आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

उपत्यकाका नदीहरूमा बाह्रै महिना पानीको बहाव बढाउन बोरिङ गर्न सुझाव

मङ्गलबार, ०४ भदौ २०८१, १६ : १७
मङ्गलबार, ०४ भदौ २०८१

काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीहरुमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन् । 

उपप्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै बाग्मती, विष्णुमतीलगायतका नदीहरूमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालिक र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन् । 

सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीहरूलाई पुनर्जीवन दिने, काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा  राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफललाई तीव्रता दिएका छन् । 

‘नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिइरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ कि भनेर केही  स्थानमा बोरिङ गरेर भएपनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ कि भनेर सोचिरहेका छौँ’ उपप्रधानमन्त्री सिंहले भने, ‘यसमा विज्ञहरूको राम्रा सुझावहरू आएका छन् । आगामी दिनमा पनि तपाईंहरुसँग बसेर अरू कार्यक्रमहरू के–के गर्न सकिन्छ गरौँला ।’

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्ने लगायतका विषयमा विज्ञहरूसँग राय लिइएको बताए । सो क्रममा विज्ञहरूले सुख्खा याममा काठमाडाैँका नदीहरूमा जलप्रवाह बढाउनका लागि प्राविधिक सम्भाव्यताका बारेमा आ–आफ्नो राय राखेका छन् । केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा राखेका छन् भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने तर्क गरेका छन् । 

पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने लगायतका विषयमा विज्ञहरूसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताए ।  ‘अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्ने बारे सोचौँ । नदी सफाइ, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा नागरिकलाई पनि सहभागी गराउनुपर्छ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप