जापानमा ‘१४ औँ नेपाल फेस्टिभल–२०२४’ आयोजना हुँदै
जापान । जापानमा ‘१४ औँ नेपाल फेस्टिभल–२०२४’ आयोजना हुने भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापान, जापानका लागि नेपाली दूतावास टोकियो जापानको आयोजना तथा विभिन्न सङ्घ संस्थाको सह आयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा १४ औ नेपाल फेस्टिभल–२०२४ गरिन लागेको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिभल मूल आयोजक समितिका संयोजक नवीन निउरेले जानकारी दिए ।
नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटकीय प्रवर्द्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस नामक बहु सांस्कृतिक केन्द्र निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले विगतदेखि गरिँदै आएको नेपाल फेस्टिभल यस वर्ष पनि गरिन लागेको अध्यक्ष निउरेको भनाइ छ।
‘नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिभल एक माध्यमको रूपमा हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ।’ अध्यक्ष निउरेले भने–यस वर्षको नेपाल फेस्टिभललाई मिनि नेपालका रूपमा पाउने गरी गरिने छ।
विगतका नेपाल फेस्टिभल भन्दा केही फरक र नयाँपन दिने गरी चौधौँ नेपाल फेस्टिभल–२०२४ को तयारीमा जुटेको चौधौँ नेपाल फेस्टिभल–२०२४ का उप संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछानेले बताए ।
पूर्व मेचीदेखि पश्चिम महाकालीमा रहेका कुमारी, भाक्पा, कौरा, तामाङ सेलो, थारु लगायतका हाम्रा सांस्कृतिक नाचहरू मञ्चबाट प्रस्तुत गर्ने नेपाली कला संस्कृति, भेसभुसा र रीतिरिवाजलाई जापानी नागरिकमा पुर्याउन र कला संस्कृतिलाई जापानमा परिचित गराउने गरी तयारी थालेका छौँ। उप संयोजक लामिछानेले भने( यो फेस्टिभलमा साँच्चिकै नेपालको हरेक मौलिक संस्कृतिलाई विश्व समक्ष पुर्याएर नेपालमा पर्यटन प्रवर्द्धन गर्न फलदायी हुने छ।
अन्तरक्रियात्मक बैठकमा प्रवासी नेपाली दोस्रो पुस्तालाई नेपालको मौलिकतासँग जोड्न आग्रह
नेपाल फेस्टिभललाई प्रभावकारी बनाउनका लागि हालै आयोजना गरिएको अन्तरक्रियात्मक बैठकमा सहभागीहरूले प्रवासमा रहेको नेपाली दोस्रो पुस्तालाई नेपालको मौलिकताको बारेमा जोडने कडीको रूपमा विकास गराउनु पर्नेमा जोड दिएका छन् ।
फेस्टिभलमा मौलिक झाँकीसहित जातीय पहिचानका झाकीलाई व्यवस्थित रूपमा प्रस्तुत गरिनुपर्ने, जापानी नागरिकको उपस्थितिसहित जापान सरकारका उच्च पदस्थ व्यक्तिको सहभागितामा जोड दिनुपर्ने, नेपाल सरकारको प्रत्यक्ष देखिने गरी सहभागिताका लागि समन्वय गरिनुपर्ने, नेपालको तराई पहाड, हिमालको विविधतालाई जोडन सक्नुपर्ने, नेपालमा पर्यटन प्रवर्द्धन र नेपालको मौलिक पहिचानलाई केन्द्रमा राखेर नेपाल हाउस निर्माणमा सहयोग पुग्ने गरी नेपाल फेष्टिभल गरिनुपर्नेमा जोड दिएका हुन्।
नेपाल फेष्टिवलको आयोजकको सन्दर्भमा सबैको अस्तित्वलाई स्वीकार गरी अपनत्व हुने गरी गरिनुपर्ने, स्टलको व्यवस्थापन गर्दा खानाको विविधता हुने गरी गरिनुपर्ने, अनुशासनलाई विशेष ख्याल गरिनुपर्ने लगायतका महत्त्वपूर्ण सुझावहरू प्राप्त भएको फेस्टिभल आयोजक समितिका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष निउरे बताए ।
१४ औ नेपाल फेस्टिभल सम्पन्न गर्नका लागि आफ्नो आफ्नो स्थानबाट सक्दो सहयोग पुर्याउनका लागि जापनबासी सम्पूर्ण सङ्घ सस्था सरोकारवाला निकाय व्यवसायी बुद्धिजीवी, पत्रकार कलाकार एनआरएनए अभियन्ता सम्पूर्ण सर्वसाधारण नेपालीहरूले सक्दो योगदान पुर्याउने प्रतिबद्धता अन्तरक्रियात्मक बैठकमा व्यक्त गरेका थिए।
फेस्टिभल सम्पन्न गर्न विभिन्न समिति गठन
चौधौँ नेपाल फेस्टिभल-२०२४ आन्तरिक तयारी कार्य भइरहेको बारेमा आवश्यक जानकारी दिँदै एनआरएनए जापानका महासचिव तथा चौधौँ नेपाल फेस्टिभल( २०२४ आयोजक समितिका सदस्य सचिव टिकाराम खरेलले फेस्टिभल व्यवस्थित रूपमा उद्देश्य अनुरूप सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएको बताए ।
एनआरएनए जापानको बैठक तथा सरोकारवाला निकायसँगको परामर्शमा संयोजक नवीन निउरे उप संयोजक सुवास लामिछाने र योशीहारु कोमियामा, सदस्य सचिव टिकाराम खरेल, कोष तथा लेखा व्यवस्थापन दीपक सुनार र प्रवक्ता खगराज गौतमलाई जिम्मेवारी प्रदान गरिएको सदस्य सचिव खरेलले जानकारी दिए।
सचिव खरेलका अनुसार स्टल व्यवस्थापन उप समिति संयोजक सचिन श्रेष्ठ, प्रचार प्रसार उप समिति संयोजक देवराज उप्रेती आर्थिक संयोजन उप समिति संयोजक कृष्ण शर्मा गैरे सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन उप समिति संयोजक सिद्धार्थ श्रेष्ठ, जापानी सरकारी, सङ्घ संस्था समन्वय उप समिति संयोजक कमल बास्तोला, सुरक्षा तथा स्वयम् सेवक परिचालन उप समिति संयोजक सागर कार्की कान्तो क्षेत्रीय समिति अतिथि सत्कार उप समिति संयोजक अन्जु भण्डारी, डकुमेन्द्री तथा फोटो प्रदर्शनी उप समिति संयोजक डा एलिजा केसी भण्डारी र प्रमुख संरक्षकमा शिवप्रसाद पौडेललाई चयन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।
निःशुल्क प्रवेश रहने फेस्टिभलमा विभिन्न कलाकारहरूको समेत प्रस्तुति रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता