लेकसाइडदेखि पञ्चासेसम्म पदमार्ग बन्ने, ९० लाख विनियोजन

पोखरा । पोखराको लेकसाइडदेखि पर्यटकीय क्षेत्र पञ्चासे जोड्ने पदमार्ग निर्माण हुने भएको छ । पोखरा १७ ड्यामसाइडदेखि सुरु हुने पदमार्ग शान्ति स्तुपा, पुम्दीकोट, भेडिखर्क, निगालेडाँडा, पैयुँचौतारी, थाप्ले, टाइगर हिल हुँदै पन्चासे पुग्नेछ ।
पदमार्ग निर्माणका लागि संघ सरकारले बजेट व्यवस्था गरेको हो । क्रमागत शीर्षकमा यो वर्ष कार्यान्वयन हुने गरी ९० लाख रुपैयाँ विनियोजन भएको छ । पोखरा आइपुगेका पर्यटकलाई पञ्चासेसम्म पुर्याउने गरी पदमार्ग निर्माण गर्न लागिएको वडाध्यक्ष हिमलाल बरालले जानकारी दिए ।
उनका अनुसार पञ्चासे जोड्ने रुट बनाउनका लागि पौने ९ करोडको डीपीआर बनिसकेको छ ।
‘डीपीआर तयार भइसकेको छ । ८ करोड ८३ लाखको डीपीआर छ । यो बजेट पहिलो पटक विनियोजन भएको हो,’ उनले भने, ‘लेकसाइडबाट डाँडैडाँडा पञ्चासे पुग्ने बाटो हो ।’ पदमार्गको दुरी २७ किलोमिटर छ । पदमार्गसँगै विभिन्न ५ ठाउँमा पार्क निर्माण गर्ने बरालले बताए । यसअघि पनि यहाँ पदमार्ग नै थियो । ‘पहिले पनि यो ट्रेक थियो । तर सेलाएको थियो,’ बरालले भने, ‘अब पुनर्जागराण गर्ने हो ।’
स्थानीय ठाकुर बरालले पदमार्गले यो रुटमा पर्ने स्थानीयको आयआर्जन वृद्धिसँगै पर्यटकलाई नयाँ गन्तव्यको सिर्जना गर्ने बताए । ‘पुम्दी हुँदै पञ्चासेसम्म वरपरका गाउँहरुको विकास यसैबाट हुन्छ । स्थानीयले रोजगारी पाउँछन्,’ उनले भने, ‘सडकबाट दिक्क भएका पर्यटकले नयाँ पदमार्ग पाउनेछन् ।’ पञ्चासे जैविक विविधताका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ ।
यहाँ १ सय १३ किसिमका सुनगाभा र संसारमा कतै नपाइने तीनथरीका सुनगाभा पाइने अध्ययनले देखाएको छ । यो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न स्थानीयसँगै पर्यटनमा आबद्ध संघ संस्था र व्यक्तिहरू सक्रिय भएका छन् । यो ठाउँ कास्की, स्याङ्जा र पर्वतको सिमानामा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ अर्ब ६४ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात
-
क्रिप्टोकरेन्सीको इतिहासमा अहिलेसम्मको ठुलो चोरी
-
जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली
-
तीन गजल
-
एमाले नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग छ : महासचिव पोखरेल
-
आरतीले ‘अपमान र अन्याय’ भन्दा एकीकृत समाजवादीको बैठकमा होहल्ला