राजनीतिक घटनाक्रमपछि बंगलादेशी क्रिकेटले पायो नयाँ प्रमुख
काठमाडौँ । देशभित्र पछिल्लो राजनीतिक घटनाक्रमपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पनि नयाँ अध्यक्ष पाएको छ । बंगलादेशका पूर्वक्रिकेटर फारुक अहमदलाई बुधबार बीसीबीको नयाँ अध्यक्ष नियुक्त गरिएको हो ।
त्यसअघि बीसीबीका तात्कालिन अध्यक्ष नजमुल हसनले आफ्नो पदबाट राजीनामा दिएका थिए । पछिल्लो राजनीतिक घटनाक्रमपछि बंगलादेशले एउटा ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पनि गुमाउनु परेको छ ।
बंगलादेशमा आगामी अक्टोबरमा आईसीसी महिला विश्वकप आयोजना हुने निश्चित भइसकेको थियो । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले त्यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा सार्ने निर्णय गरिसकेको छ ।
बंगलादेमा सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सार्ने निर्णय गरिएको हो । आईसीसीको उक्त निर्णय त्यसलगत्तै बीसीबीले फारुक अहमदका रुपमा नयाँ अध्यक्ष पाएको हो । फारुक अहमद यसअघि पनि बीसीबीसँग जोडिएका थिए ।
उनी यसअघि दुईपटक बंगलादेशी टोलीको प्रमुख छनोटकर्ता थिए । उनले सन् २००३ देखि सन् २००७ सम्म पहिलो कार्यकालका रुपमा प्रमुख छनोटकर्ताको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले सन् २०१३ देखि सन् २०१६ सम्म दोस्रो कार्यकाल समालेका थिए ।
यद्दपि, प्रमुख छनोटकर्ताको दोस्रो कार्यकालमा उनले बिचमै पदत्याग गरेका थिए । बीसीबीले त्यतिबेला छनोट समिति बिस्तार गर्ने निर्णय लिएको थियो । त्यसैमा असहमति जनाउँदै उनले पदबाट राजीनामा दिएका थिए ।
उनी प्रमुख छनोटकर्ता हुँदा नै सकिब अल हसन, मुस्फिकुर रहिम, तामिम इक्बालजस्ता क्षमतावान खेलाडीले राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । फारुक अहमदले सन् १९८८ देखि सन् १९९९ को बिचमा देशका लागि सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
हाल बंगलादेशी क्रिकेट टोली पाकिस्तान भ्रमणमा छ । पाकिस्तान भ्रमणका क्रममा बंगलादेशले आयोजक राष्ट्रसँग दुई टेस्टको शृंखला खेल्दैछ । पहिलो टेस्ट बुधबारदेखि सुरु भइसकेको छ । बंगलादेशले हालसम्म टेस्ट क्रिकेटमा पाकिस्तानलाई हराउन सकेको छैन ।
बंगलादेश र पाकिस्तानीबिच हालसम्म कुल १३ वटा टेस्ट खेलिएको छ । त्यसमध्ये १२ वटा टेस्टमा पाकिस्तान विजयी भएको छ । एक टेस्ट भने बराबरीमा सकिएको छ । त्यसैले यो शृंखला बंगलादेशका लागि निकै महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे