फोडेन बने पीएफए वर्ष खेलाडी, पाल्मर उत्कृष्ट युवा खेलाडी
लण्डन । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । उनीसँगै चेल्सीका विंगर कोल पाल्मर वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् ।
सन् २००९–१० सिजन यता यो दुवै अवार्ड इंग्लिस खेलाडीले जितेको यो पहिलो अवसर हो । सो सिजनमा वेयन रुनीले उत्कृष्ट खेलाडी र जेम्स मिल्नरले युवा खेलाडीको अवार्ड हात पारेका थिए ।
फोडेनले गत सिजन ३५ खेलमा १९ गोल गरेका थिए । सन् २०२३–२४ सिजनमा सिटीले ऐतिहासिक लगातार चौथो प्रिमियर लिगको उपाधि जितेको थियो । मात्र २३ वर्षका उनी ६ वटा प्रिमियर लिग जित्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन् ।
फोडेनले गत वर्षको विजेता तथा सहकर्मी अर्लिङ हालान्ड र रोड्री, चेल्सीका पाल्मर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाट्किन्सलाई पछि पार्दै उपाधि हात पार्न सफल भए ।
उता, युवा खेलाडी घोषित भएका २२ वर्षीय पाल्मरले गत सिजन चेल्सीका लागि ३४ खेलमा खेलमा २२ गोल गरेका थिए । उनी युरो २०२४ मा इंग्ल्याण्डको टोलीमा पनि छनोट भएका थिए ।
चेल्सीका फरवार्डले यो उपाधिका लागि आर्सनलका बुकायो साका, म्यान्चेस्टर युनाइटेडका कोबी माइनो र एलेहान्द्रो ग्रानाचो, क्रिस्टल प्यालेसका पूर्वखेलाडी मिकेल ओलिसे र ब्राइटनका जोआओ पेड्रोलाई उछिनेका थिए ।
महिलामा म्यानचेस्टर सिटीकी खादिजा श उत्कृष्ट खेलाडी बनिन् भने म्यानचेस्टर युनाइटेडकी ग्रेस क्लिन्टन उत्कृष्ट युवा खेलाडी घोषित भइन् ।
यस्तो छ पीएफए वर्ष टोली :
गोलकिपर
डेभिड राया, आर्सनल
डिफेन्डर
विलियम सालिबा, आर्सनल
भर्जिन भान डाइक, लिभरपुल
ग्याब्रियल, आर्सनल
कायल वाकर, म्यानचेस्टर सिटी
मिडफिल्डर
रोड्री, म्यानचेस्टर सिटी
डेक्लन राइस, आर्सनल
मार्टिन ओडेगार्ड, आर्सनल
फरवार्ड
अर्लिङ हालान्ड, म्यानचेस्टर सिटी
फिल फोडेन, म्यानचेस्टर सिटी
ओली वाट्किन्स, एस्टन भिल्ला