आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सुशासनको प्रत्याभूति दिलाउन मुख्यमन्त्री लामाको निर्देशन

बुधबार, ०५ भदौ २०८१, १८ : ४१
बुधबार, ०५ भदौ २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकहरूलाई सुशासनको प्रत्याभूति दिलाउनेगरी काम गर्न निर्देशन दिएका छन् । उनले विभागीय मन्त्री र मन्त्रालयका सचिवहरूलाई जिम्मेवार ढंगबाट काम गर्न तथा गुनासो रहित सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री लामाले बुधबार विभागीय मन्त्री र प्रमुख सचिवसँग कार्य सम्पादन करार सम्झौता गर्दै सुशासनका विषयमा गम्भीर हुनुपर्ने बताए । सुशासन र सेवा प्रवाहका विषयमा गुनासोरहित काम गर्न उनले विभागीय मन्त्रीहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री लामाले नागरिकहरूको आवश्यकता र चाहना अनुसार सहज सेवा तथा विकासका काम अघि बढाउन निर्देशित गरेका हुन् । उनले नागरीहरूको चरम निराशालाई सम्बोधन गर्न जिम्मेवार ढंगबाट कार्य सम्पादन गर्न र व्यवस्थापकीय विषयमा गम्भीर हुन आग्रह गरे ।

मुख्यमन्त्री लामाका अनुसार प्रदेश सरकार माथिको विविध चुनौतीको सामना गर्न सक्रिय रूपमा काम गर्नुपर्ने हुन्छ । पछिल्लो समय विभिन्न कोणबाट प्रदेश संरचनाको टीकाटिप्पणी भइरहेकाले त्यसलाई व्यवस्थापन गर्न गम्भीर हुन जरुरी रहेको उनले आँैल्याए ।

वर्तमान व्यवस्थामा राज्यका स्रोतको उच्चतम सदुपयोग गरी नागरिकहरूको सेवामा समर्पित हुनुपर्ने उनको भनाई छ । नागरिकहरूको नजिक रहेर सेवा प्रवाहसँगै विकास निर्माणको अघि बढाउनु पर्ने उनले बताए । हरेक मन्त्रालयले देखिने प्रकारको काम गरेर नागरिकलाई प्रदेश सरकारका विषयमा रहेका भ्रम चिर्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री लामाले कार्य सम्पादन मुल्यांकन पछि मन्त्रीहरूको मार्किङ हुने बताए । कार्य सम्पादन मुल्यांकन अनुसार प्रदेश सरकारले मन्त्रीहरूको प्रगति समीक्षा गर्ने र सोही अनुसार अंक वितरण गर्ने उनको भनाई छ । हरेक ३÷३ महिनामा प्रगति समीक्षा गरिने मुख्यमन्त्री लामाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप