सोतन्त्र नेपालका तीन कविता
१) मेरा अस्थिर बा
सूर्यको किरणले दन्त माझ्न
हिमाल फिस्स नमुस्कुराउन
र, खोरको भालेले बिहानीको बिगुल फुक्न नपाउँदै
निस्किन्छन् मेरा बा चुनौतीका पथहरूमा
सङ्घर्षका नाङ्गा पाइताला घिसार्दै
मनमा एक अठोट
र, आँखाका अनगिन्ती सपनाहरू बोकेर ।
मेरा बा सिकारी होइनन्
तर पनि लडेका छन् कैयौँपटक
बाघसँग रक्ताम्य हुने गरी ।
मेरा बा
टीभीमा देखिने ठुला–ठुला पाखुरा भएका
पहलमान पनि होइनन्
तर पनि बोकेर पुगेका छन् सहरसम्म
काजीले हल्लाउन समेत नसक्ने भारी ।
मेरा बा सुकिलो लुगा
र, प्राइज ट्याग झुन्डाएको चस्मा लगाउने
मास्टर पनि होइनन्
तर पनि बासँग छ मेरा सबै प्रश्नका उत्तरहरू ।
मेरा बा धामी, वैद्य र डाक्टर केही होइनन्
तर पनि बासँग छ
मेरी आमाको वेदना, पीडा र गुनासोको ओखती ।
मेरा बा अस्थिर छन्
आमाको हरको फरिया
मैले लगाउने
लिभाइसको जिन्स पाइन्ट,
एडिडासको जुत्ता
र बहिनीको स्कुल झोलादेखि
हामीले खाने तिहुनमा पर्ने दुई थोपा चिल्लोसम्म
सबै सबै बाकै उपज हुन् ।
बाको अनेक अस्थिरताले आमा दिक्क हुनुहुन्छ
म पनि त्यही पवनजस्तै अस्थिर
र चट्यानजस्तै अटल बाको शान्त सन्तान
आज जिन्दगीको परीक्षामा परीक्षार्थी हुँदाहुँदै
मेरा अस्थिर बासँगबाट मात्र एउटा आशीर्वाद मागेको छु
कि मेरो यो रातो र तातो रगतभित्रका
अनगिन्ती नीला नसा
र तिनै नसाभित्र सलबलाउने जिनहरूमा पनि आइदियोस्
त्यही अस्थिर स्वभाव
म पनि बन्न सकूँ मेरा सन्तानका लागि
एक अस्थिर बा
ताकि भोलि मेरो छोराले पनि लेख्न सकोस्
एक कविता,
‘मेरा अस्थिर बा’
शीर्षकमा ।
00
२) देशको दशै
कहिले रोकिने हो ?
भञ्ज्याङ, चौतारी अनि देउरालीले
डाको छाडेर रुँदै बाटो छेक्दा पनि
नदेखेजस्तै गरी
नसुनेजस्तै गरी
मुगलान पस्ने सिलसिला ?
कहिले निषेधित गरिने हो ?
पसिना र खुन बगाउन
मुगलान लैजान आउने जहाजहरूलाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ?
कहिले अन्त्य हुने हो ?
सपना र रहरहरूलाई
रियाल र दिरामका लागि
बलि दिने प्रथा ?
कहिलेसम्म अनुत्तरित हुने हो ?
ताते–ताते गर्दै बल्ल भुईं छुन खोजेका लालाबालाको
बाबा कहिले आउनुहुन्छ
भन्ने प्रश्न ?
कहिलेसम्म नाफामा जाने हुन्
रातो बाकस बनाउने कम्पनीहरू ?
कहिलेसम्म लगाउनुपर्ने हो ?
दैलोमाथिको तस्बिरले रातो टीका
र, कहिलेसम्म बोटमै ओइलाउनु हुनुपर्ने हो
सयपत्री फूलहरू ?
ए सरकार !
रेमिटेन्स पायौ, पाएनौ पछि बताउनू
तर, अहिले यति बताइदेऊ,
मेरो देशले दसैँ कहिले मनाउँछ ?
00
३) मेरो देशको लालपुर्जा
आमाको चित्कारले
केही दिनयता म सुत्न सकेको छैन ।
बाझको सुस्केरासँगै कामेको छ मुटु
हिजो मात्र सपनीमा बुद्ध आएका थिए
नयनभरि आँसु लिएर
सीता र भृकुटीले सुरक्षित स्थान खोज्दै छन् ।
डुबानमा छ– नाम्चे बजार
सगरमाथाको आँसुले
डाँफे घाइते छ पखेटा गुमाएर
फिक्का फिक्का छ– सिम्रिक
तेजिलो छैन– चन्द्र
न्यानो छैन– सूर्य
कोशी, कर्णाली र महाकाली त्रसित छन्– बग्न ।
पूर्व, पश्चिम र दक्षिणतिर
लिलामीमा छ मेरो राष्ट्रियता
त्यसैले माइती नेपाल
सिमाना पार गर्ने
नेपाली चेलीको अनुसन्धानसँगै
चेक जाँच पनि गर्नु
सिमाना पार गर्न लागेका नेताका झोला
भेटिन सक्छन्, ती झोलाभित्र
मेरो देशको नक्सा
र लालपुर्जा ।
000
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’