रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने भएको छ । केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय भएको पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
२०७९ को स्थानीय तह निर्वाचन पश्चात् रास्वपा स्थापना भएको हो । सोही वर्ष भएको केन्द्रीय निर्वाचन बाहेक रास्वपाले प्रदेश संरचनामा पनि चुनाव लडेन । यस हिसाबले प्रतिनिधिसभामा बाहेक अन्य दुई तहको संरचनामा रास्वपा प्रतिनिधिविहीन छ । यस्तो अवस्थामा आसन्न स्थानीय तह निर्वाचन लड्ने कि नलड्ने भनेर पार्टीले रणनीतिक छलफल केन्द्रीय समितिबाट अघि बढाउने तयारी भएको बुर्लाकोटीले रातोपाटीलाई बताए ।
‘मूलतः रणनीति तय गर्ने विषय नै हो । पार्टीले चुनावमा कसरी भाग लिने वा नलिने‚ उम्मेदवार के गर्ने भन्ने विषयमा छलफल हुन्छ‚’ बुर्लाकोटीले भने‚ ‘अघिल्लो बैठकमा नै छलफल गर्नुपर्ने थियो । तर‚ समय अभावका कारण सम्भव भएन । आजको बैठकमा समग्र विषयमा छलफल हुन्छ ।’
निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा ठिक हुने प्रस्ताव सरकारसमक्ष गरेको छ । आयोगले उपनिर्वाचनलाई ध्यानमा राखेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन साउन २९ गते सूचना जारी गर्दै सार्वजनिक आह्वान गरिसकेको छ । आयोगका अनुसार ३५ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता, तस्बिरहरू
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू
-
ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध
-
कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड