शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

महिला टी–२० विश्वकप बंगलादेशबाट यूएई सारियो

बुधबार, ०५ भदौ २०८१, ०९ : ३२
बुधबार, ०५ भदौ २०८१

काठमाडौँ । सन् २०२४ को टी–२० विश्वकप बंगलादेशबाट सारेर यूएईमा आयोजना हुने भएको छ । आईसीसीका प्रमुख कार्यकारी अधिकृत जेअफ आलर्डाइसले यो कुराको पुष्टि गरेका हुन् ।

एक वक्तव्य जारी गर्दै आलर्डाइसले टी–२० विश्वकप बंगलादेशमा आयोजना नहुनु लज्जाको विषय भएको बताउँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले प्रतियोगितालाई अविस्मरणीय रूपमा आयोजना गर्ने थियो भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । 

‘बंगलादेशमा नै प्रतियोगिता आयोजना गर्नका लागि बीसीबीले गरेको प्रयासका लागि त्यहाँको टोलीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘तर, सहभागी टोलीका सरकारले जारी गरेको ट्राभल एड्भाइजरीका कारण यो सम्भव हुन सकेन ।’

उनले बंगलादेशको  प्रतियोगिता आयोजनाको अधिकार भने कायम रहेको स्पष्ट पार्दै निकट भविष्यमा त्यहाँ आईसीसीको वैश्विक प्रतियोगिता आयोजना हुनेमा आशा व्यक्त गरे ।

बंगलादेशमा जारी राजनीतिक उथलपुथलका कारण त्यहाँबाट प्रतियोगिता अन्यत्र सार्न आईसीसी बाध्य भएको हो । बंगलादेश सरकारले संयुक्त राष्ट्रसंघमार्फत प्रतियोगिता आयोजना गर्न अन्तिम प्रयास गरे पनि अस्ट्रेलिया, भारत, न्युजिल्याण्ड, बेलायत र स्कटल्यान्डले आफ्ना नागरिकहरूलाई त्यहाँ नजान ट्राभल एडभाइजरी जारी गरेका कारण यो सम्भव हुन सकेन ।

यसअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव अस्वीकार गरेको थियो । त्यसपछि यूएई, श्रीलंका र जिम्बाव्वेलाई सम्भावित आयोजकका रूपमा हेरिएको थियो । १० वटा टोली सहभागी हुने यो प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म आयोजना हुनेछ ।
ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप