बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

एमबाप्पेलाई पीएसजीबाट बक्यौता पारिश्रमिक उठाउन सास्ती

बुधबार, ०५ भदौ २०८१, ११ : २१
बुधबार, ०५ भदौ २०८१

काठमाडौँ । चर्चित फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पे आफ्नो सपना साकार पार्दै स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका छन् । २५ वर्षीय एमबाप्पे करिब सात वर्ष स्पेनिस क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा बिताएर स्पेन पुगेका हुन् ।

उनले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट गोल पनि गरिसकेका छन् । यूईएफए सुपर कपको फाइनलमा रियल म्याड्रिडले इटालियन प्रतिद्वन्द्वी एटलान्टालाई २–० गोलले हराउँदा एमबाप्पेले पनि एक गोल गरेका थिए ।

तर, फ्रान्सेली क्लब पीएसजीसँग एमबाप्पेको बिवाद भने अझै टुंगिएको छैन । पीएसजीबाट आफूले निकै ठुलो रकम पारिश्रमिक पाउन बाँकी रहेको दाबी एमबाप्पेको छ । उनले पटक–पटक क्लब ब्यवस्थापनलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको उनको आरोप छ ।

समाचारपत्र ले मोन्डेका अनुसार, आफ्नो बक्यौता पारिश्रमिक पाउनका लागि एमबाप्पेले कानुनी बाटो अवलम्बन  गर्ने तयारी गरिरहेका छन् । पीएसजीसँग सम्झौता टुंगिएको केही समयपछि एमबाप्पेको बक्यौता पारिश्रमिक बिवाद सतहमा आएको हो ।     

उनले पीएसजी र फ्रान्सेली क्लबको प्रमुख सेयर होल्डर कतार स्पोर्टस इनभेष्टमेन्टविरुद्ध आफ्नो बक्यौता पारिश्रमिक नदिएको आरोप लगाएका हुन् । पीएसजी र आफूबिच भएको लिखित सम्झौताकै आधारमा बाँकी पारिश्रमिक दाबी गरेको एमबाप्पेले बताउँदै आएका छन् ।

एमबाप्पेका अनुसार, पीएसजीले उनलाई पारिश्रमिक वापत पाँच करोड ५० लाख युरो दिन बाँकी छ । यसमा उनले आफूले पाउनु पर्ने बोनस रनक पनि जोडेका छन् । यसअघि गत जुनमा एमबाप्पेले आफ्ना कानुन ब्यवसायिमार्फत क्लबलाई सूचना पनि पठाएका थिए ।

तर, पीएसजीले कुनै वास्ता नगरेको उनको आरोप छ । पीएसजीबाट आफ्नो बक्यौता पारिश्रमिक असुल­–उपर गराउनका लागि एमबाप्पेले फुटबल सम्बन्धी विभिन्न संघ–संस्था र आधिकारी निकायमा पनि उजुरी गरेका छन् । ‘क्लब छाडे पनि आफ्नो बक्यौता पारिश्रमिक त मैले पाउनु पर्छ । सम्झौतामा उल्लेख भए अनुसार नै मैले बाँकी पारिश्रमिकको माग गरेको हुँ,’ एमबाप्पेले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप