आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्व क्रिकेटका दुःखद घटना : अभागी क्रिकेटर जसले खेल मैदानमै मृत्युवरण गरे

बुधबार, ०५ भदौ २०८१, १७ : ५८
बुधबार, ०५ भदौ २०८१

काठमाडौँ । विश्वको दोस्रो लोकप्रिय खेलमा पर्छ, क्रिकेट । कुनै समय केही निश्चित राष्ट्रहरूको वरपर घुम्ने क्रिकेटको अन्तर्राष्ट्रिय परिधि पछिल्लो समय निकै फराकिलो बनेको छ । अहिले विश्वको हरेक कुनामा क्रिकेट निकै लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको छ । 

हाल करिब एक सय २५ राष्ट्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सदस्यका रूपमा रहेका छन् । खासगरी दक्षिण एसियालाई क्रिकेटको हबका रूपमा चिनिन्छ । दक्षिण एसियामा टेस्ट खेल्ने सबैभन्दा बढी राष्ट्र पनि रहेका छन् । 

क्रिकेट जोखिमपूर्ण खेल पनि हो । त्यसैले यो खेलमा खेलाडीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिन्छ । खेलाडीको हरेक अङ्गको सुरक्षाका लागि सुरक्षा कवचको व्यवस्था गरिएको हुन्छ । खेलका क्रममा बलरले एक सय ६१ किलोमिटर प्रतिघण्टासम्मको रफ्तारमा फालेको बललाई ब्याट्सम्यानले सामना गर्नुपर्ने हुन्छ ।

ब्याट्सम्यानका लागि यो निकै जोखिमपूर्ण हुन्छ । खेलका क्रममा सुरक्षा सावधानी नअपनाउँदा जुनसुकै बेला पनि दुर्घटना निम्तिन सक्छ । विश्व क्रिकेटमा यस्ता थुप्रै घटना भइसकेका छन् । खेलका क्रममा बलरले फालेको बलले लागेर थुप्रै क्रिकेटरको दुःखद निधन पनि भइसकेको छ । 

त्यसैले आईसीसीदेखि लिएर सम्बन्धित राष्ट्रका क्रिकेट सङ्घहरूले पनि खेलाडीको सुरक्षाका लागि विभिन्न नियम बनाएका हुन्छन् । खासगरी क्रिकेट खेलका क्रममा बलले ब्याट्सम्यानको टाउकोमा गम्भीर चोट लागेर खेलाडीको मृत्यु हुने गरेको छ । यहाँ यस्तै केही गम्भीर घटनाको बारेमा चर्चा गरिएको छ । 

फिल ह्युज (अस्ट्रेलिया)

सन् २०१४ मा दक्षिण अस्ट्रेलिया र न्यु साउथ वेल्सबिचको खेलका क्रममा अस्ट्रेलियन राष्ट्रिय टोलीका प्रतिभाशाली ब्याट्सम्यान फिल ह्युजको बलले टाउकोमा गम्भीर चोट लागेर निधन भएको थियो । बलरले फालेको खतरनाक बाउन्सरले टाउको गम्भीर चोट लागेपछि उनी अचेत भएर ढलेका थिए ।

Phil Hughes

न्यु साउथ वेल्सका तीव्र गतिका बलर सिन एबटले फालेको बलले उनको टाउकोमा चोट लागेको थियो । त्यसपछि उनलाई उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उनको टाउकोको आपत्कालीन शल्यक्रिया गरिएको थियो । त्यसको दुई दिनपछि उपचारका क्रममा उनको निधन भएको थियो । 

२५ वर्षीय ह्युज टेस्ट क्रिकेटमा पुनरागमन गर्ने तयारीमा थिए । खेलका क्रममा उनले सुरक्षाका लागि हेलमेट पनि लगाएका थिए । तर, एबटले फालेको बल उनको टाउकोका पछिल्लो भागमा देब्रेतर्फ ठोक्किएको थियो । फिल ह्युजले अस्ट्रेलियाका लागि २६ टेस्ट, २५ एकदिवसीय र एउटा टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए ।

ड्यारिन रान्डल (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका क्रिकेट खेलाडी थिए, ड्यारिल रान्डल । सन् २०१३ मा दक्षिण अफ्रिकाको एक घरेलु प्रतियोगिताका क्रममा उनको टाउकोमा बलले गम्भीर चोट लागेको थियो । सोही कारणले केवल ३२ वर्षको उमेरमा विकेटकिपर ब्याट्सम्यान ड्यारिन रान्डलको निधन भएको थियो । 

बलरले फालेको तीव्र गतिको बललाई पुल सट गर्ने क्रममा त्यो बल उनको टाउकोको छेउमा ठोक्किएको थियो । त्यसपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुरयाए लगत्तै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । 

लन्डनमा जन्मिएका यी क्रिकेटरले दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेका थिएनन् । उनले प्रथम श्रेणीको क्रिकेट र लिस्ट ‘ए’ क्रिकेट खेलेका थिए । उनले बोर्डर क्लबको तर्फबाट दक्षिण अफ्रिकाको घरेलु क्रिकेट खेल्थे । यो घटना पनि घरेलु क्रिकेटकै क्रममा भएको थियो । 

जुल्फीकार भट्टी (पाकिस्तान)

पाकिस्तानी क्रिकेट खेलाडी जुल्फीकार भट्टीको सन् २०१३ मा एक घरेलु प्रतियोगिताका क्रममा बलले लागेर निधन भएको थियो । उनी त्यतिबेला केवल २२ वर्षका थिए । बेगम खुर्सिद मेमोरियल टी–२० प्रतियोगिताका क्रममा उनलाई चोट लागेको थियो । 

त्यो खेलमा ब्याटिङ गर्ने क्रममा बलरले फालेको तीव्र गतिको बल सिधै उनको छातीमा ठोक्किएको थियो । बलले लागेपछि उनी अचेत भएर मैदानमा ढलेका थिए । उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । 

Zulfiqar Bhatti

जुल्फीकार भट्टीको दाजु पनि त्यही खेलमा सहभागी थिए । जुल्फीकार आफ्नै दाजुको कप्तानीमा खेलका लागि मैदानमा ओर्लिएका थिए । उनको निधनको खबरपछि त्यो प्रतियोगिता तीन दिनसम्म स्थगित गरिएको थियो । आफ्ना पाँच दाजु–भाइमध्ये उनी सबैभन्दा कान्छा थिए ।

रिचर्ड ब्युमन्ट (इङ्ल्यान्ड)

रिचर्ड ब्युमन्ट इङ्ल्यान्डका क्रिकेट खेलाडी थिए । उनको निधन सन् २०१२ मा एक घरेलु प्रतियोगिताका क्रममा भएको थियो । त्यतिबेला उनी ३३ वर्षका थिए । तर, उनको निधन बलले लागेर भने भएको थिएन । उनी आफ्नो टोलीका प्रभावशाली बलर थिए ।

खेलका क्रममा पाँचौँ विकेट लिएपछि उनी खुसीयाली मनाउन व्यस्त थिए । त्यस क्रममा उनी अचानक मैदानमा ढलेका थिए । प्रारम्भिक उपचारबाट होसमा नआएपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । उनलाई अस्पताल लैजान हेलिकप्टरको व्यवस्था गरिएको थियो । 

Richard Beaumont

तत्कालै बर्मिङ्घमस्थित क्विन एलिजाबेथ अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । चिकित्सकले उनलाई हृदयाघात भएको जानकारी दिएका थिए । रिचर्ड ब्युमन्टको निधनपछि उनको सम्मानमा पुरस्कारको स्थापना पनि गरिएको छ । 

एल्किन जेन्किन्स (इङ्ल्यान्ड) 

