सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखले गरे प्रमुख सचेतकहरूसँग छलफल

बुधबार, ०५ भदौ २०८१, २१ : ३८
बुधबार, ०५ भदौ २०८१

 काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । 

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । 

सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण गराएका छन् । त्यसैगरी समितिका बैठकहरू प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको भन्दै उनले प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रूपमा समिति बैठक बसेर विधेयकहरूमाथि छलफल गर्न ध्यानाकर्षण गराएको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनले भने, ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित, व्यवस्थित, प्रभावकारी होस् । त्यसप्रकारको प्रश्न माननीयज्यूहरुबाट उठान होस् भन्ने कुरामा आजको बैठकमा सभामुखबाट ध्यानाकर्षण भयो । समितिका बैठकहरू प्रभावकारी ढंगले  भइरहेको अवस्था छैन । विधेयकहरू विचाराधीन छ । समितिले विधेयकमाथि निर्णयार्थ प्रश्तुत गर्न नसक्दाखेरी कानुनको रूपमा जान सकेनन् । त्यसकारण संसद् भएको दिन बाहेकका दिनहरूमा सांसदहरूले अविलम्ब अनिवार्य समितिका बैठकहरू बस्ने । बैठकमा विधेयकमाथि छलफल चलाएर विधेयकहरू अगाडी बढाउने कुरामा प्रमुख सचेतकहरूले ख्याल गरिदिनुपर्‍यो भनेर उहाँले छलफलमा उठाउनुभएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई व्यवस्थित गर्ने सन्दर्भमा सभामुखसँगको छलफल केन्द्रित भएको बताए । उनले आगामी संसद् बैठकहरूलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा भने बिहीबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंग्याउने बताए । 

बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिहीबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले सदनको आगामी काम, कारबाहीको विषय टुंग्याउने बताए । उनले रास्वपाका सांसदहरूले दर्ता गराएका विभिन्न प्रस्तावहरू उपर आगामी बैठकहरूमा छलफल हुने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप