शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
समीक्षा

‘बुलाकी’ पितृसत्ताको प्रतिविम्ब

बिहीबार, ०६ भदौ २०८१, १२ : ४०
बिहीबार, ०६ भदौ २०८१

गत वर्ष वैशाख ३ मा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बुलाकी’लाई निर्माण पक्षले दुई दिनमै हलबाट निकालेको थियो, प्राइम टाइममा हलहरू नपाएको आदि कारण देखाउँदै । उक्त सिनेमा हालै साउन ३२ देखि पुनः प्रदर्शनमा आएको छ । यसै सन्दर्भमा बुलाकी मन्थन गरौँ ।

बुलाकी फिल्ममा दृश्य कर्णालीको रहे पनि कथा नेपाली समाजकै हो, तर त्यो कुन समय र कुन परिवेशमा खिचियो ? त्यो कुराले सिनेमा कति सार्थक छ भन्ने अर्थ राख्छ । 

फिल्मको कथा अनुसार, बच्चा बोकिरहेको एक व्यक्तिलाई हिराले हेरिरहँदा पति चन्द्रेले भन्छ, ‘आफू ब्याउन सक्न्याँइन अर्का हेरिकन हुँदो छ ?’ 

‘मुइँले मात्तै नचाइकन नभया होला र ? मुँलाई पन आमा बन्याँ रहर छ,’ साँझ सुत्नेबेला जवाफमा हिराले भन्छिन् । 

चन्द्रे भारत जानुअघि ‘सन्तान जन्माइ राख्याइ’ भन्ने संवादले नारीलाई केवल बच्चा जन्माउने पात्रकै रूपमा मात्र बुझ्ने आम भाष्य स्थापित गर्छ ।

चन्द्रे भारत जानुअघि भन्छ, ‘म कन था छ, आइमाईकै बल हुन्छ । अरु म कन था नाइँ !’ ‘छोरो त मर्दै जन्मायाँ हुँ । ब्वारीमै खोट भया क्या लाग्दो हो,’ सासुले पनि थप्छिन् ।

फिल्म बुलाकीका उपरोक्त संवादले बच्चा नजन्मनुमा दोष महिलामै हुन्छ भन्ने नेपाली समाजको सर्वव्यापी रुढ चिन्तनलाई मलजल गरेको छ । चन्द्रे भारत जानुअघि ‘सन्तान जन्माइ राख्याइ’ भन्ने संवादले नारीलाई केवल बच्चा जन्माउने पात्रकै रूपमा मात्र बुझ्ने आम भाष्य स्थापित गर्छ । हिराबाट बच्चा जन्मेको भए, बच्चा नजन्मनुमा महिलामाथि बाँझोपनको प्रश्न गर्ने समाजमा बाँझोपनको समस्या पुरुषमा पनि हुन्छ भन्ने नयाँ सन्देश जान्थ्यो । 

रन्नेसँग प्रेममा परी दोस्रो विवाह गरेर गइसकेपछि पनि हिराबाट सन्तान नजन्मनुले दोष पुरुषमा पनि हुन्छ भन्ने कुरालाई ढाकछोप गर्न सिनेमामा पितृसत्ताको चिन्तनले चलाखीपूर्ण ढङ्गले प्रवेश पाएको छ । उक्त चिन्तनले कथाको ‘क्लाइमेक्स’लाई मारेर सिनेमाको खल्लो अन्त्य गरेको छ । आखिर सिनेमाले उजागर गरेका हरेक समस्यामाथि दर्शक ‘कन्क्लुजन’ चाहन्छन् । निःसन्तान हुने समस्या हिरामा थियो या चन्द्रेमा ? कथा अधुरै रहनुले परम्परागत पुरुषवादी दृष्टिकोणबाट लैङ्गिक विभेदको कथा बुन्ने लेखकीय चेतमाथि प्रश्न जीवितै रहन्छ । 

सिनेमा समाजको ऐना हो । समाज जस्तो छ, ऐनाले त्यस्तै देखाउने हो भन्ने तर्क पनि रहला, तर समाजमा जे छ, त्यही देखाउनु मात्र सिर्जनाको उपादेयता होइन । जो खुलस्त छ, फेरि त्यही देखाइरहनुको औचित्य के ? बरु त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने सोचनीय विषय हो । जस्तो कि समाजमा छुवाछुत र छाउपडीजस्ता विकृति व्याप्त छन् । आफ्ना सिर्जनामार्फत सच्चा सर्जकले यस्ता विकृति उत्पादन हुनुको कारण र निदानको खोजतिर लाग्नुपर्ने हो । प्रयोगको रूपमै सही, कलामार्फत समाजलाई प्रगतिशील बनाउनु आजको दिनमा लेखक वा सर्जकको जिम्मेवारी समेत हो । जड सामाजिक संरचनाकै निरन्तरताका लागि कि प्रगतिशीलताका सिर्जना भन्ने पनि प्रश्न छ । समाजमा समस्यै समस्या देख्ने र सिर्जनामार्फत उन्नत समाधानको खोजी गरी विचार निर्माण गर्ने लेखक वा सर्जक आम समाजभन्दा एक कदम अघि हुनुपर्छ कि पर्दैन ? 

निःसन्तान हुने समस्या हिरामा थियो या चन्द्रेमा ? कथा अधुरै रहनुले परम्परागत पुरुषवादी दृष्टिकोणबाट लैङ्गिक विभेदको कथा बुन्ने लेखकीय चेतमाथि प्रश्न जीवितै रहन्छ ।  

यस्तै ‘हिरा’ को हुन् ? घर कहाँ हो ? कसकी छोरी हुन् ? मुख्य पात्रकै वरिपरि घुमेको कथामा आधारित सिनेमाको सुरुवातमा मुख्य पात्रको पृष्ठभूमि नै टुहुरो बनाइएको छ, तर जारी काट्ने समयमा भूतपूर्व श्रीमानबाट एकाएक कुटुम्बको सम्बोधनले हिराका माइतीहरू को थिए भन्ने प्रश्न उठ्छ । माइती थिए भने सिनेमाभरि ती कहाँ गएका थिए ? उसो त कर्णालीमा पहिलो श्रीमान् छाडेर अन्तै पोइल गएकी श्रीमतीको जारी उसका माइतीले नभई दोस्रो श्रीमानले तिर्ने चलन छ । यस्तो अवस्थामा जारी खोज्दै माइती जाने कुरा पनि हुँदैन । बरु पहिलो श्रीमान् जारी खोज्न सोझै जारकहाँ जान्छ । अब यहाँ अर्को प्रश्न उठ्छ, एउटै वंशीय जारलाई कुटुम्बको सम्बोधन कसरी गरियो ? अर्को कुरा बुलाकीको मूलकथा जुन छ, विद्यालयमा हुने प्रेम र बुलाकी उपहार दिने खालका कथा, तिनलाई स्थापित गर्ने कुनै दृश्य छैनन् । हिराले चन्द्रेलाई सबै गरगहना फुकालेर दिँदा बुलाकी मात्रै किन दिइनन् भन्ने रहस्यमय कुरालाई दर्शकले कसरी बुझ्लान् ?

खस भाषा वा खस कुरा विकसित नेपाली भाषाको जरो हो । यसका पनि स्थानीय समुदायमा आफ्नै भाषिक नियम छन् । जब कुनै पनि भाषा लेख्य वा बोलीचालीको रूपमा प्रयोगमा आउँछ, त्यहाँ व्यक्त संवादको ठिकसँग अर्थ सम्प्रेषण गर्न व्याकरणका नियम प्रयोग हुन्छन् । अन्यथा वर्तमानमा भन्नुपर्ने कुरा भूतकाल बन्न पुग्छ । धेरैजसो संवादमा भाषिक त्रुटिले यस्तै बन्न पुगेको छ, बुलाकी । 

खस भाषामा ‘आइगया’ भन्दा नेपालीमा ‘आइसके’ भन्ने अर्थ लाग्छ, तर सिनेमामा यस शब्दले भविष्यमा आउनेतर्फ इङ्गित गरेको छ । त्यस्तै ‘नखान्याँ’, ‘नहुन्याँ’, ‘जान्याँ’, ‘गन्र्यां’, ‘हुन्याँ’ जस्ता शब्दको अत्यधिक प्रयोगले पछिल्लो समयमा बनेका पश्चिम नेपालकेन्द्रित ‘छक्कापन्जा’वाला सिरिजकै लहड बुलाकीले पछ्याएको देखिन्छ । यस्तो मनमौजी हिसाबले शब्दहरूको प्रयोग गरेर कुनै भाषाको सम्मान हुँदैन, बरु सम्बन्धित समुदायको अपमान हुन जान्छ । कतिपय कलाकारको अस्पष्ट लबजका कारणले नबुझिनु एउटा कुरा होला, तर शब्द नै तोडमोड गरिनुले आमसमाजमा त्यसले अर्कै अर्थको सञ्चार गर्छ, अझ भाषाप्रतिको फरक बुझाइ वा ठट्यौलीमय धारणा स्थापित हुन्छ । 

यस्तै बेग्लै लबज र अस्पष्ट खस उच्चारणका कारणले पनि हुन सक्छ, फिल्ममा उपासना नेम्वाङ लगायत केही कलाकारको बोली त्यति विश्वास गर्न योग्य छैन । उनीहरू बोल्दा कतिपय दर्शकले खस भाषा त कस्तो ‘इङ्लिस्’ जस्तो हुने रहेछ भनेको पनि सुनियो । 

bulaki_movie

प्रिमियरपश्चात् दर्शकदीर्घाबाट आएका भाषागत त्रुटिका प्रतिक्रियालाई रचनात्मक रूपले नलिई उल्टै ‘खस भाषालाई कर्णालीले होइन काठमाडौंले बुझ्ने फाइन भाषाको रूपमा उतारेका हौँ’ भन्नेजस्ता जवाफले देखादेख कमजोरीको प्रतिरक्षा गर्छ । अग्र्यानिक कथा खोज्दै कर्णाली पस्ने अनि कथालाई बजारकेन्द्रित मसलाका रूपमा बिकाउने कलाकारको भविष्यमाथि पनि प्रश्न उठ्छ । 

स्थानीय कलाकारसँगको सहकार्यमा पनि यावत् त्रुटिहरू देखिनुलाई लेखन र निर्देशनको मात्र नभई सिङ्गो निर्माण पक्षकै कमजोरी भन्न मिल्छ । ‘रेलको बाटो’जस्ता दर्जनौँ अब्बल म्युजिक भिडियो निर्देशन गरिसकेका लक्ष्मण सुनारको पहिलो फिचर फिल्म बुलाकीमा उनको निर्देशकीय पक्ष भने केही खस्केको देखिन्छ ।

सिनेमामा बेलाबखत माओवादीहरू देखिनुले यो कुन समयको कथा हो भन्ने दुविधामा परिन्छ । यदि द्वन्द्वको समय हो भने त्यसबेला जारी काट्ने चलन नै थिएन । त्यो व्यापक सामाजिक रूपान्तरणको बेला थियो, तर फिल्ममा माओवादीहरू कुनै पनि किसिमको जनचेतना निर्माणको भूमिगत राजनीतिक क्रियाकलाप गर्दैनन् । बरु कथामा उनीहरू आवश्यकता अनुरूप निर्देशकको निर्देशनमा जारीप्रथा कुसंस्कार हो भन्न मात्र झुल्किन्छन् । घटना क्रमको गलत प्रयोगले कथाको कालक्रम मिलेको छैन । जारी प्रथामा कुसंस्कार देख्ने लेखकको चेतनाले बरु सिनेमाको मूल कथालाई माओवादी द्वन्द्वसँग जोड्दै सामाजिक रूपान्तरणको गतिविधि देखाएर कथामा उक्त प्रथा निर्मूलीकरणको नयाँ आयाम थप्न सक्नुपथ्र्यो, अनि मात्र मूल कथासँगै आउने पटकथाको भूमिका सशक्त रहन्थ्यो ।

सिनेमामा प्रयोग भएको गीत र पाश्र्व ध्वनिले दर्शकमा कथाको निरन्तर सम्प्रेषणीय भूमिका खेल्छ । चलिरहेको मौलिक कथाको माहोललाई क्रमभङ्ग बनाइदिने वा पात्रलाई ‘नोस्टाल्जिक’ नबनाई बिचैमा आधुनिक गीत ‘यो खास्टो मायाको मिलेर ओढौँला’ भन्नेजस्ता आञ्चलिकतालाई मार्ने, मन र आँखा बिझाउने खालको कलाको विरोधाभास ‘फ्युजन’माथि दर्शक त्यति आकर्षक पनि हुँदैनन् । बरु केही मात्रामा मौलिक शब्द र लयको उपस्थितिले ‘नाच सुवा नाच’ भन्ने गीतले दर्शकलाई केही मनोरञ्जन पक्कै दिन्छ ।

कर्णालीको भौगोलिक रङ उजागर गर्न बुलाकीमा सिनेम्याटोग्राफी राम्रै छ । सिनेमामा कलाकारको भूमिकालाई हेर्दा सुरक्षा पन्त एक परिपक्व कलाकार हुन् । सामान्य भूमिकामा मात्र होइन, स्थानीय भाषाको गीत, शब्द र लयलाई मज्जैले सुरेल्न सक्ने उनको प्रतिभा प्रशंसायोग्य छ । त्यस्तै सरस्वती खत्री, विराज विष्ट, लक्ष्मण देवकोटा लगायत कलाकारको भूमिकामा भने केही सन्तुष्ट हुने ठाउँ छ । केही कलाकारहरू अस्पष्ट लबजका कारण त्यति फिट भएका छैनन् । 

सामाजिक यथार्थवादी चलचित्रलाई समाजको ऐना भनिन्छ । यस्ता ऐनाले समग्र परिवेशको चित्रण गरी दर्शकदीर्घामा यथार्थततालाई सही ढङ्गले सम्प्रेषण गर्न सक्नुपर्छ । नसक्नु कलाको कमजोरी हो, जसको उदाहरण बुलाकी बन्न पुग्यो । सामान्यतया ग्रामीण परिवेशमा बनेका लोक जीवनशैलीमा आधारित सिनेमामा त्यहाँको भाषा र पोसाक मात्र होइन, समग्रतामा त्यहाँको सामाजिक रीतिथिति र संस्कृति उतार्नुपर्छ । अन्यथा त्यहाँको आञ्चलिकता मर्छ । 

उसो त कला र साहित्यले कुनै पनि समाजको बहुसंख्यक विचार, भावना, परिस्थिति र यथार्थको प्रतिनिधित्व गरेर त्यसलाई आगामी पिँढीमा सही ढङ्गले हस्तान्तरण गर्नुपर्छ । अन्यथा समाजमा हुँदै नभएको कुरालाई मलजल गर्ने कलाको प्रयोजनले अपवादलाई स्थापित गर्छ । त्यसैलाई आधार मानेर सिर्जना गर्दा निश्चित समाजको मौलिक संस्कृति, ज्ञान र सीपको जर्गेना हुँदैन । उत्तम साहित्य वा सिनेकलाले समाजको आन्तरिक र बाह्य सौन्दर्यलाई उजागर गरी जसरी नयाँ चेतनाको विस्तार गर्छ, उत्तिकै रूपमा कलाको गलत प्रयोगबाट त्यसले उक्त समाजलाई हेर्ने गलत भाष्य स्थापित गर्ने खतरा रहन्छ । तसर्थ आजका नयाँ चलचित्रकर्मीले समाजभित्रका ज्ञान, परम्परा, सीप र पहिचानलाई कलामार्फत कसरी पस्किने भन्ने उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ र नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’जस्ता फिल्मबाटै सिकून् ।

भाषागत त्रुटि, कमजोर पटकथा र फितलो कथावस्तु आदिले बुलाकी मौलिक चलचित्र होइन, बरु पुरानै नेपाली कथानक चलचित्रहरूको नयाँ संस्करण बन्न पुगेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डिकर्ण मल्ल
डिकर्ण मल्ल
लेखकबाट थप