एल्किन जेन्किन्सको सन् २००९ मा क्रिकेट मैदानमै निधन भएको थियो । क्रिकेट खेलका क्रममा खेलाडी मात्र होइन, अम्पायर पनि जोखिममा रहन्छन् । एल्किनको निधन यसैको उदाहरण हो । क्रिकेट मैदानमा लागेको चोटका कारण जीवन गुमाउँदा उनी ७२ वर्षका थिए । 

Alcwyn Jenkins

त्यतिबेला उनी स्वान्सीमा एक खेलका क्रममा अम्पायरको भूमिका निर्वाह गरिरहेका थिए । सोही क्रममा एक फिल्डरले फालेको बल सिधै उनको टाउको ठोक्किएको थियो । टाउकोमा चोट लागेपछि मैदानमै ढलेका उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।

उनलाई पनि हेलिकप्टरमार्फत नै अस्पताल लगिएको थियो । केही समय अस्पतालमा उनको उपचार भयो । तर, टाउकोमा गम्भीर चोट लागेकाले अन्ततः उपचारकै क्रममा उनको निधन भयो । उनी इङ्गल्यान्डको घरेलु क्रिकेटमा निकै चर्चित अम्पायर थिए ।

वसिम हसन राजा (पाकिस्तान)

वसिम हसन राजा पाकिस्तानका प्रभावशाली क्रिकेट खेलाडी थिए । उनले पाकिस्तानको राष्ट्रिय टोलीबाट थुप्रै प्रतियोगिता खेलिसकेका थिए । उनी पाकिस्तानी टोलीका अलराउन्डर खेलाडी थिए । उनले पाकिस्तानका लागि टेस्ट र एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

Wasim Raja

उनको ब्याटिङ जति आक्रामक थियो बलिङ पनि उत्तिकै धारिलो । सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि उनले  अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच रेफ्रीको भूमिका पनि निर्वाह गरेका थिए । क्रिकेट मैदानमै जीवन गुमाउने क्रिकेटरमध्ये उनी पनि एक हुन् । 

सन् २००६ मा ५४ वर्षको उमेरमा क्रिकेट मैदानमै उनको निधन भएको थियो । इङ्गल्यान्डको बकिङ्घमसियरमा क्रिकेट खेल्ने क्रममा हृदयाघातका कारण उनको निधन भएको थियो । त्यो खेलमा उनले इङ्लिस क्लब सरेको प्रतिनिधित्व गरिरहेका थिए । 

रमन लाम्बा (भारत)

रमन लाम्बा भारतीय क्रिकेटर थिए । उनले भारतको राष्ट्रिय टोलीबाट पनि चार टेस्ट र ३२ वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । आफ्नो समयका यी प्रभावशाली अलराउन्डरले पनि क्रिकेट मैदानमै ज्यान गुमाएका थिए । 

उनको निधन सन् १९९८ मा एक खेलका क्रममा भएको थियो । त्यतिबेला उनी केवल ३८ वर्षका थिए । बङ्गलादेशको राजधानी ढाकामा आयोजित एक क्लब क्रिकेटका क्रममा उनी फिल्डिङ गरिरहेका थिए । सोही क्रममा एउटा तीव्र गतिको बल उनको टाउकोमा ठोक्किएको थियो । 

Raman Lamba

त्यो खेलका क्रममा ब्याट्सम्यान नजिकै सर्ट–लेगमा फिल्डिङ गरिरहेको बेला बल उनको टाउकोमा ठोक्किन पुगेको थियो । बलले टाउकोमा चोट लागेपछि मैदानमै ढलेका उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । उनी कोमामा गएका थिए । उपचारकै क्रममा तीन दिनपछि उनको निधन भएको थियो । उनले आयरल्यान्डका लागि पनि अनौपचारिक रूपमा एक दिवसीय खेल खेलेका थिए । 

ईयान फोली (इङ्गल्यान्ड) 

ईयान फोली इङ्ल्यान्डका अलराउन्डर खेलाडी थिए । उनको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट थियो । उनले इङ्गल्यान्डको राष्ट्रिय टोलीबाट भने खेल्ने अवसर पाएका थिएनन् । उनको बायाँ हातमा लागेको चोट पनि यसको कारण थियो । 

उनलाई राष्ट्रिय टोलीमा समावेश गर्ने तयारी भने सुरु भइसकेको थियो । तर, सन् १९९३ मा एउटा विचित्रको घटना भयो । डर्बिसियर र वर्किङ्टन बिचको घरेलु प्रतियोगिताका क्रममा ब्याटिङ गर्दा बलले उनको आँखामा गम्भीर चोट लाग्न पुग्यो । त्यतिबेला उनी डर्बिसियरबाट खेल्दै थिए ।

Ian Folley

आँखामा चोट लागेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भयो । त्यसका लागि एनेस्थेसिया दिने क्रममा फोलीलाई हृदयाघात भयो । पछि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । त्यतिबेला उनी केवल ३० वर्षका थिए ।

विल्फ स्ल्याक (इङ्गल्यान्ड) 

विल्फ स्ल्याक इङ्ल्यान्डका प्रतिभाशाली क्रिकेटर थिए । यी ब्याट्सम्यानले इङ्गल्यान्डको राष्ट्रिय टोलीबाट टेस्ट र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट पनि खेलिसकेका थिए । उनी बायाँ हाते ओपनर ब्याट्सम्यान थिए । उनी मिडलसेक्सबाट व्यावसायिक क्रिकेट खेल्थे । 

सन् १९८९ जनवरीमा गाम्बियाको राजधानी बान्जुलमा खेलिएको एक खेलका क्रममा उनी अचानक अचेत भएर ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले उनलाई बचाउन सकेनन् । जनवरी १५ तारिखमा उपचारका क्रममा उनको निधन भएको थियो । 

Wilf Slack

त्यतिबेला उनी ३४ वर्षका थिए । चिकित्सकहरूले उनको मृत्युको कारण पनि पत्ता लगाउन सकेनन् । त्यतिबेला विगत ३० वर्षको अवधिमा क्रिकेट मैदानमा भएको घटनाका कारण ज्यान गुमाउने उनी पहिलो खेलाडी थिए । उनी दायाँ हातले बलिङ गर्थे भने बायाँ हातले ब्याटिङ ।  

अब्दुल अजिज (पाकिस्तान)

अब्दुल अजिज पाकिस्तानका उदीयमान क्रिकेटर थिए । त्यतिबेला यी किशोर ब्याट्सम्यान भर्खरै क्रिकेटमा आफ्नो भविष्य खोजिरहेका थिए । उनले भर्खरै प्रथम श्रेणीको क्रिकेट खेल्न सुरु गरेका थिए । अब्दुल अजित विकेटकिपर ब्याट्सम्यान थिए । 

Abdul Aziz

प्रथम श्रेणीको क्रिकेटको १० पालीमा उनले कुल एक सय ४९ रन बनाएका थिए । उनी कराँचीमा घरेलु प्रतियोगिता खेल्थे । सन् १९५९ को जनवरीमा एक खेलका क्रममा ब्याटिङ गर्दा बलरले फालेको तीव्र गतिको बल सिधै उनको छातीमा ठोक्किएको थियो ।  

मैदानमा ढलेका उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । यो घटन सन् १९५९ को जनवरी १७ तारिखमा भएको थियो । त्यतिबेला उनी केवल १८ वर्षका थिए । 

एन्डी डुकाट (इङ्गल्यान्ड)

इङ्ल्यान्डका बहुमुखी प्रतिभाशाली खेलाडी थिए, एन्डी डुकाट । उनी क्रिकेटसँगै फुटबलका पनि अन्तर्राष्ट्रिय खेलाडी थिए । क्रिकेटमा उनी दायाँ हाते ब्याट्सम्यान थिए । उनले इङ्गल्यान्डको राष्ट्रिय टोलीबाट फुटबल र क्रिकेट दुवै खेल खेलेका थिए । 

इङ्गल्यान्डको राष्ट्रिय क्रिकेट टोलीबाट उनले एउटा टेस्ट खेलेका थिए । उनी विभिन्न राष्ट्रिय पत्रपत्रिकामा खेलकुद सम्बन्धी लेख पनि लेख्थे । डेली स्केच पत्रिकामा त उनी खेलकुद समाचार पनि लेख्थे । उनले पहिलो श्रेणीको क्रिकेटमा चार सय २९ खेल खेल्दै कुल २३ हजार तीन सय ७३ रन बनाएका थिए ।

Andy Ducat

सन् १९४२ को जुलाई २३ तारिखमा लर्डसमा एक घरेलु प्रतियोगिता खेल्ने क्रममा उनी अचानक मैदानमा ढलेका थिए । तत्काल सामान्य उपचारपछि उनलाई नजिकको अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याउनुअघि नै उनको निधन भइसकेको थियो । 

चिकित्सकहरूले उनलाई हृदयाघात भएको बताएका थिए । त्यतिबेला उनी ५६ वर्षका थिए । उनले सरे क्लबबाट व्यावसायिक क्रिकेट खेल्थे । प्रथम श्रेणीको क्रिकेटमा उनले ‘पार्ट टाइम’ बलरको भूमिका पनि निर्वाह गर्थे । प्रथम श्रेणीको क्रिकेटमा उनले २१ विकेट पनि लिएका थिए । 

क्रिकेटरका अतिरिक्त उनी कुशल फुटबल खेलाडी पनि थिए । उनले इङ्लिस क्लब उलविच आर्सनल, ब्ल्याकबर्न रोभर्स, एस्टन भिल्ला, फुलहामलगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । उनले इङ्गल्यान्डको राष्ट्रिय फुटबल टोलीबाट पनि ६ खेल खेल्दै एक गोल गरेका थिए । उनी दुई वर्ष फुलहामको प्रशिक्षक पनि बनेका थिए ।

जर्ज समर्स (इङ्गल्यान्ड) 

जर्ज समर्स पनि इङ्गल्यान्डकै प्रतिभाशाली क्रिकेटर थिए । उनी इङ्लिस  क्रिकेट क्लब नटिङ्घमसायरका ब्याट्सम्यान थिए । उनले इङ्गल्यान्डको राष्ट्रिय टोलीबाट भने खेल्ने अवसर पाएका थिएनन् । जर्ज समर्स राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत थिए । 

उनले प्रथम श्रेणीको क्रिकेटमा ३२ खेल खेल्दै कुल नौ सय २२ रन बनाएका थिए । सन् १८७० को जुनमा लर्डसमा नटिङ्घमसायर र एमसीसीबिच खेल भएको थियो । सोही खेलमा ब्याटिङ गर्ने क्रममा एमसीसीका तीव्र गतिका बलर जोन प्लाट्सले फालेको ‘सर्ट पिच बल’ खेल्ने क्रममा बलले उनको टाउकोमा चोट लागेको थियो । 

George Summers

टाउकोमा चोट लागेको केही समयपछि उनी सामान्यजस्तो देखिएका थिए । उनी उपचारका लागि अस्पताल पनि गएनन् । खेल सकिएपछि उनी रेल चढेर घर फर्किएका थिए । घर पुगेपछि उनको टाउको दुख्न थाल्यो । त्यसपछि उनी अस्पताल पुगेका थिए । चोट लागेको चार दिनपछि सन्  १८७० को जुन १९ तारिखमा उनको निधन भयो ।

जर्ज समरको निधनले लर्डसको पिच सुधार गर्नुपर्ने आवाज उठेको थियो । त्यतिबेला लर्डसको पिच निकै खराब स्थितिमा थियो । व्यापक विरोध भएपछि लर्डसको पिच सुधार गर्ने काम अगाडि बढाइएको थियो । त्यो घटनापछि एमसीसीका बलर जोन प्लाट्स पनि अत्यन्तै दुःखी बनेका थिए । त्यो घटनापछि उनले कहिल्यै तीव्र गतिको बल फालेनन् ।  

रेमन्ड भान स्चुर (नामिबिया) 

नामिबियाका उदीयमान खेलाडी थिए, रेमन्ड भान स्चुर । उनी नामिबियाको यू–१९ राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि थिए । उनी बलिङ र ब्याटिङ दुबैमा निपुण थिए । उनले ९२ वटा प्रथम श्रेणीको क्रिकेटमा कुल चार हजार तीन सय तीन रन बनाएका थिए । 

यसैगरी, एक सय तीनवटा लिस्ट ‘ए’ प्रतियोगिता खेल्दै कुल दुई हजार ६ सय १८ रन बनाएका थिए । उनले ७० वटा टी–२० प्रतियोगितामा कुल एक हजार पाँच सय ५० रन बनाएका थिए । उनले यी तीनवटै प्रतियोगितालाई मिलाएर ५० वटाभन्दा बढी विकेट पनि लिएका थिए । 

Raymond Van Schoor

यसका अतिरिक्त प्रभावशाली विकेटकिपर पनि थिए । उनले नामिबियाका लागि लिस्ट ‘ए’ र प्रथम श्रेणीको क्रिकेटमा सन् २००७ मा केवल १७ वर्षको उमेरमा ‘डेब्यू’ गरेका थिए । उनले देशका लागि आईसीसी इन्टरकन्टिनेन्टल कप, वर्ल्ड क्रिकेट लिग, टी–२० विश्वकप छनोटजस्ता प्रतियोगिता खेलेका थिए ।

उनले नामिबियाका लागि सन् २००८ मा यू–१९ विश्वकप पनि खेलेका थिए । उनले ४० अन्तर्राष्ट्रिय खेलमा नामिबियाको कप्तानको भूमिका पनि निर्वाह गरेका थिए । उनी सन् २०१२ मा नामिबियाको वर्ष क्रिकेटर पनि घोषित भएका थिए । 

उनका पिता मेल्ट भान स्चुर पनि नामिबियाका अन्तर्राष्ट्रिय क्रिकेटर थिए । सन् २०१५ को नोभेम्बर १५ तारिखमा वान्डरर्स क्रिकेट मैदानमा नामिबिया र फ्रिस्टेटबिचको खेलका क्रममा ब्याटिङ गर्दा उनी अचानक मैदानमा ढलेका थिए । उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । त्यसको केही दिनपछि नै नोभेम्बर २० तारिखमा उपचारका क्रममा केवल २५ वर्षको उमेरमा उनको निधन भएको थियो । 

अंकति केशरी (भारत)

अंकित केशरी भारतीय क्रिकेटर हुन् । उनी अन्तर्राष्ट्रिय रूपमा चर्चित खेलाडी भने थिएनन् । उनी भारतको घरेलु प्रतियोगिता खेल्थे । उनी दायाँ हाते ब्याट्सम्यान थिए । यसका अतिरिक्त उनी स्पिन बलिङ पनि गर्थे । उनको जन्म सन् १९९४ को अक्टोबर २८ तारिखमा कोलकातामा भएको थियो । 

Capture11

भविष्यमा भारतको राष्ट्रिय टोलीबाट खेल्ने सपना पालेका उनी घरेलु प्रतियोगितामा बङ्गाल टोलीको प्रतिनिधित्व गर्थे । सन् २०१५ को अप्रिलमा एक घरेलु प्रतियोगिताका क्रममा उनी फिल्डिङ गरिरहेका थिए । त्यतिबेला उनी कभर पोजिसनमा फिल्डिङ गर्दै थिए । 

विपक्षी टोलीका ब्याट्सम्यानले हावामा खेलेको बललाई क्याच गर्न दौडिएका उनी टोलीकै अर्का खेलाडीसँग ठोक्किएर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो । त्यसपछि मैदानमा ढलेका उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । 

तर, अप्रिल २० तारिखमा उपचारका क्रममा उनको निधन भएको थियो । आन्तरिक रक्तस्रावका कारण उनको निधन भएको चिकित्सकहरूले बताएका थिए । त्यतिबेला उनी केवल २० वर्षका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप