बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
कृषि

धानमा जोडिएको जीडीपी, आगामी वर्ष उत्पादन बढ्ने प्रक्षेपण

बिहीबार, ०६ भदौ २०८१, ०३ : १५
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान सबैभन्दा बढी छ । जीडीपीमा कृषिले २४ प्रतिशत योगदान गरेको छ । कृषिमा चाहिँ सबैभन्दा बढी धान बालीको योगदान छ । सरकारी तथ्यांक अनुसार धानको मात्रै करिब १५ प्रतिशत योगदान छ । 

यो वर्ष गत वर्षको तुलनामा धान रोपाइँ वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार देशभर धान खेती हुने जमिनमध्ये ९८.४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । देशभर १३ लाख ७७ हजार २१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । 

गत वर्ष ९२.४ प्रतिशत रोपाइँ भएको थियो । १४ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्षको तुलनामा बढी प्रतिशत रोपाइँ भएकाले उत्पादन वृद्धि हुने अनुमान कृषि वैज्ञानिक रामबहादुर केसीको छ ।  ‘रोपाइँ प्रतिशत बढी छ, मौसम पनि अनुकूल छ,’ उनले भने, ‘समग्रमा धान उत्पादन बढ्नसक्ने अनुमान लगाउन सकिन्छ, उत्पादन बढ्यो भने कुल जीडीपीमा कृषिको योगदान पनि बढ्न सक्छ ।’ 

आर्थिक वर्ष २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । सो वर्ष ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष ३.७९ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । 

आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । सो वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । उक्त वर्ष ३.९८ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । 

चालु आर्थिक वर्ष २०८१/८२ मा १३ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यो वर्ष मनसुन सक्रिय, मलको पर्याप्तता र समयमा रोपाइँ सम्पन्न भएकाले धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । 

यो मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा भइरहेको छ । मनसुन अर्थात बर्खामा नेपालको प्रमुख खाद्यान्न बाली धान खेती हुन्छ । धान वैज्ञानिक डा.रामवरण यादवले औसतभन्दा बढी पानी पर्दा धान खेतीमा सहयोग पुगेको बताए ।

‘धानखेती गर्न २५ सय मिलिलिटर पानी आवश्यक पर्छ,’ उनले भने, ‘कतिपय क्षेत्रमा औसतमा करिब ९ सय मिलिलिटर पानी पर्छ, औसतभन्दा बढी १५ सय मिलिलिटर पानी पर्यो भने पनि धान बाली राम्रो हुन्छ ।’

‘राष्ट्रिय मनसुन फोरम, २०८१’ का अनुसार यो बर्खामा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५.४ प्रतिशतदेखि ५५.४ प्रतिशत छ ।  मन्त्रालयसँग १ लाख २३ हजार १६८ मेट्रिक टन रासायनिक मल मौज्दात छ । यसमध्ये युरिया ७१ हजार ४६१ मेट्रिक टन, डीएपी ४३ हजार ८६८ मेट्रिक टन र पोटास ७ हजार ८३८ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।

मन्त्रालयले रासायनिक मल धान गोड्ने बेला आवश्यक पर्ने र सोको लागि मल पर्याप्त रहेको जनाएको छ । 

धानको क्षेत्रफल, उत्पादन र उत्पादकत्व विवरण :
   Capture1

कहाँ कति भयो रोपाइँ ?
यो वर्ष मधेश प्रदेशमा सबैभन्दा कम ९७.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो प्रदेशमा सबैभन्दा बढी ३ लाख ८७ हजार १५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको मन्त्रालयको तथ्यांक छ । सोमध्ये हालसम्म ३ लाख ७५ हजार ६१४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । 

सुदूरपश्चिममा शतप्रतिशत, कर्णालीमा ९९.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै, कोशी प्रदेशमा ९९.१ प्रतिशत, बागमतीमा ९९.२ प्रतिशत, गण्डकीमा ९७.८ प्रतिशत र लुम्बिनी प्रदेशमा ९८.३ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ । 

जीडीपीमा धानको योगदान कति ?
सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको जीडीपीमा २४.१ प्रतिशत योगदान छ । कृषि क्षेत्रको योगदानमा धानको मात्रै १५ प्रतिशत योगदान रहेको मन्त्रालयले जनाएको छ । आव २०७९/८० को तुलनामा २०८०/०८१ मा बढेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल जीडीपीमा कृषिको २३.९२ प्रतिशत योगदान थियो । सोमध्ये १३.६ प्रतिशत धानको योगदान रहेको कृषि विज्ञ केसीको भनाइ छ । यो वर्ष पनि धानको उत्पादन बढ्ने सम्भावना देखिएसँगै जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्न सक्ने कृषि विज्ञहरुले बताएका छन् । 

कुल कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा धान र कृषिको योगदान विवरणः

   Capture2

धान बालीः घट्दो क्षेत्रफलमा बढ्दो उत्पादन 
नेपालमा धान खेतीको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ । कृषि मन्त्रालयका अनुसार पाँच वर्षमा धान बालीको क्षेत्रफल १.७३ प्रतिशतले घटेको छ । मानिसहरु गाउँभन्दा सहर केन्द्रित भएर बस्न थालेपछि खेतीपातीको क्षेत्रफल घटेको हो । तर आधुनिक कृषि, उन्नत बिउ, मल, सिचाइँको विस्तार लगायतले हरेक वर्ष उत्पादकत्व बढ्दो छ । यसकारण पछिल्लो पाँच वर्षमा धानको उत्पादन ५.०८ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै पाँच वर्षमा ६.९२ प्रतिशत उत्पादकत्व बढेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ५५ लाख ५० मेट्रिक टन उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ मेट्रिक टन उत्पादन भएको थियो । 

२०७८/७९ मा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलबाट ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलबाट ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै, गत आर्थिक वर्षमा १४ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पाँच आर्थिक वर्षमा धानको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व विवरणः

Capture4
स्रोतः कृषि तथा पशुपन्छी मन्त्रालय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप