बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको छ : प्रभु साह

बुधबार, ०५ भदौ २०८१, १९ : २७
बुधबार, ०५ भदौ २०८१

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् । 

रौतहटको छतौना र विश्रामपुरमा बुधबार आजपा नगर कमिटीद्वारा आयोजित “वैदेशिक रोजगारका ठगलाई सरकारले कारबाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारका ठगहरूलाई कारबाही नगरी सरकारले संरक्षण गरेको बताए ।

‘गाउँका गरिब युवाहरू रोजगारका लागि बिदेसिन बाध्य छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ,’  अध्यक्ष साहले भने, ‘नेपालमा स्वास्थ्य परीक्षण गरी वैदेशिक रोजगारमा जाने युवाको विदेशमा मृत्यु हुन्छ । उनीहरूको लास नेपाल आउँछ । यहाँ बलियो, स्वास्थ्य रहेका युवाको विदेशमा मृत्यु कसरी हुन्छ ? यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने । फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर विदेश पठाउने । अलपत्र पार्ने, यस्ता भ्रष्ट र लुटेरालाई कारबाही नगरी सरकारले संरक्षण गर्ने काम भइरहेको छ ।’ 

केही म्यानपावर कम्पनीसँग मिलेर सरकारले मानव तस्करीको काम गरिरहेको समेत अध्यक्ष साहले आरोप लगाए । सरकारमा सहभागी दलका नेताले कमिसनमा गैरकानुनी काम गरिरहेको बताउँदै उनले सरकारकै संरक्षणमा म्यानपावर कम्पनीहरूले मानव तस्करी र लूट धन्दा चलाएर गरिब युवाहरूलाई लुटिरहेको बताए । 

कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले नै पालिरहेको निष्कर्ष सहित पीडितलाई न्याय दिलाउन जस्तो सुकै आन्दोलन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप