बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

अर्थतन्त्र संकटमै रहेको संकेत, ठुला कम्पनीको आम्दानी घट्यो

बिहीबार, ०६ भदौ २०८१, ०८ : ४३
बिहीबार, ०६ भदौ २०८१

काठमाडाैँ । नेपालमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्ष २०८०-८१ मा ११ अर्ब २१ करोड आम्दानी गरेको गर्यो । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा बोटलर्स नेपालले १२ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको मतलब बोटलर्स नेपालको आम्दानी अघिल्लो आवको तुलनामा ११ प्रतिशतले घट्यो । 

नेपालको ठुलो मध्येको अर्को एक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडको आम्दानी गत आवमा झन्डै २७ प्रतिशतले घटेको छ । आव २०७९-८० मा ५ अर्ब ६५ करोड आम्दानी गरेको कम्पनीले गत आवमा ४ अर्ब १२ करोड आम्दानी गर्‍यो । 

कोकाकोलाकै अर्को कम्पनी बोटलर्स नेपाल तराईको आम्दानी पनि गत आवमा ६ प्रतिशतले गिरावट आयो । आव २०७९-८० मा ९ अर्ब ३२ करोड आम्दानी गरेको कम्पनीले गएको आर्थिक वर्षमा ८ अर्ब ७५ करोड आम्दानी गर्यो । 

युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०-८१ मा ८ अर्ब २३ करोड आम्दानी गरेको छ । जबकि अघिल्लो आव २०७९-८० मा ८ अर्ब ४८ करोड आम्दानी गरेको थियो । यो भनेको करिब ३ प्रतिशत गिरावट हो । 

यीसँगै ठुला सिमेन्ट कम्पनीहरूको आम्दानी पनि गत वर्ष घटेको छ । घोराही सिमेन्टको आम्दानी अघिल्लो आवको तुलनामा ३ प्रतिशतले गिरावट आएको छ । सोनापुर मिनिरल्सको ५.२० र शिवम् सिमेन्टको आम्दानी ०.६० प्रतिशतले घटेको छ । 

आम्दानीमा आएको गिरावटले यी कम्पनीहरूको खुद नाफामा पनि प्रभाव पारेको छ । गत वर्ष बोटलर्स नेपाल बालाजुको खुद नाफा ५९ प्रतिशतले घटेको छ । आव २०७९-८० मा ९७ करोड ८१ लाख खुद नाफा गरेको बोटलर्स बालाजुको गत आवमा ३९ करोड ५८ लाख रुपैयाँ छ ।

गत आवमा हिमालयन डिस्टिलरीको खुद नाफा ४६ प्रतिशतले घटेको छ । आव २०७९-८० मा ६६ करोड खुद नाफा गरेको हिमालयन डिस्टिलरीले गत आवमा ३५ करोड ३० लाख कमाएको छ । 

नेपालको ठुलो मध्येको एक सर्वोत्तम सिमेन्टको खुद नाफा पनि १८ प्रतिशतले झरेको छ । सर्वोत्तमले आव २०७९-८० मा २१ करोड ३८ लाख खुद नाफा परेको थियो । गत आवमा १७ करोड ४२ लाख खुद नाफा गरेको छ । 

बैंकको पनि नाफा घट्यो 

गत आर्थिक वर्ष २०८०-८१ मा २० वटा वाणिज्य बैंकहरूको कुल नाफा  ६४ अर्ब रहेको छ । समग्रमा बैंकहरूको नाफा १३ प्रतिशतले बढेको भए पनि आधा बैंकको नाफामा गिरावट आएको छ । 

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा कर्जाको माग नहुने, निजी क्षेत्रले लगानी नबढाउनु, व्यवसायीको मनोबल बलियो नहुनु लगायतको प्रभाव बैंकको नाफामा परेको बताउँछन् ।

गत आवमा एनआइसी एसिया, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक लगायतको नाफा घटेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड, एनमएबी बैंक, सानिमा बैंक, सिद्धार्थ, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ ।

नाफा बढेका १० बैंकको वितरणयोग्य नाफा पनि निकै कम छ । अघिल्लो आवको तुलनामा बैंकहरूको वितरणयोग्य नाफा ५१ प्रतिशतले घटेको छ । 

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा कर्जाको माग नहुने, निजी क्षेत्रले लगानी नबढाउनु, व्यवसायीको मनोबल बलियो नहुनु लगायतको प्रभाव बैंकको नाफामा परेको बताउँछन् । ‘एकातिर कर्जाको माग अत्यन्तै न्यून, अर्को तिर कर्जाको साँवा, ब्याज उठ्न सकेको छैन,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा बैंकहरूको वितरणयोग्य नाफा कम हुने नै भयो ।’

किन घट्यो आम्दानी 

कोरोना महामारीयता अर्थतन्त्र लयमा हिँड्न सकेको छैन । बैंकमा प्रशस्त लगानीयोग्य रकम भए पनि बजारमा प्रवाह भएको छैन । पछिल्लो तीन आर्थिक वर्षदेखि उत्पादनमूलक उद्योगमा हुने लगानी कमजोर हुँदै गएको सरकारी तथ्यांकबाट देखिन्छ । यसको मतलब बैंकको कर्जा प्रवाह स्वतः घटेको छ । कर्जा असुली पनि समयमै भएको छैन । 

जानकारहरूका अनुसार उत्पादनमूलक उद्योग फस्ट्याउँदा सबै क्षेत्रमा पुँजी परिचालन हुन्छ । तर केन्द्रीय तथ्यांक कार्यालयकै विवरणले निर्माण क्षेत्र दुई वर्षदेखि ऋणात्मक रहेको देखाएको छ ।

उत्पादनमूलक उद्योगमा लगानी कम हुँदै जाँदा अर्थतन्त्रमा चौतर्फी असर देखिन थालेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल बताउँछन् । ‘अर्थतन्त्रमा देखिएको मन्दी र बजार माग घटेका कारण लगानीकर्तामा उत्साह छैन,’ उनी भन्छन्, ‘उद्योगहरू पूर्ण क्षमतामा चलेका छैनन् । यसले गर्दा उत्पादन लागत र आम्दानीमा गिरावट आएको छ ।’

माग घटेकै कारण स्वदेशी तथा विदेशी लगानीकर्ताको आत्मविश्वास खस्कँदै गएको अग्रवालको बुझाइ छ । 

जानकारहरूका अनुसार उत्पादनमूलक उद्योग फस्ट्याउँदा सबै क्षेत्रमा पुँजी परिचालन हुन्छ । तर केन्द्रीय तथ्यांक कार्यालयकै विवरणले निर्माण क्षेत्र दुई वर्षदेखि ऋणात्मक रहेको देखाएको छ । यसले गर्दा सिमेन्ट, छडलगायत उत्पादनको माग स्वाभाविक घटने नै भयो ।

यही प्रभाव अर्थतन्त्रमा चक्रीय रूपमा परेको अग्रवालको बुझाइ छ । ‘ठुला उद्योग नै पूर्ण क्षमतामा चल्न नसक्नु र नयाँ लगानी नआउनु भनेको अर्थतन्त्र संकटमै छ भन्ने संकेत हो,’ उनी भन्छन्, ‘यसले गर्दा उत्पादन लागत त पर्छ नै । समग्रमा यसको प्रभाव राजस्व सङ्कलन, रोजगारी र मुलुकको आर्थिक वृद्धिमै परेको छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मस्त केसी
मस्त केसी
लेखकबाट थप