'जसको मृत्युमा सन्तानले भिडियो कलमा जलेको चिता हेरेर चित्त बुझाउनु परेन'
सन् २०१८ मा साथी सागर इपीएसमार्फत कोरिया प्रवेश गर्यो । दक्षिण कोरियाको दक्षिणी सहर बुसान नजिकैको खजेदो टापुमा अवस्थित एउटा पानी जहाज कम्पनीमा मैले काम गरिरहेको थिएँ । सागरले पनि त्यही कम्पनीमा काम गर्न थाल्यो । सागर र मेरो छोटो समयमा नै निकै आत्मीयता बढिसकेको थियो।
उसले मेरो साथ पाउँदा परदेश पनि आफ्नै घरजस्तो लागेको बताउने गर्दथ्यो। सागर निकै फरासिलो, मिजासिलो र सहयोगी स्वभावको थियो। त्यसो हुँदा मलाई पनि आफ्नै भाइ भेटेजस्तै महसुस भएको थियो। कम्पनीमा काम गर्नु र बिदाको दिनमा समुन्द्री तटहरूमा छालहरूसँग रमाउनु हाम्रो साझा दिनचर्या बनेका थिए । मन मिल्ने साथी भेटिएमा परदेशमा घर देशको याद र चिन्ताको गहिराइबाट निस्किन ठुलो मद्दत मिल्दो रहेछ ।
सागर घरदेखि आएको भर्खर छ महिना नबित्दै उसको आमालाई क्यान्सर भएको खबर आयो । यो अनपेक्षित खबरले ऊ निकै आत्तियो । रुन कराउन थाल्यो । मैले धैर्यताको ढाडस दिँदै घर जान सल्लाह दिएँ। अपसोच कम्पनीले बिदा दिन मानेन । ऊ कम्पनी छोडेर घर जान विवश भयो। घर गएर आमाको उपचार गर्न दिल्लीसम्म पुग्यो । दिल्लीमा दुई महिना उपचार गरेपछि आमालाई केही सुधार भयो ।
काठमाडौँका क्यान्सर हस्पिटलमा फलो-अप गर्ने गरी आमालाई घरमा राखेर पुनः कोरिया फर्कियो । नयाँ कम्पनी खोजेर काम लागेको एक हप्ता मात्र के भएको थियो उसलाई अकस्मात् बज्र पर्यो । आकाश खस्यो । धर्ती भासियो । संसार रित्तियो । आमालाई निको हुने आशाको दियो बोकेर परदेश फर्किएको थियो तर एक्कासि आशाको त्यो दियो निभ्यो । एकातिरबाट सम्हाल्न खोजेको थियो, अर्कोतिरबाट भत्कियो । उसकी आमाको हृदयाघात भएर निधन भएको खबरले उसको कान मात्र हैन मुटु, कलेजासमेत चिरा पार्यो ।
अब फेरि तत्काल घर फर्किनुपर्ने बाध्यता आइपर्यो । तर फेरि पनि एक हप्ता काम गरेको कम्पनीले बिदा दिन मानेन । आफ्नै मजदुरको आमाको मृत्यु पनि कम्पनीले त्यति गम्भीर ठानेन । त्यहाँबाट पनि उसले राजीनामा दिएर हिँड्नुपर्यो ।
यो कस्तो खालको विवशता? घरमा आमाबाबु बिरामी हुँदा उपचार गर्न पाइँदैन। परिवारको सदस्यको मृत्यु हुँदासमेत घर जाने बिदा पाइँदैन । आफ्नै घरमा कोही बिरामी छ भन्नुपर्दा पनि कम्पनीले कामबाट निकालिदिने भयले त्रसित हुनुपर्छ । कम्पनीबाट बिदा लिएर घर जाँदा पनि बिरामी परिवारसँग धित मरुन्जेल बस्न पाइँदैन । बिदेसिनुको एउटा असह्य विवशता !
बिदेसिनुका विवशता र दारुण कथा यत्तिमा सकिँदैनन्। कोही गरिबीको माखे साङ्लो चुँडाउने र पारिवारिक सुखद भविष्यको सपना बोकेर परदेश पस्छन् र अधुरा सपनाहरूसँगै उतै बिलाउँछन् । कोही आमाबुवाको खुसी किन्ने रहर बोकेर परदेश पस्छन् तर फर्किँदा आमाबुवाको मुखै देख्न पाउँदैनन् । कोही छोराछोरीको राम्रो शिक्षा दीक्षाको योजना बुनेर परदेश पस्छन् तर फर्कँदा छोराछोरी आफ्नो नियन्त्रणभन्दा निकै टाढा पुगिसकेको भेटाउँछन्।
कोही प्रगाढ प्रेम सम्बन्ध अझै कसिलो बनाउने बाचा गरेर परदेश पस्छन् तर फर्किँदा मायाको डोरी मात्र चुँडिएको हुँदैन अझ आफ्नो पसिनाको कमाइले भरेको ढुकुटी पनि रित्तिएको भेटाउँछन्।
परदेश पसेकाहरूले जिन्दगीभर पुग्ने गरी कमाइसके कि जस्तो ठानिन्छ । तर परदेश पसेका धेरैले जिन्दगीका महत्त्वपूर्ण पाटाहरू गुमाएका हुन्छन्। यतातिर कमैको ध्यान जान्छ । तीन करोडको हाम्रो जनसङ्ख्यामा करिब एक करोड युवा विदेशमा छन् । अब आफै सोच्नुस् यस्ता घटना दिनमै कति घट्छन् होला? दिनकै बाकसका बाकस विदेशबाट लास आउँछन् । गाउँघरमा कोही मर्यो भने मलामी जाने मान्छे भेटिँदैन । अब गाउँघर वृद्धाश्रमजस्तै भएको छ। बुढाबुढी बिरामी भए औषधि ल्याइदिने र पानी तताएर दिने मान्छे छैन । यसो नियालेर हेर्यो भने गाउँ कहालीलाग्दो र उराठलाग्दो देखिन्छ । गाउँको वनमा गाई बाख्रा चर्दैनन्। घसार्नीहरू माल्सिरी गाउँदैनन् । कोइली र न्याउलीहरू वन पाखामा सुरिलो कण्ठले गाउँदैनन् । साँच्चिकै निस्सार छ गाउँ अचेल! प्रत्येक दिन कुनै न कुनै घरमा आँसु बगेको छ। कुनै न कुनै परिवारमा चित्कार सुनिन्छ । कसैले आमाबुवाको मुख भेट्न पाउँदैनन् । कसैले छोराछोरीको कमाइ भित्र्याउने बेला रातो बाकसमा लास भित्र्याउन विवश छन् । दुःख, पीडा र वेदनाका यस्ता कथा हजारौँ हैन लाखौँ भेटिन्छन् गाउँमा । यीमध्ये अधिकांश कहानी वैदेशिक रोजगारीसँग सम्बन्धित छन् ।
देशको उत्पादनशील श्रमिक जनशक्ति लगभग पूरै बिदेसिएको यस्तो विकराल अवस्थामा पनि केही परिवार त्यस्ता भेटाउन सकिन्छ जसले अहिलेसम्म सामान्य अवलोकन भ्रमण या औषधि उपचारको सिलसिलामा बाहेक कुनै पनि बहानामा परिवारको कुनै पनि सदस्य बिदेसिएको छैन। यो कुरा अपत्यारिलो लाग्न सक्छ तर देशभित्र यस्ता साधारण परिवार पनि छन् जसले नितान्त देश सेवाका लागि आफ्नो जीवन समर्पित गरिरहेका छन् । अधिकांश युवा विदेश पलायन भइरहँदा पनि देश त चलेकै छ । असल राष्ट्रसेवकहरू पनि स्वदेशमै छन् र त देश चलिरहेको छ । यहाँ त्यस्तो स्वाभिमानी, देशभक्ति र राष्ट्रसेवक परिवारको जीवन्त कथा जोड्ने प्रयत्न गरेको छु ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा पर्ने सुन्दर समथर र उत्पादनशीलताको साथै संस्कार र संस्कृतिले सजिएको सोलाबाङ गाउँमा यस गाउँमा आजभन्दा झन्डै एक सय वर्ष पहिले एक जना कालीबहादुर खड्का भन्ने व्यक्ति बस्दथे । उनी इन्डियन लाहुरे थिए । भारतमा चलेको स्वतन्त्रता सङ्ग्राम आफ्नै आँखाले देखेका कालीबहादुरका तीन छोरा र चार छोरी गरेर सात सन्तान जन्मिए । पहिलो सन्तान लक्ष्मीको रूपमा छोरी जन्मिएकी थिइन् । भारतीय स्वतन्त्रता सङ्ग्रामबाट प्रभावित भएका र पूर्वी नेपालमा योगमाया भन्ने साहसिक नारीले सामाजिक विभेद र कु-संस्कारका विरुद्ध एकल आन्दोलन गरिरहेको सुनेका कालीबहादुरले आफ्नी पहिलो सन्तानको नाम पनि "योगमाया" राखिदिए । योगमाया हुर्कँदै गइन् ।
सोही गाउँका मुखिया मनवीर वलीका कान्छा छोरा यज्ञबहादुर वलीसँग उनको बिहे भयो । यस परिवारलाई कयनपानी वली परिवार भनेर चिनिन्छ । अब योगमाया पनि कयनपानी परिवारकी एक सदस्य बनिन् । योगमाया र यज्ञबहादुरका तीन छोरा र तीन छोरी भए । योगमाया साहसी र सुझबुझयुक्त नारी थिइन् ।
उनले घरको भान्सा मात्र चलाइनन् बरु समाजका अन्याय र अत्याचार विरुद्ध सशक्त आवाज उठाउने र न्यायपूर्ण निर्णय दिनेसम्मको क्षमता राख्दथिन् । गाउँमा कृषि सम्बन्धी तालिम, बाली विकास र बिउ बिजन सम्बन्धी ज्ञान सीप र प्रयोग बारे धेरै राम्रा कामहरू गरिन् । जसरी कयनपानी पधेरो एकताको सूत्र थियो । पछि योगमाया पनि गाउँका महिलाहरू र कृषकहरूको एकता, क्षमता विकास र न्यायका लागि सङ्घर्षको सूत्र बनिन् । उनका बुवा कालीबहादुरले त्यो समयमा पनि उनलाई साक्षर तुल्याई चिठ्ठी पत्र तथा तमसुक लेख्न सक्षम तुल्याएका थिए ।
उनले रामायण र महाभारत कण्ठाग्र गरेर सुरिलो कण्ठले सुनाएर गाउँलेलाई छक्क पार्थिन् । पछि उनी जीवन व्यवहार, ज्ञान र सिपका हिसाबले सधैँ नेतृत्वदायी भूमिका निर्वाह गरिरहिन् । कहाँसम्म भने सफल कृषक कोटामा उनले राष्ट्रिय सम्मेलनमा समेत सहभागिता जनाउन सफल भएकी थिइन् । त्यस्तै यज्ञबहादुर निकै कर्मशील र मिहिनेती थिए । उनी आफ्नै बारीका डल्ला र घरका गाईबस्तु अनि प्यारा सन्तानसँग मात्र रमाउँथे ।
विकट दुर्गम क्षेत्रको ग्रामीण भेकमा जीवनको लागि सङ्घर्ष गर्दा यो जोडीलाई पनि अनेकौँ दुःख कष्ट भोग्नुपर्यो ।
यस्तै कारणले जेठो छोरा कर्णबहादुर वली र जेठी छोरी धना वलीलाई औपचारिक माध्यमिक शिक्षा पूर्ण रूपमा दिलाउन सकेनन् । औपचारिक शिक्षाभन्दा ठुलो शिक्षा स्वाभिमानको शिक्षा हो। स्वावलम्बन, देशभक्ति र राष्ट्र सेवाको शिक्षा हो । योगमायाको जोडीले आफ्ना सन्तानलाई जीवन धान्नको लागि परदेशिनुपर्छ भन्ने कहिल्यै सिकाएनन् । त्यतिबेलाको परदेश भन्नु कालिपार अर्थात् भारतका गल्लीहरू हुन्थे । तर उनीहरूले आफ्ना सन्तानलाई कालिपार गएर बहादुर र गोर्खेको तक्मा थाप्न सिकाएनन् । बरु आफूहरूसँगै आफ्नै देशको माटोसँग खेल्न र त्यसमै रमाउन सिकाए । कोही कालिपार जानेहरूले टन्नै पैसा बोकेर पनि आउँथे । जोरी र दौतरीहरूले रंगरसिला किस्सा सुनाएर आफूहरूसँग कालिपार जान पनि उक्साउँथे । तर आमाबुवाको संस्कारयुक्त शिक्षा पाएका उनीहरू कहिल्यै घर छोडेनन् ।
आमा बुवाको साथमा आफ्नै मातृभूमिको काखमा खेलेरै जीवन आनन्दमय रूपमा बिताइरहे । त्यस पछाडिका सबै सन्तानले राम्रो शिक्षा दीक्षा लिए । भलै ती सन्ततिहरूलाई औपचारिक शिक्षा दिन कम्तीका कठिनाइ त भोग्न परेन उनीहरूले । तर उनीहरूले कहिल्यै हार मानेनन् । माइली छोरी मना वली गाउँकै विद्यालयमा शिक्षिका बनिन् । हाल उनी अवकाशप्राप्त जीवन बिताइरहेकी छिन् ।
माइलो छोरा पूर्ण वलीले लामो समयसम्म रुकुमका विभिन्न विद्यालयहरूमा कुशल शिक्षकको भूमिका निर्वाह गरे । साधारण शिक्षक मात्र नभई उनी धेरै विद्यालयमा प्रधानाध्यापकको भूमिका निर्वाह गरेर शून्य शैक्षिक प्रगतिको अवस्थाका धेरै स्कुलको शैक्षिक प्रगतिको निम्ति अहोरात्र खटे । हाल निजामती सेवाको अधिकृत पदमा रही इमानदार, कुशल र निस्कलंकित कर्मचारीको पहिचान बनाएका छन् । त्यति मात्र हैन उनी रुकुमेली साहित्य क्षेत्रबाट उदाएर राष्ट्रिय साहित्याकाशमा चम्किरहेका छन् । त्यस्तै कान्छो छोरा प्रकाश वली नापी अधिकृत भई राष्ट्र सेवामा अब्बल भूमिका निभाइरहेका छन् भने कान्छी छोरी निशा वली पनि शिक्षा सेवाको शाखा अधिकृतको जिम्मेवारी निभाइरहेकी छिन् । छोराहरूले भित्र्याएका बुहारीहरू र छोरीहरूसँग जोडिएका जुवाइहरू पनि सबै आआफ्नो ठाउँमा उत्तिकै सबल र सक्षम छन् ।
त्यतिकैमा सकिँदैन यो कहानी । छोराहरू र छोरीहरूबाट जन्मिएका नाति नातिनी र तिनीहरूसँग जोडिएका नातिनी बुहारी र जुवाइँहरू गरेर करिब २५/३० जना सबैले असल शिक्षा प्राप्त गरेर दक्ष बनेका छन् । कोही डाक्टर छन्, कोही इन्जिनियर छन्, कोही अधिकृत छन् त कोही निजामती सेवामा स्थायी कर्मचारी छन् । सरकारी जागिर खानुलाई स्वाभाविक मान्न सकिएला तर एउटा निम्न मध्यम वर्गको एक जोडी कृषकहरूका करिब पचास बाउन्न जना सन्तानसहितको यति ठुलो परिवारबाट एक जना सदस्य पनि पढाइ वा रोजगारीको नाममा परदेश पस्ने रहर नगर्नुलाई सामान्य मान्न सकिनँ मैले । युवाहरू सबै बिदेसिने लहरमा पनि ती कोही पनि विदेश पस्ने रहर गरेनन् । किनकि उनका अभिभावकहरूले त्यस्तो शिक्षा दिएनन् । बरु दिए त देशभित्रै आफ्नै माटोमा खेल्ने र रमाउने राष्ट्रभक्ति र देश प्रेमी शिक्षा ! त्यही शिक्षाका कारण एक जोडी साधारण किसानका तीन पुस्ते सन्तानहरूमध्ये कसैले पनि मातृभूमि छोड्ने बाध्यता ठानेनन्, न त रहर नै गरे ।
योगमायाको जोडीले प्रदान गरेको शिक्षाको महत्त्व त्यतिबेला झल्कियो जब त्यो जोडीले समयचक्रसँगै वृद्धावस्थामा प्रवेश गरे र आफ्नो सेरोफेरो राष्ट्रसेवक सन्तानहरूले भरिभराउ भयो । यो जोडीले चाड्बाड, बिहे-व्रतबन्ध कुनै पनि पारिवारिक सामाजिक समारोहमा कुनै एक जना सन्तान परदेश भएर परिवारसँग मिलन नभएको पीडा महसुस गर्नु परेन । यो विषय अझ गम्भीर र भावुक त झन् त्यतिबेला बन्यो जब त्यो उदाहरणीय जोडीले आफूलाई प्राप्त नब्बे वर्ष हाराहारीको निकै लामो आयु पूरा गरे ।
दुर्भाग्यवश करिब दुई वर्ष पहिले योगमाया अकस्मात् हृदयाघातको चपेटामा परिन् । घरमा भएका सन्तानले तत्काल जिल्ला अस्पताल पुर्याए । जेठो छोरा कर्णले र कान्छा छोरा प्रकाशले आमाको प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौँ लगेर गए । काठमाडौँमा भएका छोरा-बुहारी, छोरी-ज्वाइँ, नाति-नातिनी सबै जम्मा भए र जन्तीको जस्तो लहरले बिरामी योगमायालाई घेरे ! योगमायाले चारैतिर आँखा लगाइन् । कोही सन्तान आफूसँग छैन भन्ने चिन्ता रहेन उनलाई । यही सान्त्वना र खुसीले उनले पहिलो पटकको हृदयाघातलाई जितिन् र उनको स्वास्थ्यमा सुधार हुँदै गयो । सन्तानहरूको खुसीको सीमा नै रहेन ।
तर करिब एक हप्ताको अन्तरमा दोस्रो चोटि उनलाई हृदयाघात हुन पुग्यो र यसलाई उनको ८४ वर्षको उमेरले जित्न दिएन । उनले सम्पूर्ण सन्तानलाई छेउमै राखेर संसार छोडिन् । उनका सम्पूर्ण सन्तानले उनलाई जन्तीजस्तै आर्यघाटसम्म पुगेर दागबत्ती दिए । उनका कुनै पनि सन्तानले विदेशबाट फोन गरेर भिडियो कलमा उनको चिता जलेको हेरेर चित्त बुझाउनु परेन । कुनै पनि सन्ततिले अन्तिम पटक मुहार हेर्न नपाएको पछुतो गर्न परेन । हरेक व्यक्तिको अपेक्षा हुन्छ कि अन्तिम सास फेर्दा आफ्ना सबै सन्तान साथमै रहून् । कसैले सिरानतिर घेरुन् त कसैले गोडातिर घेरुन् भन्ने हुन्छ । स्वदेशमै रहेका सन्तानले उनको इच्छा पूरा गरे ।
भनिन्छ मनदेखि मिलेको जोडी लामो समय सँगै जिउँछन् र मृत्यु पनि सँगसँगै हुन्छ । त्यस्तै भयो यो जोडीलाई पनि । योगमायाले छोडेर गएको दुई वर्षपछि गत श्रावण ४ गते शुक्रबारका दिन उनका पति यज्ञबहादुर वली पनि उनलाई पछ्याउँदै ९० वर्षको उमेरमा यो कायाबाट बिदा लिए । उनले पनि योगमायाले जस्तै सम्पूर्ण सन्ततिको घेराभित्र रहेर सन्तोषका साथ प्राण त्याग गरे ।
उल्लिखित सत्य कथाहरूको उदाहरणबाट यो भन्न सकिन्छ कि देशमा भ्रष्टाचारी र बेइमानहरू मात्र छैनन् राष्ट्र प्रेमी र इमानदार व्यक्तिहरूले पनि दुःखजिलो गरेर जीवन बिताएका छन् र स्वदेश परदेशी जम्मैलाई देश छ भन्ने अनुभूति दिलाएका छन् । यी समाजका प्रेरणा हुन् र देशकै गौरव हुन् ।
मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरहेछ भनेझैँ मेरो विचारमा यो जोडीको मृत्यु पनि गौरवमय र सम्मानयोग्य लाग्यो । अन्तमा उदाहरणीय दिवङ्गत बुवा र आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल समस्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो
-
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य