बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मधेसको शैक्षिक विकासमा राज्य गैरजिम्मेवार भयो, अब सबै विद्यालय बन्द गर्छौँ : प्रभु साह

मङ्गलबार, ०४ भदौ २०८१, २१ : ४५
मङ्गलबार, ०४ भदौ २०८१

रौतहट ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरू बन्द गर्ने चेतावनी दिएका छन् । 

रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् । विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भीर नभएको उनले बताए । 

‘मधेसको विद्यालयमा विद्यार्थीको चाप बढी छ । तर विद्यार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरेको छैन । विद्यार्थीको अनुपातमा यहाँ विषयगत र तहगत शिक्षकको व्यवस्था गराउन सरकारको हामीले पटक पटक ध्यानाकर्षण गरायौँ तर सरकार गम्भीर छैन’ आजपा अध्यक्ष साहले भने, ‘अब यस्तै हुने र यसैगरी चल्ने अवस्था भएन । हामी चुप लागेर बस्दैनौँ । सरकारले यथासिघ्र विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिन्छौँ ।’ 

मधेसवादी दलका नेताहरू लुटतन्त्रको व्यापारमा लागेको र सिंहदरबारले मधेसलाई समृद्ध बनाउन नचाहेको बताउँदै साहले अब शैक्षिक आम हडतालको विकल्प नभएको बताए । 

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बराबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रूपमा निर्धारण गरिएको उनको भनाइ छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले नगरेको उनले बताए । 

मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै रौतहटको मौलापुरकी मेयर रिना कुमारी साहले केही समय पहिला शिक्षा मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएकी थिइन् । सिंहदरबारमै पुगेर मेयर साहले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदा समेत अहिले सम्म मन्त्रालयले केही नगरेको आजपा केन्द्रीय सदस्य डा. हेमप्रसाद साह बताए । 

आजपाको स्थानीय नेता सैतूलाहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पूर्वसांसद  सामिना हुसेन, महासचिव त्रिभुवन साह, स्थायी कमिटी सदस्यहरू लालबाबु मन्सुरी, नरेश तुराहा, चन्देश्वर बैठा, लखिन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप