर्च ८ करोड २४ लाख रुपैयाँ छ । तर कुन शीर्षकमा कति खर्च भयो भनेर छुट्ट्याउन बाँकी रहेको संस्थानको भनाइ छ ।

४४ कर्मचारी

संस्थानमा अहिले पियनदेखि महाप्रवन्धकसम्म विभिन्न पदका ४४ जना कर्मचारी छन् । जसमा स्थायी २३ जना र अस्थायी २१ जना छन् । सबैको सेवासुविधा फरकफरक छन् । सबै कर्मचारीलाई संस्थानले आन्तरिक स्रोतबाटै सेवासुविधा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप