नेतृत्व, अध्यात्म र युवा
नेतृत्व भन्नेबित्तिकै हामी कुनै समूह वा वर्गको प्रतिनिधि भएर अग्रसर हुने कामलाई बुझ्छौँ । कुनै सामूहिक काममा सरिक हुनुपर्दा सबैजना सबै ठाउँमा पुग्न सकिँदैन, पुगे पनि बोल्न र गर्न सबैलाई ज्ञान नहुन सक्छ । ज्ञान भए पनि सबैले बोल्ने र गर्ने समय वा अवसर पाइँदैन । त्यसैले व्यवहारमा कसै न कसैले नेतृत्व लिनुपर्ने हुन्छ ।
नेतृत्व गर्ने व्यक्तिसँग केही क्षमता र आत्मविश्वास हुनुपर्छ । जस्तो : यो विषयको मलाई ज्ञान छ । बुझेको कुरा समय सन्दर्भ अनुसार व्यक्त गर्न सक्छु । मैले बताएको कुरा अरूले बुझ्छन् । मेरो भनाइ र गराइमा व्यक्तिगत स्वार्थ छैन । म आफैँ सरिक भएर यो काम गर्छु ।
अब कुरा गरौँ ज्ञानको । ज्ञान के हो भन्नुभन्दा पहिले ज्ञान प्राप्त गर्ने तरिकाको चर्चा गरौँ । सामान्यतयाः ज्ञान हामी निम्न चार तरिकामध्ये एक वा एकभन्दा बढी माध्यमबाट पाउँछौँ अर्थात् ग्रहण गर्छौं । कुनै कुरा हामी पढेर ज्ञान लिन्छौँ । कुनै कुरा सुनेर लिन्छौँ । यसैगरी केही देखेर र केही कुरा भोगेर ज्ञान पाइरहेका हुन्छौँ । पढेका, देखेका, सुनेका कुराको प्रयोगात्मक अभ्यास गर्न बाँकी नै हुन्छ । त्यसैले सबैभन्दा पक्का ज्ञान भोगेर पाइन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ ।
शास्त्रीय वा आध्यात्मिक दृष्टिकोणको कुरा गर्दा सुनेको, देखेको र पढेको कुरालाई सूचना मात्र भनिँदो रहेछ । त्यही देखेका र सुनेका कुरा आफूले प्रयोग गरेर आफ्नो अनुभवमा आएपछि वा सीपको प्रयोग गरेपछि मात्र ज्ञान मानिने रहेछ । यस मानेमा विचार गर्दा— कुनै ठाउँको नक्सा हेरेर जानकारी पाउनु सूचना हो भने त्यहाँ पुगेपछि आफँैले थाहा पाएका कुरा ज्ञान भयो, तर हाम्रो सामान्य व्यवहारमा हेर्दा आफूले बाह्य तवरबाट पाएका सूचनालाई आफ्नै ज्ञान भनिरहेका हुन्छौँ ।
ज्ञान र नेतृत्वको कुरा गर्दैगर्दा यहाँ नेतृत्व, युवा र अध्यात्मलाई जोड्न खोज्दै छु । माथि हामीले नेतृत्व भनेको कुनै समूहका लागि लिइने वा गरिने अग्रसरता हो भन्ने अर्थमा मात्र चर्चा ग¥यौँ । वास्तवमा नेतृत्व भनेको मैले मेरो उज्यालो देखेँ, म अरूलाई पनि उज्यालो देखाउन सक्छु भन्ने भावका साथ अग्रसर हुनु हो । अन्धकारमा पनि उज्यालो खोज्छ नेतृत्वले ।
नेतृत्व गर्ने व्यक्तिसँग केही क्षमता र आत्मविश्वास हुनुपर्छ । जस्तो : यो विषयको मलाई ज्ञान छ । बुझेको कुरा समय सन्दर्भ अनुसार व्यक्त गर्न सक्छु । मैले बताएको कुरा अरूले बुझ्छन् । मेरो भनाइ र गराइमा व्यक्तिगत स्वार्थ छैन । म आफैँ सरिक भएर यो काम गर्छु ।
यसरी हेर्दा सबैभन्दा पहिला आफैँभित्रको क्षमता वा पात्रताको पहिचान गर्नुपर्ने देखियो । समूहको नेतृत्व लिनुभन्दा अगाडि आफैँले आफ्नो नेतृत्व लिइरहेको छु वा छैन भन्ने थाहा हुनुप¥यो । आफ्नो बोली वा कामको दक्षता, स्थिरता र निरन्तरता छ वा छैन, त्यो पहिलो कसी मानिने भयो । सूचनाका आधारमा ज्ञानी वा जानकार मानिनु र ठानिनु भएन । यसरी पहिला आफ्नो नेतृत्व आफूले लिएको हुनुप¥यो । आफ्नै नेतृत्व आफूले लिन नसकेको मान्छेले सामाजिक दायित्व लिन सक्ने देखिँदैन । त्यसका लागि आफ्नो व्यावसायिक क्षमता; सम्बन्ध स्थापनाको तरिका; तन, मन र धनको लगानी र आफ्नो ऊर्जाको स्तर आदिबारे पहिले आफैँलाई थाहा हुनुपर्ने भयो ।
सर्वप्रथम त आफ्नो रोजाइ के हो भनी पहिचान हुनुप¥यो । आफ्नो रोजाइको काम नभए दक्षता आउँदैन र दक्षता नआएपछि जीवन खेल होइन झेल बन्छ । भनिन्छ, रोजाइको कुनै काम गर्दा परिणाम आएपछि मात्र होइन, काम गर्दा नै चाहेको नतिजा आइसकेको भाव उत्पन्न भएको हुनुपर्छ । परिणाम आएपछि मात्र खुसी हुने नभई खुसी भएरै काम गर्नुपर्ने हुन्छ । सफलताले मात्र खुसी दिलाउने होइन, खुसी भएर गरिएको कामले सफलता मिल्छ भनिन्छ । यसका लागि पहिला त व्यक्ति आफैँभित्रबाट जागेको हुनुपर्छ । यसैलाई भनिन्छ, आफ्नो नेतृत्व आफूले लिनु ।
आफैँ जाग्न सक्ने र ऊर्जावान् हुन सक्ने भनेको युवा वर्ग हो । युवाले नेतृत्व लिने हो र त्यसमा पाका व्यक्तिले अभिभावकत्व लिनुपर्छ । युवामा हुने जोस र बुढापाकामा हुने अनुभवलाई समातेर मात्र इतिहासबाट शिक्षा लिन सकिन्छ । ‘बाजेले घिउ खाए, मेरा हातमा बास्ना’ भनेजस्तो ढोंग अहिलेको जमानामा टिक्न सकिँदैन । यस्ता व्यक्तिबाट समूहको वा देशको नेतृत्व लिन त परै जाओस्, आफू नै अर्काको कठपुतली बन्न पुग्ने हुन सक्छ ।
नेपालको अहिलेको नेतृत्व हेर्दा बुढापाका दौडने र युवा वर्ग ताली बजाएर बसिरहेको अवस्था देखिएको छ । त्यस्तै बाजे ढुङ्गा पल्टाउने, नाति होस्टेहैँसे गर्ने भनेजस्तो भएको छ । विज्ञान र प्रविधि कहाँबाट कहाँ पुगिसक्यो । यतिबेला प्रविधिको विकास मन जतिकै छिटो भइसक्यो । आफूले प्रविधिको निर्माण र उन्नयन गर्नु धेरै परको कुरा हो, अर्काले सेभ गरिदिएको नम्बर पनि खोजेर फोन गर्न नसक्ने नेताले प्रविधिको भाषण गरेको सुन्दा युवालाई हाँस्न पनि मन लाग्दैन ।
त्यसैले अब युवा नेतृत्वदायी भूमिकामा अगाडि बढ्नुपर्ने अपरिहार्यता छ । युवालाई अगाडि बढ्न वा बढाउन आजैदेखि स्कुल तहबाटै नैतिक शिक्षा, अध्यात्मको व्यावहारिक ज्ञान र महत्त्व क्रमशः सिकाउँदै जानुपर्ने हुन्छ । अहिले नेपालको राजनीतिक नेतृत्व हेर्दा व्यवस्था फेरिए पनि मान्छे उही छन् । अगाडिबाट कान छाम्नु र पछाडिबाट छाम्नुको फरक देखिएको छैन । मत खसाल्ने ठाउँ फेरियो र केन्द्र थपिए, मतदाता पनि बढे होलान् तर मत लिने मान्छे फेरिएन । व्यवस्था फेरिँदैमा नेता र नेताको हैसियत फेरिने होइन रहेछ भनेर यतिबेला हेरिरहेको छ युवाले ।
त्यसैले देशको विकास गर्नु नै छ भने खोजीखोजी युवालाई देश हाँक्ने जिम्मेवारी सुम्पिनुपर्छ । युवा वर्गका लागि चौतर्फी जागरणका कार्यक्रम तुरुन्तै बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ । नैतिक, सामाजिक, शैक्षिक, वैज्ञानिक आदि जागरणले जगतको ज्ञान दिन्छ र संसार चिनाउँछ । अब युवालाई आध्यात्मिक जागरणको खाँचो छ । आध्यात्मिक जागरणले जीवन र जगतलाई सँगसँगै लैजान्छ । जीवन जिउनुको सार बुझ्छ ।
२०८१ साउन २६ गते ‘जीवन विज्ञान प्रतिष्ठान’ले नेपाल प्रज्ञा–प्रतिष्ठानमा एकदिने राष्ट्रिय युवा नेतृत्व सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको उद्देश्य युवामा आध्यात्मिक जागरण ल्याउनु र आफ्नो पूर्ण क्षमतामा अगाडि बढ्न उत्साह भर्नु रहेको थियो ।
जताततैको स्थापित परिभाषा अनुसार १६ देखि ४० वर्षको उमेर समूहको वर्गलाई युवा भनिन्छ । नेपालको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा उक्त उमेर समूहको जनसंख्या झन्डै ४३ प्रतिशत रहेको छ । उक्त एकदिने सम्मेलनमा एक हजार चार सयभन्दा बढी युवा सहभागी रहेका थिए । युवाहरूको धैर्यता, चाख, उत्साह र उत्सुकताले सुन्दर भविष्यको आशा गर्ने आधार दिएको छ देशलाई । यसको झन्डै आधा अर्थात् करिब २० प्रतिशत जनसङ्ख्या १६–२५ वर्ष उमेर समूहका रहेका छन् । यो समूहमा क्षमता प्रस्फुटित गर्दै स्थिरता र शान्तिका लागि सही मार्गचित्र देखाउन अत्यावश्यक छ ।
अन्त्यमा, यस्ता बृहत् सम्मेलनहरू कुनै संस्थाले कहीँकतै एउटा–दुइटा गरेर ठुलो प्रभाव पार्न सकिने भन्ने होइन । प्रभावकारिता र निरन्तरताका लागि सरकारी स्तरमा युवा तथा खेलकुद मन्त्रालयको मूल दायित्व हुनुपर्छ । कार्यक्रम सञ्चालन गर्न मात्र नेपालमा कार्यरत आध्यात्मिक संस्थाहरूलाई सुम्पिनुपर्छ । यस्ता सम्मेलन हरेक वर्ष कम्तीमा सातै विकास क्षेत्रमा गर्नुपर्ने देखिन्छ ।
युवा परिवर्तनका संवाहक हुन् । युवासँग नयाँ सोच, चेतनाका साथै हक्की स्वभाव रहेको हुन्छ । त्यसैले ऊ आध्यात्मिक हिसाबले पनि जागेको र ऊर्जावान् हुनुपर्छ । आध्यात्मिक हिसाबले जागेको मान्छेमा अहिंसा, सत्यताको भाव हुन्छ; ऊ अध्ययनशील हुन्छ र उसमा अहंकार हुँदैन; सेवाभाव, मधुरवाणी, लक्ष्यमा एकाकार हुनु उसका स्वभाव बन्छन् । क्षमाशीलताजस्ता गुणको विकास हुँदै जान्छ । अनि जन्मन्छ, सही नेतृत्व । त्यसपछि बन्छ समृद्ध नेपाल । अनि बनिन्छ सुखी र खुसी नेपाली ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईका लागि परीक्षा आवेदन फाराम खुला
-
बागमती सरकारले त्यागेकै हो सुरुङमार्ग मोह ?
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते