शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ०४ भदौ २०८१, २२ : ००
मङ्गलबार, ०४ भदौ २०८१

आज मिति २०८१ साल भदौ महिनाको ४ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • बीमा कम्पनीलाई पुँजी 

नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले २०७८ चैत १० गते एक सर्कुलर जारी गर्यो, ‘२०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनू ।’ 

  • एमालेको ११ औँ महाधिवेशन

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन २०८४ को आम निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा अन्योल देखिएको छ । एमाले विधानअनुसार ५ वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।

  • हेटौँडा कपडा उद्योग

हरेक वर्ष सरकारको बजेट भाषणमा हेटौँडा कपडा उद्योग सञ्चालनको विषयले महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ । खण्डहर बनेको कपडा उद्योग सञ्चालन गर्ने भन्दै हरेक वर्ष सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ राखिन्छ । 

  • अर्थतन्त्र सुधारका कार्ययोजना

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सय दिने कार्ययोजना तयार गरेका छन् । नीतिगत सुधारमार्फत अर्थतन्त्रको विकास र विस्तारमा योगदान दिन मन्त्री पौडेलले ३० नयाँ काम गर्ने कार्ययोजना बनाएका हुन् ।  आगामी एकसय दिनमा गर्ने काम र त्यसले अर्थतन्त्रमा दिने परिणाम सहितको खाका अर्थ मन्त्रालयले तय गरेको छ ।

  •  सामाजिक सुरक्षा कोष कार्यविधि

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन प्रक्रिया अगाडि बढाएको छ । ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५’ संशोधन गर्न लागिएको हो ।

  • महामन्त्रीद्वयको प्रस्तावले तरंग

 महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित छ । गगनको चुनावी गठबन्धन गर्न नहुने  र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्नेबारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको छ । साउन २८ गते बसेर स्थगित भएको कांग्रेस बैठक भदौ ७ गते बस्दैछ ।

  • आरजुलाई  ‘रेड कार्पेट’  

रराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ । चर्चा यसकारण कि परराष्ट्रमन्त्री राणा देउवालाई भारतीय प्रधानमन्त्री मोदीले कसरी सहजै भेट दिए ? किनभने यसअघि यति सजिलै नेपालका कुनैपनि परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई सायदै भेटेका थिएनन् ।

  • गैरसरकारी विधेयक

मानव शरीर जलनको पीडा भोगेकाहरूलाई शिक्षा‚ योग्यताको अनुसारको रोजगारी तथा जलन बीमाको व्यवस्था गर्नुभन्दै गैरसरकारी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । दर्ता भएको विधेयक अनुसार जलन पीडितका लागि राहतक कोषको स्थापना गर्ने र उक्त कोषमा नेपाल सरकारबाट वार्षिक रूपमा दश करोड रुपैयाँ अनिवार्य गरिने प्रावधान रहेको छ ।

  • एकीकृत समाजवादीमा अन्योल

नेकपा (एकीकृत समाजवादी)को पूर्ण केन्द्रीय कमिटीको पहिलो बैठक भदौ ९ देखि ११ गतेसम्म बस्दैछ । शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका ३ वटा एजेन्डा तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

  • गाईजात्रा

 प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप