बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
समिति बैठक

भ्रष्टाचार ऐन : समितिमा पहिचान भएका ६ विषयमा दफावार छलफल

न्यायाधीशदेखि एनआरएनसम्मलाई भ्रष्टाचारमा अनुसन्धान हुनुपर्ने
बुधबार, ०५ भदौ २०८१, १९ : ३६
बुधबार, ०५ भदौ २०८१

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल जारी छ ।

समितिले विधेयकमाथि दफावार छलफल थाल्नुअघि बुधबार संशोधनकर्तासँग छलफल टुङ्ग्याएको छ । संशोधनकर्ताहरूले आफ्ना कुरा राखेपछि समितिले विवादका केही विषय पहिचान गरेको छ । समितिले अर्को बैठकदेखि विधेयकमाथि दफावार छलफल गर्नेछ ।

बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरू अर्जुनरसिंह केसी, राजन केसी, राप्रपाकी सांसद रोशन कार्की, नेमकिपाका सांसद प्रेम सुवाल लगायतले आफ्नो कुरा राखेका थिए ।

सांसदहरूको कुरा सुनेपछि गृहमन्त्री रमेश लेखकले समितिमा आएका संशोधनहरू हेर्दा विधेयकमा निर्णय गर्नुपर्ने केही विषय पहिचान भएको र यसका टेकेर छलफल गर्न सभापति रामहरि खतिवडालाई आग्रह गरे । गृहमन्त्री लेखकले समितिको हालसम्मको छलफलमा विधेयकमा समेटिनुपर्ने भनी पहिचान भएका विषय प्रस्तुत गरेका थिए ।

नीतिगत निर्णयमा अनुसन्धान, पाँच वर्षे हदम्याद, स्वार्थको द्वन्द्व, निर्णय नगर्ने पदाधिकारीबारे के गर्ने र अनुचित कार्यबारे समितिले छलफल गरी टुङ्ग्याउनुपर्ने देखिएको गृहमन्त्रीले जानकारी गराए । गृहमन्त्री लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह पनि गरे । उनले यो महत्त्वपूर्ण विधेयक भएको र अख्तियारले पारित भए लगत्तै काम गर्ने भएकाले यसलाई निरन्तर छलफल गरेर पारित गराइदिन सभापतिसहित सबै सांसदलाई आग्रह गरेका थिए ।

गृह मन्त्रालयबाट पेस भएको विधेयक भएकाले गृहमन्त्रीले यसको स्वामित्व लिँदै सांसदहरूलाई यस्तो आग्रह गरेका हुन् ।

यो विधेयक प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि अख्तियारले तत्कालै लागु गर्दै विशेष अदालतमा यही अनुसार अभियोगपत्र समेत पेस गर्नेछ ।

गृहमन्त्री लेखकले विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भएको भन्दै अब टुङ्गोमा पुर्याउन समितिलाई आग्रह गरेका हुन् । ‘केही विषय पहिचान भएका छन् । दफावार रूपमा पहिचान भएका बुँदामा समितिले छलफल गर्नुपर्छ,’ उनले भने, ‘भ्रष्टाचार निवारण ऐन गम्भीर विधेयक हो । छिटो पारित गरौँ ।’

समितिमा केही दिन अघि उपस्थित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले पनि विधेयक छिटो पारित हुनुपर्नेमा जोड दिएका थिए ।

न्यायाधीशदेखि एनआरएनसम्ममा छानबिनको दायरामा ल्याउन सुझाव

समितिमा आफ्ना कुरा राखेका सांसदहरूले अदालतका न्यायाधीशदेखि गैर आवासीय नेपाली (एनआरएन)सम्मलाई भ्रष्टाचारमा छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारमा कुनै पनि हदम्याद राख्न नहुने टिप्पणी गरे । ‘भ्रष्टाचारको अनुसन्धानमा पाँच  वर्ष हदम्याद किन ? भ्रष्टाचारलाई जोगाउन भन्ने जनताको भनाइ छ,’ केसीले भने, ‘विधेयकमै नोट अफ डिसेन्ट लेख्न मिल्ने भए मेरो नोट आफ डिसेन्ट छ । भ्रष्टाचारमा समयसीमा तोक्ने कुराको विरोध गर्दछु ।’

सांसद केसीले नीतिगत निर्णयमा छानबिन हुनुपर्ने बताए । उनले नीतिगत निर्णय भन्दै संविधान र कानुनभन्दा बाहिरको कुरा मन्त्रिपरिषदमा निर्णय गर्ने अनि भ्रष्टाचारबाट पन्छिने काम भएको दाबी गरे । उनले मेलम्चीको ठेक्का कसलाई दिने, ललिता निवासको जग्गा व्यक्तिको हुने भनी गरिने निर्णय नीतिगत नहुने भएकाले अख्तियारको अनुसन्धानमा राख्नुपर्ने बताए ।

राप्रपाकी सांसद रोशन कार्कीले भ्रष्टाचारको मुद्दामा कैद कम भएको भन्दै २ करोडभन्दा धेरै बिगो भएको मुद्दामा जन्मकैद सजाय हुनुपर्ने माग गरिन् ।

‘पाँच हजार भ्रष्टाचार गर्ने र करोड भ्रष्टाचार गर्नेहरूलाई समान सजाय कसरी हुनसक्छ ?’ उनले भनिन्, ‘२ करोडभन्दा धेरै भ्रष्टाचार ठहर भएका व्यक्तिलाई जन्मकैदको सजाय राख्नुपर्छ ।’

कार्कीले भ्रष्टाचार अन्त्य गर्न राजनीतिक प्रतिबद्धता हुनुपर्ने र अनुसन्धानमा कुनै पनि हदम्याद हुन नहुने बताइन् । ‘अख्तियारले किन क्षेत्राधिकार बढाउन माग गरेको हो ? अख्तियारका आयुक्त आफैँ विवादमा आउँछन् । निजी क्षेत्र हेर्न दिन हुँदैन,’ उनले भनिन्, ‘नीतिगत निर्णयका आधारमा धेरै भ्रष्टाचार भएको छ । यसमा अनुसन्धान गर्नसक्ने कानुनी व्यवस्था गरिनुपर्छ ।’

सबैजसो सांसदले निजी क्षेत्रलाई छानबिनमा ल्याउन हुँदैन भनिरहँदा नेककिपाका प्रेम सुवालले भने निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने तर्क गरे ।

अहिले भ्रष्टाचार नेता र व्यापारी मिलेर गर्ने भएकाले निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । उनले विगतमा एक जना पनि नेताको काठमाडौँमा घर नभएको तर अहिले बंगला र गाडीहरू कसरी आयो भन्ने प्रश्न गर्दै छानबिनका लागि आयोग बनाउन माग गरे । 

‘भ्रष्टाचार नेता र व्यापारी मिलेर हुन्छ त्यसैले निजी क्षेत्र पनि छानबिनमा ल्याउनु पर्छ । पहिला पुराना भ्रष्टाचार छानबिन नगरी नयाँमा छानबिन हुन सक्दैन,’ सुवालले भने, ‘नेपालमा तीनथरी भ्रष्टाचार हुन्छ । बाख्रा, गाई र भैंसीले पानी खाएजस्तो ।’

नेपाली कांग्रेसका सांसद राजन केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अब न्यायाधीशहरूमाथि पनि छानबिन गर्न सक्ने बनाउन माग गरे । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै उनले अख्तियारले मुद्दा हाल्ने तर न्यायाधीशले सफाइ सहजै दिने गरेकाले छानबिन गर्न माग गरे । अख्तियार निजी क्षेत्रमा प्रवेश गर्न नहुने उनको भनाइ थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले माग्यो अनुचित कार्य हेर्ने अधिकार

कुनै समय अख्तियारसँग रहेको तर पछि संविधानमै राखेर खोसिएको अनुचित कार्य हेर्ने अधिकार राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने माग केन्द्रका तर्फबाट समितिमा गरिएको छ ।

सतर्कता केन्द्रका प्रहरी नायब महानिरीक्षक निरन्जन बिस्टले यस्तो माग गरेका हुन् । यसअघि संसदमा भएको छलफल समेतका आधारमा आफूहरूले यस्तो माग गरेको उनले बताए । 

‘वर्तमान संविधान बन्दा अनुचित कार्य हटेको थियो । तर भ्रष्टाचार अनुसन्धान गर्ने क्रममा यो आवश्यक देखिएको छ । सांसदहरूले समेत धारणा राख्नु भएको छ । यसरी हेर्दा अनुचित कार्यमाथि कारबाही गर्ने अधिकार राष्ट्रिय सतर्कता केन्द्रलाई दिन अनुरोध गर्दछु,’ बिस्टले भने ।

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्बन्धी ऐनमा अनुचित कार्य हेर्नुपर्ने विषय समेत छलफलका लागि पहिचान भएको बताएका थिए । अन्तरिम संविधानमा अनुचित कार्य हेर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा दुलाल
दुर्गा दुलाल
लेखकबाट थप