१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा हुनेमा आशङ्का
सुर्खेत । आगामी मङ्सिर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयअनुसार हुने सम्भावना कम देखिएको छ । कर्णाली सरकार र केन्द्रीय मन्त्रिहरुको अभिव्यक्ति अनुसार प्रतियोगिता समयमा हुनेमा आशङ्का पैदा गराएको छ ।
केही दिनअघि प्रतियोगिताबारे सरोकारवालाबिच छलफल गर्न राखिएको सार्वजनिक कार्यक्रममै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उक्त प्रतियोगिता केन्द्रले गर्ने भएकाले प्रदेशले अपनत्व नलिने र प्रदेश खेलकुद विकास परिषद्ले थालेको तयारीमाथि असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि उक्त प्रतियोगिता समयमा नहुने चर्चा भइरहेको छ ।
मंगलबार केन्द्रीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी खेलकुद प्रतियोगिताको पूर्व तयारी र पूर्वाधारको विषयमा बुझ्न सुर्खेत आए । अनुगमन पश्चात कर्णाली सरकारले खेलकुद क्षेत्रमा गरेको कामको प्रशंसा गरे ।
प्रदेश सरकारबाट निर्माणाधीन वीरेन्द्रनगरस्थित रङ्गशालाको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ भने असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको छ । प्रदेशमा भइरहेको यति ठुलो संरचनाको समयमा काम सम्पन्न भइरहेको भन्दै प्रशंसा भइरहेको छ ।
तर कर्णालीका मुख्यमन्त्री कँडेलले चौधरीसँग पनि पूर्वाधारको सुनिश्चितता गरेर पुनः प्रतियोगिताको मिति तोक्न आग्रह गरेका छन् । बुधबार भएको छलफलका क्रममा हतारमा मिति घोषणा गर्नुभन्दा पूर्वाधार लगायतका कामहरु समयमा सम्पन्न हुने सुनिश्चित भइसकेपछि मात्र मिति घोषणा गर्दा उपयुक्त हुने चौधरीलाई कँडेलले सुझाव दिए ।
कँडेलले भने, ‘अहिले मिति तोक्ने पछि यो भएन र ऊ भएन भन्ने तहमा गइयो भने हामी सबै असफल भइन्छ । हामी प्रतियोगिताका लागि आतुर छौँ तर, अहिले भइरहेका पूर्वाधारहरु समयमै सम्मन्न हुने सुनिश्चित पछि मात्र मिति तोकौ ।’
कँडेलले नै त्यसो भनेपछि चौधरीले पनि पूर्वाधारको सुनिश्चितता भएपछि मात्र प्रतियोगिताको मितिबारे छलफल गरिने जवाफ दिए । प्रतियोगितको कामको जिम्मेवारीको सन्र्दभमा मन्त्रालयले केही दिनभित्रै निर्देशिका बनाउने उनको भनाइ छ ।
साथै अहिलेसम्म भौतिक निर्माणमा कर्णाली प्रदेश सरकारलाई रकम उपलब्ध गराउन नसकेको बताउँदै आफुले त्यसतर्फ ध्यान दिने पनि बताए । प्रदेश खेलकुद विकास परिषद्का अनुसार खेलकुद परिषद्का तर्फबाट प्रतियोगिता तोकिएकै समयमा हुनेमा कुनै समस्या नहुने बताइरहेको छ ।
सोहीअनुसार परिषद्ले १०० दिने काउन्टडाउन समेत सुरु गरिसकेको थियो । तर मुख्यमन्त्री कँडेलले परिषद्ले गरेको उक्त कार्यप्रति समेत असहमति जनाए । त्यसका पछाडि खेलकुद प्रतियोगिताको जस लिने रणनीति रहेको चर्चा भइरहेको छ ।
अहिले परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याललाई तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ल्याएका थिए । सञ्ज्यालले नै प्रदेशमा यतिठुलो गौरवको रङ्गशाला निर्माण गरे भने उनी आएदेखि कर्णालीमा खेल गतिविधि पनि ह्वात्तै बढेका छन् । तर मुख्यमन्त्री उनीप्रति सकरात्मक नभएको चर्चा भइरहेको छ ।
कँडेलले यसअघि नेकपा एमाले–माओवादी गठबन्धन हुँदा पनि खेलकुद परिषद् रहेको सामाजिक विकास मन्त्रालय आफुसँग राख्न चाहेका थिए भने कांग्रेस–एमाले गठबन्धन बनेपछि पनि उक्त मन्त्रालय आफुसँग राख्न चाहेका थिए ।
तर कांग्रेस, माओवादी दुवैले मानेनन् । स्रोतकाअनुसार सञ्ज्यालको कार्यकाल सकिन लागेको र उनी बाहिरिएपछि मात्रै प्रतियोगिता गर्नेबारे सोचिरहेका छन् भने कर्णालीमा पहिलोपटक हुन लागेको यति ठुलो प्रतियोगिताको जस लिन दलहरुबिच लडाइँ नै छ ।
परिषद् भन्छ- हाम्रा कारणले प्रतियोगिता रोकिन्न
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सञ्ज्याल रङ्गशालाका कारण मङ्सिमा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनामा कुनै समस्या नआउने बताउँछन् । ‘हामीले त्यसका लागि सबै गरिसकेका छौँ, बाहिर देखाउनका लागि चिटिक्क पार्न मात्र बाँकी हो,’उनी भन्छन्, ‘काम सकेर पनि हाम्रा खेलाडीले केही महिना रङ्गशालामा तालिम गर्न पाउँछन् ।’
यो रङ्गशालाभित्र १६ वटा खेल खेल्न सकिने उनले बताए । त्यस बाहेकका खेलका लागि पनि अन्य केही खेल मैदान बनिसकेका छन् । आयोजना राखेपको भएपनि प्रदेश खेलकुदबाट समयमा गर्नका लागि आफुहरुले तयारी तिव्र पारिरहेको उनको भनाइ छ ।
अहिलेसम्म एक अर्ब ४४ करोड बराबरको रकम काम गर्ने कम्पनीलाई भुक्तानी भइसकेको छ भने १० हजार दर्शको प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने बाहेकको भौतिक संरचनाको कामहरु सबै सकिएको छ । वरिपरि बाटो, कम्पाउन्डिङका सटरहरु, गेट निर्माण लगायतका कामहरु पनि सम्पन्न भइसकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण