शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

यो वर्षको गाईजात्रालाई नजिकबाट नियालेँ

बिहीबार, ०६ भदौ २०८१, १० : ४३
बिहीबार, ०६ भदौ २०८१

नेवाः समुदायमा परिवारभित्र कसैको निधन भएको छ भने घरबाट गाईजात्रा निकाल्ने चलन छ । सोहीअनुरूप यो वर्षमा हाम्रै घरबाट पनि गाईजात्रा निकालियो । कारण थियो, अघिल्लो वर्ष मेरो अजाको निधन भएको थियो ।

इतिहासकारका अनुसार, १५१२ सालमा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको बिफरको महामारीमा परी मृत्यु भएपछि शोकाकुल रानीलाई ‘हाम्रो मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन्’ भनी सान्त्वना दिलाउनका लागि जात्राको सुरुवात गरिएको थियो ।

समयसापेक्ष यस गाईजात्राको प्रकृति पनि बदलिएको जस्तो लाग्छ । हिजोआज व्यंग्य र प्रहसन प्रस्तुत गर्दै यो जात्रा मनाउँदै आएका छन् । त्यसैले गाईजात्रालाई आँसु र हाँसोको प्रतीकका रूपमा लिइन्छ ।

भाद्रकृष्ण प्रतिपदा वा जनैपूर्णिमाको भोलिपल्टदेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई सांस्कृतिक पर्वका रूपमा नेवार समुदायले मनाउँदै आएको छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गर्ने, लाखे नाच देखाउने, झाँकी निकाल्ने, तायाःमचा बनाएर टोलटोल घुमाउने गरिन्छ । किनकि यी जात्रा हाम्रो मृत्युसंस्कारसँग जोडिएका रहेछन् ।

हाम्रोतिर तायाःमचा निकाल्दा घरमै छोरी वा बुहारीले पूजा गरेपछि मात्र निकाल्ने र विसर्जन गर्दा पनि छोरी वा बुहारीले पूजा गरेर समापन गर्ने चलन छ, या कसैले लक्ष्मीनारायण मन्दिरमै गएर पनि उक्त कार्य गर्ने परम्परा छ । सोही दिन प्रसाद बनाएर आफन्त छरछिमेकीलाई प्रसाद खुवाइएको थियो ।

विशेषतः यो तायाःमचा बनाउँदा डोको अनिवार्य नै रहेछ, जसलाई बनाउन आफन्तले सहयोग गर्नुभयो । हरियो बाँसलाई ठाडो पारेर आयतकारमा बाँधी कपडाले बेरेर तायाःमचा बनाइने रहेछ । तायाःमचामा पुरुष बितेको भए पुरुषको लुगा र महिला बितेको भए महिलाको लुगा झुन्ड्याएर राख्ने चलन रहेछ । यस्तै बच्चा बितेको भए डोकोमा च्याङ्ग्राको सिङ राखेर बनाउने चलन रहेछ ।

यो संस्कारलाई मैले पहिले–पहिले टाढाबाट हेरेको थिएँ, यसपालि नजिकबाट नियाल्न पाएँ । 

तायाःमचाको शिरमा गाईको चित्र र मृतकको तस्बिर राखी चौँरीगाईको रौँ लगाउने हुँदा टाढाबाटै पहिचान गर्न सकिने रहेछ । यसलाई डोकोमा अड्याएर मृतकका आफन्तले काँधमा बोकेर डुलाउने काम गरियो । मैले पनि यसमा साथ दिएँ । तायाःमचा देखाएपछि मृतकको आत्माले शान्ति पाउने भन्ने कथन रहेको छ ।

अचम्म त के लाग्छ भने हाम्रो समुदायले जन्म पूर्वदेखि मृत्युसम्मका संस्कार गर्ने गर्छन् । बिस्तारै लोप हँुदै गइरहेका यी जात्राहरू लगायत संस्कृतिको संरक्षणमा हाम्रो पुस्ता लाग्नु जरुरी छ ।
(नमुना आवासीय माध्यमिक विद्यालय, पर्वत कुस्मा)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्लोक सिंह श्रेष्ठ
श्लोक सिंह श्रेष्ठ
लेखकबाट थप