सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

बोरिङ जडानका लागि उपभोक्ताबाट रकम असुली

मङ्गलबार, ०४ भदौ २०८१, १४ : ०८
मङ्गलबार, ०४ भदौ २०८१

सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा खानेपानी तथा सिंचाइ बोरिङ जडानका लागि उपभोक्ताबाट रकम असुली भएको पाइएको छ।  

धनगढीमाई नगरपालिका ११ का वडा अध्यक्ष अशोक श्रेष्ठले प्रति बोरिङ ३० देखि ४० हजारसम्म रुपैयाँ उठाएको उपभोक्ताहरूले आरोप लगाएका छन् ।  

धनगढीमाई ११ की उपभोक्ता उषा महतो, समिता मगरसहितका ६ घर परिवारले ७ हजारको दरले रकम उठाएर वडा अध्यक्ष अशोक श्रेष्ठको निर्देशनमा स्थानीय पवन महतोलाई ४० हजार रुपैयाँ बुझाएको बताएका छन् ।  उनीहरूले भने, ‘पैसा जम्मा नगरेसम्म बोरिङ नदिने भनेपछि हामीले ७ हजारका दरले उठाएर ४० हजार पवन भाइ (महतो) लाई दियौँ । त्यसमध्ये १० हजार फिर्ता दिने भनेको छ। तर अझै फिर्ता भएको छैन ।’

सोही वडाका सिङ्गेश्वर ठाकुर र धुर्निदेवी महतोबाट पनि ३०/३०  हजार रुपैयाँ उठाएको पाइएको छ ।  वडा अध्यक्ष श्रेष्ठले पैसा नबुझाएसम्म बोरिङ नदिने भनेपछि बाध्य भएर रकम बुझाएको ठाकुरले बताए । 

यस वडामामात्र हैन वडा नम्बर ८ का उपभोक्ता उपेन्द्र महतोबाट पनि रकम असुल भएको पाइएको  छ । रकम असुली मात्र हैन, समिति निर्माण पनि अपादर्शी ढङ्गले गठन भएको स्थानीयहरूले बताएका छन् ।  

सबैभन्दा बढी बोरिङ जडान लक्ष्मी यादव नेतृत्वको समितिले गरेको जनाइएको छ ।  समितिका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी भएको खुलेको छ ।  अनियमितता गर्न सजिलो पार्नकै लागि नियम मिचेर कर्मचारीलाई अध्यक्ष बनाएको स्थानीयको भनाइ छ । 

योजनाको सचिवमा सूर्यनारायण महतोको नाम छ। तर, उनले आफू उपभोक्ता समितिमा रहेको जानकारी नै नभएको बताए ।  तपाईँ बोरिङ र मोटर जडान उपभोक्ता समितिको सचिव हो? भनी सोध्दा उनले आफू कुनै समितिमा बसेको जानकारी नभएको बताए। उनले भने, ‘म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भन्छु ।’

यस सम्बन्धमा बुझ्न ११ नम्बर वडा अध्यक्ष श्रेष्ठले आफूले कुनै रकम नलिएको दाबी गरे। उनले भने, ‘मैले पछि काम लाग्छ भनेर उठाउन भनेको थिएँ, तर त्यो पैसा मैले लिइनँ । अरू के भयो थाहा भएन।’

पवन महतोले भने आफू यस प्रक्रियामा कतै नजोडिएको सुरु जिकिर गरे ।  तर पछि उनले पाइप लाइन गर्न र पछि धाराहरू जडान गर्नका लागि भनेर पैसा उठाएको स्विकार्दै सो रकम सुरक्षित रहेको बताए। 

पैसा उठाएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दाससँग आफूकहाँ पनि यस्तो कुरा आएको बताए। उनले भने, ‘मकहाँ पनि यो कुरा आइरहेको थियो। मैले आफैले पनि खोजीनिती गरिरहेको छु। कुनै पनि उपभोक्तासँग रकम लिएको भन्ने पुष्टि भए रकम लिनेलाई कारबाही गर्छु ।’

प्रमुख दासले समयमा काम सम्पन्न नभएकोले यो योजनाहरूको भुक्तानी समेत नभएको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप