शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

हुम्ला जीप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

बिहीबार, ०६ भदौ २०८१, १२ : १५
बिहीबार, ०६ भदौ २०८१

काँक्रेविहार । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।  मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।

बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो । उक्त जीप धनी मल्ल आफैँ रहेका थिए । मल्लका दाई नाता पर्ने रोशन शाहीले भने, “रमेशले जीप किनेको चार÷पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।” 

दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ ।

प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप