त्रिवि सधैँ तदर्थवादमा : कार्यकाल सकिएकै व्यक्तिलाई पुनः निमित्तको जिम्मेवारी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट आएका उपकुलपतिसहितका पदाधिकारीहरूका कारण केही सकारात्मक नतिजा देखिए पनि कतिपय विषयमा परम्परागत शैलीलाई नै निरन्तरता दिइएको छ ।
विशेषगरी विभिन्न विभागका डीन तथा विभागीय प्रमुखहरूको नियुक्ति लगायतका विषयमा सुधार हुन सकेको छैन । विवादका कारण कतिपय विभागको विभागीय प्रमुख नियुक्त हुन सकेका छैनन् । समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुख खाली छ । सिफारिसमा परेका व्यक्तिबारे विवाद हुँदा विभागीय प्रमुख नियुक्त हुन सकेको छैन ।
कार्यकाल सकिएका डीनहरूलाई नै निमित्तको जिम्मेवारी दिइएको छ । मानविकी तथा सामाजिकशास्त्र संकाय, चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम), शिक्षाशास्त्र संकाय, इन्जिनियरिङ अध्ययन संस्थानका डीनहरूको कार्यकाल गत साउनमै सकिएको थियो ।
त्यस्तै कृषि तथा पशुविज्ञान सङ्कायका डीनको कार्यकाल समेत गत साउनमै सकिएको थियो । कृषिको निमित्त डीनको जिम्मेवारी प्राडा कनैया प्रसाद सिंहलाई दिइएको छ । ती बाहेक अन्यमा पुरानै डीनलाई कार्यकाल सकिएपछि पनि निमित्तको जिम्मेवारी दिइएको छ ।
समाजशास्त्र विभागमा लफडा
मानविकी तथा सामाजिकशास्त्र सङ्कायले समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गर्न सकेको छैन ।
समाजशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख युवराज लुईंटेलले आफ्नो कार्यकाल सकिनु अघि तीन जनाको नाम सिफारिस गरेका थिए, जसमा पहिलो वरीयतामा पासाङ शेर्पा, दोस्रोमा टीका गौतम र तेस्रोमा मनहरी ढकालको नाम थियो ।
डीन प्राडा कुसुम शाक्यले दोस्रो वरीयतामा रहेका गौतमलाई सिफारिस गरेकी थिइन् । कांग्रेस निकट सह–प्राध्यापक रहेका गौतमलाई कांग्रेस निकटकै प्राध्यापक संघबाट डीन बनेकी शाक्यले प्रमुखका लागि सिफारिस गरेकी हुन् ।
विभागीय प्रमुखमा विवाद यसअघि पनि देखिएको थियो । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पालामा टीका गौतमलाई विभागीय प्रमुख बनाइएको थियो । कार्यकाल नसकिँदै उनलाई हटाएर युवराज लुईंटेललाई विभागीय प्रमुख बनाइएको थियो ।
वरिष्ठताको आधारमा विभाग प्रमुख हुने कार्यविधि मिचेर डीन शाक्यले गौतमको नाम सिफारिस गरेको भन्दै प्राध्यापकहरूले विरोध जनाएका छन् । यसअघि त्रिविले बनाएको कार्यविधि मिचेर दोस्रो वरीयतामा रहेका गौतमलाई सिफारिस गर्न नहुने प्राध्यापकहरूको तर्क छ ।
डीन शाक्यको कार्यकाल १० साउनमा सकिएको थियो । उपकुलपति प्राडा केशरजंग बरालले अर्को व्यवस्था नभएसम्मका लागि शाक्यलाई नै निमित्त डीनको जिम्मेवारी दिएका थिए ।
विभागीय प्रमुखमा विवाद यसअघि पनि देखिएको थियो । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पालामा टीका गौतमलाई विभागीय प्रमुख बनाइएको थियो । कार्यकाल नसकिँदै उनलाई हटाएर युवराज लुईंटेललाई विभागीय प्रमुख बनाइएको थियो ।
अन्यमा समेत निमित्तको भरमा
कृषि र पशुविज्ञान अध्ययन संस्थान यतिबेला निमित्त डीनको भरमा सञ्चालन भइरहेको छ । डीन प्राडा भार्गव धितालको कार्यकाल सकिएसँगै प्राडा कनैया प्रसाद सिंहलाई निमित्तको जिम्मेवारी दिइएको छ ।
त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम) समेत गत असारदेखि निमित्तकै भरमा छन् । चार वर्षे कार्यकाल सकिएपछि गत असार ३ गतेदेखि नै डीन प्राडा दिव्या सिंह शाहले निमित्तको रूपमा काम गर्दै आएकी छन् ।
दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द गर्न भन्दै त्रिविले ‘त्रिभुवन विश्वविद्यालयका साबिक पदमा नियुक्तिका लागि आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ जारी गरेको छ ।उम्मेदवारहरूले विभिन्न कागजात पेस गर्ने समयमा राजनीतिक दलको सदस्यता नभएको स्वघोषणा गरेको प्रमाणसमेत पेस गर्नुपर्ने विनियममा उल्लेख छ ।
२०७७ असार ३ गते त्रिवि कार्यकारी परिषद्ले शाहलाई डीनमा नियुक्त गरेको थियो । उनको चार वर्षे कार्यकाल असारमै सकिएको थियो ।
आईओएमको डीन शाह नै दोहोरिने सम्भावना बढी छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली निकट रहेकी शाह डीनमा दोहोरिने सम्भावना बढेको हो ।
त्यस्तै शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा.चित्रबहादुर केसी, इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा.शशीधरराम जोशीको समेत कार्यकाल गत साउन १० मै सकिएको थियो ।
त्रिविका रिसर्च सेन्टरहरूका निर्देशकहरूको कार्यकाल समेत सकिँदैछ । सेडा, रिकास्ट लगायतका रिसर्च सेन्टरहरूका निर्देशकहरूको कार्यकाल समेत सकिन लागेको छ ।
सर्च कमिटी
कार्यकाल सकिन लागेका डीन तथा विभागीय प्रमुख र निर्देशकहरू छनोट तथा सिफारिसका लागि त्रिविले विनियममा गरिएको व्यवस्था अनुसार कमिटीहरू गठन गरेको जनाएको छ । सम्बन्धित डीनको कार्यालयले सेवा निवृत्त प्रोफेसरहरूको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द गर्न भन्दै त्रिविले ‘त्रिभुवन विश्वविद्यालयका साबिक पदमा नियुक्तिका लागि आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ जारी गरेको छ । ‘त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५०’ को नियम १३३ (२) र ३९७ ले दिएको अधिकार प्रयोग गरेर त्रिवि कार्यकारी परिषद्ले विनियम जारी गरेको हो ।
विनियम अनुसार विश्वविद्यालयका डीनहरू, सहायक डीनहरू, कार्यकारी निर्देशकहरू, निर्देशकहरू, उप–निर्देशकहरू, परीक्षा नियन्त्रक, सहपरीक्षा नियन्त्रक, प्रिन्सिपल, रेक्टर, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख लगायतका पदमा नियुक्तिका लागि कुनै पनि राजनीतिक दलको सदस्यता नभएको स्वघोषणा गरेपछि मात्रै उम्मेदवार बन्न पाउनेछन् ।
उम्मेदवारहरूले विभिन्न कागजात पेस गर्ने समयमा राजनीतिक दलको सदस्यता नभएको स्वघोषणा गरेको प्रमाणसमेत पेस गर्नुपर्ने विनियममा उल्लेख छ । तोकिएको मापदण्ड पूरा गरेका आवेदकहरूलाई छनोट समितिले सिफारिस गरेको आधारमा त्रिवि कार्यकारी परिषद्, रजिस्ट्रारको सिफारिसमा उपकुलपति लगायतले नियुक्ति गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै क्याम्पस प्रमुख तथा सहायक प्रमुखको हकमा संस्थान अन्तर्गतको क्याम्पसमा डीनको सिफारिस र अन्य क्याम्पसको हकमा शिक्षाध्यक्षको सिफारिसमा कार्यकारी परिषद्ले नियुक्ति गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता