माओवादी केन्द्रको छायामा समाजवादी मोर्चा, दस्ताबेजले पाएन पूर्णता
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकका कारण समाजवादी मोर्चाको बैठक प्रभावित भएको छ । केही नेताहरूले माओवादी केन्द्रको कारण मोर्चा छायामा परिरहेको आन्तरिक छलफलमा बताउन थालिसकेका छन् ।
मोर्चामा आबद्ध सबैभन्दा ठुलो दल समेत रहेको माओवादीको लगातार पदाधिकारी, स्थायी समिति र प्रदेशस्तरीय परामर्श समितिको बैठक बसिरहेकाले मोर्चा छायामा परेको हो ।
चारदलीय मोर्चाको सचिवालय सदस्यमा माओवादीका महासचिव देव गुरुङ रहेका छन् । उनी पार्टीको हरेक बैठकमा सहभागी हुनुपर्ने भएकाले सचिवालयको बैठक समेत नियमित बस्न सकेको छैन । साउन १ गते बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न १५ दिनको समय दिएको थियो । तर बिहीबारसम्म दस्ताबेजले पूर्णता पाउन सकेको छैन ।
दस्ताबेजलाई पूर्णता दिन सचिवालयका सदस्य सचिव खड्कबहादुर विश्वकर्माले भदौ २ गते बैठक बोलाएका थिए । उनी आफै बिरामी भएपछि अन्तिम समयमा बैठक स्थगित भएको थियो ।
भदौ ३ गते बसेको बैठकमा सचिवालय सदस्यद्वय प्रमेश हमाल र गंगानारायण श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए । बुधबार बिहान बोलाइएको बैठकमा गुरुङ सहभागी हुन नसक्ने भएपछि स्थगित भएको श्रेष्ठले जानकारी दिए । ‘बैठक नियमित बस्न नसक्दा राजनीतिक दस्ताबेजले पूर्णता पाउन सकेको छैन । माओवादी केन्द्रको आन्तरिक बैठक लगातार बसिराखेकाले देवजीले पूर्ण समय दिन पाउनुभएको छैन । सायद केही दिनमा पूर्णता पाउला’, श्रेष्ठले भने ।
यता सदस्य सचिव विश्वकर्माले दस्ताबेजमाथि छलफल जारी नै रहेकाले पूर्णता पाउन नसकेको बताए । बिहीबार बिहान भने छोटो समय बसेको बैठकमा विश्वकर्मा र गुरुङले धारणा राखेका थिए । माओवादीको प्रदेशस्तरीय बैठक भएका कारण अर्को बैठक भदौ १२ गते बोलाइएको विश्वकर्माले जानकारी दिए ।
‘राजनीतिक दस्ताबेजमा मोर्चाको विगतको समीक्षा, वर्तमान परिस्थिति र भावी योजना समेटिएको छ । बैठक नियमित बस्न नसक्दा दस्ताबेजले पूर्णता पाउन सकेको छैन । सायद अर्को बैठकमा पूर्णता पाउला’, विश्वकर्माले भने ।
माओवादीका महासचिव गुरुङले समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूर्णता दिन आवश्यकता अनुसार बैठक बस्ने जिकिर गरेका छन् ।
सचिवालयले दस्ताबेजलाई पूर्णता दिन नसक्दा मोर्चाको बैठक समेत बस्न सकेको छैन । प्रदेशस्तरीय बैठक सम्पन्न भए लगत्तै माओवादीको केन्द्रीय समिति बैठक बस्ने भएकाले मोर्चाको गतिविधि थप प्रभावित हुने देखिन्छ ।
त्यसपछि दसैँ, तिहार र छठ जस्ता ठुला चाडपर्व रहेकाले मोर्चाको कार्यक्रम थप प्रभावित हुने नेताहरूको भनाइ छ । तर विश्वकर्माले आवश्यकता अनुसार मोर्चाले आफ्ना ठोस कार्यक्रम बनाउने र सोही बमोजिम समाजवादी क्रान्तिको आधार तय गर्न जनपरिचालन हुने उनले बताए ।
संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम समाजवादी कार्यक्रम कार्यान्वयन गर्न गत असारको ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरेका थिए । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई सत्ताको भर्याङ बनाएको आरोप लागेको छ ।
सत्ता स्वार्थ र शक्ति सङ्घर्षका कारण बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी अट्न सकेन । सत्ताकै कारण जसपा नेपाल विभाजित हुँदा मोर्चाबाट बाहिरिइसकेको छ ।
प्रचण्ड नेतृत्वको समेत सत्ता ढलेपछि सक्रिय रहेको मोर्चामा नेपाल समाजवादी पार्टीबाट चोइटिएको महिन्द्र राय समूह सहभागी भएको छ । अहिले मोर्चाका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : माधवसँग नलतारिने पक्षमा वामदेव, रविविरुद्ध मुद्दा दायर गर्न अर्को प्रतिवेदन तयार
-
स्रोत नखुलेको १५ लाख ७० हजारसहित युवक पक्राउ
-
बुटवल–गोरुसिंगे सडक समयमै निर्माण सम्पन्न गर्न पूर्वगृहमन्त्री खाणको आग्रह
-
एलिना चौहानको ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक
-
गाजामा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत
-
भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु