संविधान संशोधनको चर्चाका बिच मधेसमा अर्को गठबन्धन बनाउने कसरत
काठमाडौँ । कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधन गर्ने सहमति गरेपछि मधेस केन्द्रित दलहरूले संगठित हुने प्रयास गरिरहेका छन् ।
संविधान संशोधनको माग गर्दै आएका मधेस केन्द्रित दलहरू आफ्नो माग अनुसार संविधान संशोधन गराउन दबाव दिन संगठित हुन थालेका हुन् ।
संविधान संशोधन गरी समानुपातिक व्यवस्था हटाउने, साना दललाई समाप्त गरेर दुई दलीय व्यवस्था कायम गर्न खोजेको चर्चा भइरहेको समयमा मधेस केन्द्रित दलले त्यसविरुद्ध संगठित भएर आफ्ना एजेण्डामाथि दबाब बढाउन प्रयास थालेका हुन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्न संविधान विज्ञहरू सम्मलित ‘संविधान पुनरावलोकन आयोग’ गठन हुनुपर्ने माग गरेका छन् । उनले यो माग पार्टीको केन्द्रीय समितिको बैठकबाटै अघि सारेका हुन् ।
उपेन्द्र यादव भन्छन्– मोर्चाको आवश्यकता छ
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन लगायतका विषयमा संगठित भएर दबाब बढाउन आफूहरूले चाहेको बताए । ‘साझा मुद्दामा एक्लाएक्लै संघर्ष गर्नुभन्दा सबै दल मिलेर संघर्ष गर्दा प्रभावकारी हुन्छ र त्यसको आवश्यकता पनि छ,’ उनले भने ।
गठबन्धन वा मोर्चाबन्दी गर्ने पहल भइरहेको जानकारी दिँदै उनले आन्तरिक रूपमा अनौपचारिक छलफल भइरहेको बताए । उनले तत्कालै मोर्चाबन्दी नभए पनि ढिलोचाँडो बन्नेमा आफू विश्वस्त रहेको प्रस्ट पारे ।
जसपा नेपालले स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने गरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने भनेको छ । जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख/राष्ट्रपतीय प्रणाली, समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको अध्यक्ष यादवले बताए ।
सीके राउतले गरे प्रस्ताव
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि संविधान संशोधनमा दबाब बढाउन मोर्चा वा गठबन्धन आवश्यक रहेकोमा जोड दिएका छन् । उनले यो विषयमा लोकतान्त्रिक समाजादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लासँग भेटेर मोर्चा बनाउन प्रस्ताव नै गरिसकेका छन् ।
ठुला दलहरूको भर नभएको भन्दै अध्यक्ष राउतले मधेसी, आदिवासी, जनजाति तथा पिछडिएकाहरूको अनुसार संविधान संशोधन गर्न दबाव दिन मधेसमा संगठित हुनुपर्ने प्रस्ताव उनले राखेको बताइएको छ ।
लोसपाका सहअध्यक्ष शुक्लाले भने, ‘मधेसमा गठबन्धनको आवश्यकता छ, ठुला दलहरूले जे हरकत गर्न खोजिरहेका छन्, त्यसका लागि पनि संगठित हुन आवश्यक छ ।’
जनमत पार्टीका अध्यक्ष राउतबाट मधेसमा गठबन्धनका लागि प्रस्ताव आएको बताउँदै उनले पार्टीहरूमा छलफल गरेर अगाडि बढ्ने कुरा भएको बताए ।
के चाहन्छ जनमत ?
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पनि मधेसमा एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले भने, ‘संविधानले दिएको अधिकार र उपलब्धि गुम्ने गरी यदि गठबन्धनले केही गरेमा त्यसका लागि आवाज उठाउनै पर्छ । त्यसका लागि एक्लाएक्लै भएर हुँदैन ।’
मधेसमा एउटा शक्ति निर्माण नभएसम्म प्राप्त उपलब्धि पनि गुम्छ र पाउनुपर्ने अधिकार पनि नपाइने हुनसक्ने भन्दै उनले त्यसका लागि मधेसमा मोर्चाबन्दीको आवश्यक रहेको बताए ।
बाहिर चर्चा भएकै आधारमा आत्तिहाल्नु पर्ने आवश्यकता नरहेको बताउँदै उनले गठबन्धनबाट के–केमा संशोधन गर्न चाहेको हो र कुन प्रक्रियाबाट संशोधन गर्न चाहेको भन्नेबारे प्रस्ताव आएपछि मात्र कुनै निर्णयमा पुग्नुपर्ने प्रस्ट पारे ।
‘जनमत पार्टी सुरुदेखि नै मोर्चा वा गठबन्धनको पक्षमा छ । यसका लागि पार्टीले पटकपटक पहल गरेकै हो,’ उपाध्यक्ष खानले भने, ‘अहिले पनि पहल भइरहेको छ । तर अझै ठोस रूप लिन सकेको छैन । समय आएमा यसबारे आपतकालीन निर्णय पनि लिन सकिन्छ ।’
मोर्चाको विगत
२०७२ मा संविधान निर्माण भएदेखि नै मधेस केन्द्रित दलहरूले संविधान संशोधनका लागि आन्दोलन गर्दै आएका हुन् । ती दलहरू कहिले मोर्चा बनाएर त कहिले एक्लाएक्लै आन्दोलन गरे । संविधान संशोधनका लागि नाकाबन्दीसम्म गरेका ती दलहरूको बिचमा त्यतिबेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनेको थियो ।
२०६४ सालदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट आन्दोलन गर्दै आएका मधेसवादी दलहरूले २०७२ को नाकाबन्दीपछि मोर्चा भङ्ग गरेका थिए । त्यसपछि पनि पटकपटक त्यसलाई बिउँताउने प्रयास भएकोमा सम्भव भएको थिएन ।
विस्तारै ती दल एकीकृत पनि भए । सुरुमा विभिन्न ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी बनेको थियो । त्यसपछि राजपा र समाजवादी पार्टी बिच एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो । पछिल्लो समय जसपा नेपाल विभाजन भएर लोसपा नेपाल बनेको छ ।
एक वर्ष पनि टिकेन एकता
जसपा नेपालबाट महन्थ ठाकुरहरू अलग भएर लोसपा नेपाल गठन गरे । जसपा नेपालबाट महेन्द्र राय यादवहरू पनि अलग भए । रेशम चौधरी, वृषेशचन्द्र लाल पनि अलग भए ।
अहिले एकीकृत दलबाट नेताहरू अलगअलग हुँदै छु्ट्टै दल बनाउन लागेका छन् । तर अहिले कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधनको कुरा गर्न थालेपछि ती दलहरू गोलबद्ध हुने सुरसारमा छन् ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले विभिन्न दल बनाएर एउटा मोर्चा बनाएका छन् । अहिले लोसपा, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जसपालगायतका दलहरूको बिचमा पनि मोर्चाबन्दी बन्न आवश्यक रहेको र त्यसका लागि पहल पनि भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई उपहार भन्दै डाक्टरले गरे आफ्नै परिवार नियोजन
-
मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ : अध्यक्ष महतो
-
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
-
‘मदारीले भालु नचाएजस्तो होइन कविता’
-
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव
-
ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार दुवै पक्षमा खुलापन आवश्यक : विज्ञ