एकीकृत समाजवादीमा अन्योल : पदाधिकारी चयनमा मतदान कि सर्वसम्मत ?
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को पूर्ण केन्द्रीय कमिटीको पहिलो बैठक भदौ ९ देखि ११ गतेसम्म बस्दैछ । शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका ३ वटा एजेन्डा तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार ३ सय ४४ जना केन्द्रीय सदस्य सहभागी हुने बैठकको पहिलो दिन २ सय ५१ जना केन्द्रीय सदस्यले शपथ लिनेछन् । यसअघि असार २१ गते ९३ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
बाँकी केन्द्रीय सदस्यहरूले शपथ लिएपछि २१ मध्ये १८ जना केन्द्रीय पदाधिकारी चयनको प्रक्रिया सुरु गर्ने सो पार्टीका नेताहरूले बताएका छन् । अध्यक्ष माधव, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक वरिष्ठ उपाध्यक्ष ७, उपमहासचिव ४ र सचिव ७ गरी १८ जना पदाधिकारी चयन गर्न बाँकी रहेको छ ।
नेता राजेन्द्र पाण्डे केन्द्रीय सदस्यहरूबिच मतदान गरेर पदाधिकारीहरू छनोट गर्नु उपयुक्त हुने धारणा राख्छन् ।
केन्द्रीय सदस्य चयनको प्रक्रियामा व्यापक असन्तुष्टि रहेको सो पार्टीमा केन्द्रीय पदाधिकारीका सवालमा समेत नेतृत्वले आफूखुसी गर्न लागेको भन्दै नेताहरू थप असन्तुष्ट बनेका छन् । केन्द्रीय समिति बैठक आह्वान गरे पनि अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी चयनको मोडलबारे केही बताएका छैनन् । महाधिवेशनले सर्वसम्मत नेतृत्व छनोटका लागि म्यान्डेट दिएकाले अध्यक्ष नेपाल सोही अनुसार अघि बढ्न चाहेको उनी निकट नेताहरूको भनाइ छ ।
तर पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सहमति जुटाउन अध्यक्ष नेपाललाई समेत कठिन भइरहेकाले निर्णय गर्न ढिलाइ भएको नेताहरूको बुझाई छ । कतिपय नेताहरूले नेता नेपाललाई भेटेर मतदानमार्फत पदाधिकारी चयन गर्न सुझाव नै दिएको बताएका छन् ।
नेता राजेन्द्र पाण्डे केन्द्रीय सदस्यहरूबिच मतदान गरेर पदाधिकारीहरू छनोट गर्नु उपयुक्त हुने धारणा राख्छन् । ‘आकाङ्क्षी धेरै देखिन्छन् । यस्तोमा मतदान गराइदिए जित्ने र हार्ने दुवै खुसी हुन्छन्,’ पाण्डेले रातोपाटीसँग भने, ‘नेतृत्वले कसैलाई काखी च्याप्यो भन्ने आरोप पनि खेप्नु नपर्ने हुँदा मतदानकै प्रक्रियाबाट अघि बढ्नु उपयुक्त हुने मेरो सुझाव छ ।’
‘उपाध्यक्ष, उपमहासचिव र सचिव १८ पदका लागि झण्डै ८० जनजातिले आकाङ्क्षा देखाएका छन् । यस्तोमा कसलाई पद दिने कसलाई नदिने समस्या देखिन्छ,’ अर्का केन्द्रीय सदस्यले भने,‘ केन्द्रीय सदस्य नेताहरूको भागबण्डामा मनोनीत गरिएकाले पदाधिकारीमा त्यसै गर्ने हुन् कि भन्ने लाग्छ ।’
सम्मानित नेता झलनाथ खनालले पदाधिकारी चयनबारे पार्टीमा अहिलेसम्म कुनै छलफल नभएको बताए । ‘सहमति गर्ने भए छलफल गरेर गरिसक्नुपर्ने हो तर अहिलेसम्म त्यसबारे कुनै छलफल भएको छैन,’ नेता खनालले भने, ‘महाधिवेशनले सहमतिको म्यान्डेट दिएको छ । त्यसरी नै सबै केन्द्रीय संरचनाहरू निर्माण गर्नुपर्छ । त्यो भन्दा अर्को ढङ्गले जानु हुँदै हुँदैन ।’
अर्का नेता जीवनराम श्रेष्ठले पदाधिकारी चयन प्रक्रिया के अपनाउने भन्नेबारे छलफलकै क्रममा रहेको भन्दै टुङ्गिन बाँकी रहेको बताए । ‘चुनाव कि मतदान भन्नेबारे टुङ्गिइसकेको छैन, आन्तरिक छलफलकै क्रममा छ,’ उनले भने, ‘ठोस निर्णयमा पुगिएको अवस्था छैन ।’
केन्द्रीय सदस्य दिलु पन्तले पुराना पदाधिकारीहरू सर्वसम्मत सोही पदमा दोहोरिन चाहेको र नयाँ केन्द्रीय सदस्यहरू मतदानमार्फत अघि बढ्न खोजेको आफूले पाएको बताउँछिन् । ‘पुरानाहरू सर्वसम्मत पदाधिकारी चयन हुनुपर्छ भन्ने पक्षमा रहेको जस्तो बुझिन्छ तर नयाँले मतदान खोजेको देखिन्छ,’ पन्तको बुझाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
-
जीडीपी राष्ट्रवाद
-
अस्ट्रेलियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
-
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
बंगलादेशले स्कटल्यान्डलाई हरायो, अस्ट्रेलियाविरुद्धको खेलअघि नेपाललाई थोरै राहत
-
राजधानीको भोटेबहालबाट धनमाल चोरी भएको घटनामा चार जना पक्राउ