अस्ट्रेलियन क्रिकेट स्टार स्टिभन स्मिथको ओलम्पिक खेल्ने चाहना
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान स्टिभन स्मिथले आफू अझ लामो समय खेल जीवनमा सक्रिय रहने बताएका छन् । उमेरले ३५ वर्ष पुगिसकेका स्मिथले सक्रिय खेल जीवनबाट सन्न्यास लिने कुनै योजना नरहेको प्रतिक्रिया पनि दिएका छन् ।
खासगरी उनले टी–२० क्रिकेट आफ्नो सबैभन्दा मन पर्ने ढाँचा भएको पनि बताएका छन् । गृष्मकालीन ओलम्पिक खेलकुदको ३४औँ संस्करण सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुँदैछ । त्यो ओलम्पिकमा टी–२० ढाँचाको क्रिकेट पनि समावेश गरिने बताइएको छ ।
अस्ट्रेलियन टोलीका यी अलराउन्डरले आफू लस एन्जल्स ओलम्पिक खेल्न पनि इच्छुक रहेको प्रतिक्रिया दिएका छन् । ‘तत्काल सन्न्यास लिने कुनै योजना छैन । मेरो सबैभन्दा मन पर्ने ढाँचा टी–२० हो । सम्भवतः म सन् २०२८ को लस एन्जल्स ओलम्पिक पनि खेल्नेछु,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् ।
स्मिथले भर्खरै फ्रेन्चाइज प्रतियोगिता बिग बास लिगका लागि सिडनी सिक्सर्ससँग तीन वर्षका लागि सम्झौता गरेका छन् । यसको अर्थ उनी कम्तीमा पनि सन् २०२६–२७ सिजनसम्म ब्यवसायिक खेल जीवनमा सक्रिय रहने छन् ।
‘म कम्तीमा पनि अझै चार वर्ष टी–२० क्रिकेट खेल्छु । अन्य ढाँचाको क्रिकेटबाट सन्न्यास लिए पनि यो ढाँचामा म सक्रिय रहने छु । त्यसैले यस अवधिमा पर्ने हरेक प्रतियोगितामा मेरो सहभागिता रहने छ । मेरो विचारमा लस एन्जल्स ओलम्पिक पनि यही अवधिमा पर्छ,’ उनले भनेका छन् ।
उनले अस्ट्रेलियाका लागि तीन वटै ढाँचाको क्रिकेट खेलिसकेका छन् । उनले एक सय नौ टेस्टमा कुल नौ हजार ६ सय ८५ रन बनाइसकेका छन् । टेस्टमा उनले ३२ शतक र ४१ वटा अर्धसतक प्रहार गरेका छन् ।
यसैगरी, उनले एक सय ५८ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल पाँच हजार चार सय ४६ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले १२ शतक र ३३ वटा अर्धशतक हिर्काएका छन् । यसका अतिरिक्त उनले ६७ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल एक हजार ९४ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले पाँचवटा अर्धशतक बनाएका छन् ।
प्रभावशाली ब्याट्सम्यानका अतिरिक्त उनी कुशल स्पिनर पनि हुन् । उनले टेस्टमा १९, एकदिवसीय अन्तर्राष्ट्रियमा २८ र टी–२० अन्तर्राष्ट्रियमा १७ वटा विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे