बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

सेयर बजारसँगै सेयर धितो कर्जाको ग्राफ उकालो लाग्यो, कर्जा मागमा १८ प्रतिशतको वृद्धि

मङ्गलबार, ०४ भदौ २०८१, १५ : ५६
मङ्गलबार, ०४ भदौ २०८१

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेको ग्राफ उकालो लागिरहेको बेला मार्जिन प्रकृतिको सेयर धितो कर्जाको ग्राफ समेत उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म सेयर धितोकर्जामा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८.०६ प्रतिशतले बढी हो ।

२०८० असार मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा कूल ७६ अर्ब ३० करोड ८६ लाख रुपैयाँ प्रवाह भएको थियो ।

समीक्षा अवधिमा कूल प्रवाहित कर्जामध्ये सबैभन्दा बढी १ करोड रुपैयाँ भन्दा माथिको सेग्मेन्टमा ५५ अर्ब ९३ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ भने ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जामा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । यो दुई सेग्मेन्टमा क्रमशः २५.१ प्रतिशत र ५.५ प्रतिशत कर्जा मागमा वृद्धि आएको हो ।

अघिल्लो वर्ष १ करोडमाथिको मागमा बैंकहरुले ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ र १ करोडभन्दा तल ५० लाख रुपैयाँभन्दामाथिको मागमा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ लगानी गरेका थिए ।

यसैगरी समीक्षा अवधिमा २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख तलको कर्जामा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ लगानी भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यो दुई सेग्मेन्टमा क्रमशः १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ र ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ लगानी भएको थियो ।

खासगरी मौद्रिक नीतिले यसअघिको ४/१२ अर्थात् एक व्यक्ति वा संस्थागत लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र सबै बैंक तथा वित्तीय संस्थाहरुबाट गरी १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था परिमार्जन गरेसँगै कर्जा मागमा उत्साह आएको हो । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाले सेयर धितोकर्जाको ४/१२ को व्यवस्था परिमार्जन गर्दै व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोडसम्म सीमा वृद्धि गरिदिएको थियो ।

यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले संस्थागततर्फको २० करोडको सीमा समेत खारेज गरिदिएको छ । यसले नेप्से सूचक बढिरहेको अवस्थामा कर्जा मागमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । करिब २१ सय विन्दुमा रहेको नेप्से सूचक मौद्रिक नीतिपछि ३० हजार विन्दुमा उक्लिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप