आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भेटवार्ता सकेर परराष्ट्रमन्त्री आरजु उपचारमा व्यस्त

बुधबार, ०५ भदौ २०८१, १५ : ५०
बुधबार, ०५ भदौ २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमणका क्रममा राजनीतिक भेटवार्ता सकेकी छन् । उनले भेटवार्ता सकेलगत्तै आफ्नो उपचारका लागि समय निकालेकी छन् । भदौ २ गते भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजुले भारतीय समकक्षी एस.जयशंकर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरिन् ।

परराष्ट्रमन्त्री आरजुले भारतका राष्ट्रपति द्रोपदी मुर्मुसँग पनि भेट्ने प्रयास गरेकी थिइन् । यद्यपि भारतीय राष्ट्रपति मुर्मुसँग भेटका लागि समय मिल्न नसकेको स्रोतले बताएको छ ।

परराष्ट्रमन्त्री आरजुले भारतका प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मुसँग भेट्न एकैपटक प्रस्ताव गरेकी थिइन् । भारत भ्रमणमा जाने तयारी सुरु गरेपछि नै उनले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने प्रस्ताव पठाएकी थिइन् । तर उनी दिल्ली पुग्दासम्म भारतीय प्रधानमन्त्री मोदीसँग भेटको समय निश्चित भएको थिएन ।

परराष्ट्रमन्त्री आरजुमात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओली, यहाँसम्म कि नेपालस्थित भारतीय दूतावासले पनि मोदीसँग उनको भेट हुने आकलन गरेको थिएन । मोदीसँग मन्त्री आरजुको भेट निश्चित भएपछि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव हतारहतार दिल्ली पुगेका थिए ।

विदेशमन्त्री एस.जयशंकरलाई भेटेपछि उपचार गराएर मन्त्री आरजु नेपाल फर्किने परराष्ट्र मन्त्रालयको कार्यतालिका थियो । त्यही अनुसारको जनशक्ति र तयारीका साथ मन्त्री आरजु दिल्ली पुगेकी थिइन् । भदौ २ गते साँझमात्र भारतीय प्रधानमन्त्री मोदीसँग मन्त्री आरजुको भेटको समय मिलेको थियो । त्यही कारणले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटघाट नेपालको तर्फबाट फितलो देखिएको थियो ।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा.एस जयशंकर, विदेशसचिव विक्रम मिश्री, मोदीका निजी सचिव पिके मिश्र र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि उपस्थित थिए ।

तर नेपालको तर्फबाट मन्त्री आरजुका साथ तीन जना कर्मचारी थिए । नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमख भृगु ढुंगाना,  भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा र उपसचिवस्तरकी नेपाली राजदूतावासकी मिनिस्टर काउन्सिलर दुरपदा सापकोटा मात्र सहभागी थिए ।

भारत पक्षबाट हेभीवेटको उपस्थितिले पनि परराष्ट्रमन्त्री आरजुलाई भारतले कति महत्त्व दियो भन्ने स्पष्ट देखिएको परराष्ट्र मामिलाका जानकार बताउँछन् । भारतीय राष्ट्रपति मुर्मुसँग समेत भेटका लागि प्रयास भए पनि सम्भव हुन नसकेको हो । मन्त्री आरजुका निजी सचिवालय स्रोतका अनुसार मंगलबारसम्म राष्ट्रपति मुर्मुसँग भेटका लागि समय मिलाउने प्रयास भइरहेको थियो तर अन्त्यमा उताबाट समय कन्फर्म नगरेपछि मन्त्री आरजु उपचारमा लागेकी हुन् ।

मन्त्री आरजु मंगलबारदेखि दिल्लीको म्याक्स अस्पतालमा उपचार गराइरहेकी छन् । पहिला पनि पटकपटक गएर त्यहाँ उपचार गराएकी मन्त्री आरजु अहिले फ्लोअपका लागि अस्पताल पुगेकी हुन् । उनी बुधबारसम्म उपचारमै रहने बताइएको छ । बिहीबार दिउँसो चार बजे उनी नेपाल फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

उपचारका साथै उनले सानातिना भेटघाट पनि गरिरहेकी छन् । स्रोतले भन्यो, ‘त्यहाँ कतिपय नेपाली पनि मन्त्रीलाई भेट्न आइरहेका छन् । मन्त्रीज्यूले पनि निजी भेटघाट गरिरहनु भएको छ । यी भेटघाट भ्रमणका तालिकामा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप