बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

खोकनामा रुद्रायणी जात्रा सुरु

मङ्गलबार, ०४ भदौ २०८१, १७ : ४७
मङ्गलबार, ०४ भदौ २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरु भएको छ ।

खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन (सोमबार) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ । यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरुमा दर्शन र पूजाका लागि ल्याइन्छ । पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भएपनि यसलाई छोट्याएर अहिले ३ दिनमा सारिएको हो । यस समयको पूजालाई नेवारी समुदायले ‘घँज्या’ भन्दछन् । यस्तै भोलि फर्सी र काँक्रोको पूजा गर्दै यो जात्रा समापन गरिन्छ । खोकनाको रुद्रायणीको जात्रा कृषिसँग जोडिएको स्थानीयको मत रहेको छ । ‘सी’ भनेको फलफूल र ‘काली’ भनेको फल्ने ठाउँ भएर काठमाडौँ उपत्यका आफैँ सिकाली रहेको भनिन्छ । यो जात्रामा विशेष गरी फलफूल दान गर्ने चलन छ ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै स्थानीय उदयकुमार डंगोलले रुद्रायणी मन्दिरमा रहेका देवताहरूलाई खटमा निकालेर सिकाली चौरमा पुर्‍याइ पुजाआजा गरी रुद्रायणी जात्रा मनाउने गरिएको बताए । उनले सिकाली चौरमा पुर्‍याएर विधिपूर्वक देवताहरुको पूजाआजा गरेपछि देवताहरूलाई पुनः रुद्रायणी मन्दिरमा फिर्ता ल्याइन्छ र फिर्ता ल्याउने पनि आफ्नै विधिसम्मत तरिका रहेको बताए । उनकाअनुसार देवतालाई खटमा बसाएर बाजागाजासहित नाचगान गर्दै ल्याएर पुनः रुद्रायणी मन्दिरमै देवतालाई पुनःस्थापित गरिन्छ । पुजाआजा सम्पन्न भएपश्चात् मन्दिरमा भोज गरिन्छ । राति डबलीमा गएर जात्रा गर्ने परम्परा रहँदै आएको छ । उनले खोकनामा गाइजात्रा भने भोलि मात्रै मनाइने बताए । भोलि मृतकको परिवारबाट एक वर्षभित्र साफर जाने भनी कार्यक्रम गरिने र भोलि पनि देवगणहरुको विशेष पूजासहित भोजन हुने उनको भनाई छ ।

स्थानीय ईश्वर डंगोलले हिजो क्वाँटी खाने दिनमा भ्यागुतालाई भात खुवाउने चलन रहेको बताइन् । भ्यागुतालाई खुवाएर राखिराखेको भागबाट आज बेलुका औजारहरु पूजा प्रचलन रहेको पनि उनले जानकारी दिइन् । उनले कुनै घरको परिवारका सदस्यको निधन भएको छ भने सो परिवारले दान गर्ने चलन रहेको बताइन् ।

खोकनाका नेवारी समुदायले रुद्रायणीको जात्रालाई निकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । परम्परा जोगाउनका लागि पछिल्लो पुस्ताहरूको पनि उत्तिकै साथ रहेको स्थानीयले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप