मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
सन्दर्भ : गाईजात्रा

हास्यव्यङ्ग्य गाईजात्राको इतिहास र वर्तमान

मङ्गलबार, ०४ भदौ २०८१, १३ : ५०
मङ्गलबार, ०४ भदौ २०८१

छोराको निधनपछि शोकमा डुबेकी आफ्नी रानीलाई खुसी पार्न राजा प्रताप मल्लले अनेक जुक्ति लगाए । केही सीप नलागेपछि जसको घरमा मान्छे बितेका छन्, उनीहरूलाई रङ्गीचङ्गी कपडा लगाई गाई समेत लिएर जात्रामा निस्कन आदेश दिए । त्यस बेलादेखि गाईजात्रा मनाउन थालिएको हो । 

दुःख बिर्साउनका लागि सुरु भएको सबैभन्दा पुरानो पर्व हो, गाईजात्रा ।  

भाद्रकृष्ण प्रतिपदामा विगतका वर्षमा दिवंगत भएकाको सम्झनामा दुःख बिर्साउन रमाइलो गरेर मनाइने यो जात्रा हास्यव्यङ्ग्य कलाकारको सबैभन्दा ठुलो पर्व हो ।

छोराको निधनपछि शोकमा डुबेकी आफ्नी रानीलाई खुसी पार्न राजा प्रताप मल्लले अनेक जुक्ति लगाए । केही सीप नलागेपछि जसको घरमा मान्छे बितेका छन्, उनीहरूलाई रङ्गीचङ्गी कपडा लगाई गाई समेत लिएर जात्रामा निस्कन आदेश दिए । त्यस बेलादेखि गाईजात्रा मनाउन थालिएको हो । 

प्रताप मल्लका पालामा पाटनको डबलीमा देखाइने कात्तिके नाच पनि निकै प्रसिद्ध छ ।  प्रताप मल्लको समयदेखि चलिआएको गाईजात्रालाई हास्यव्यङ्ग्यको रमाइलो गर्ने चाडका रूपमा मनाउन थालिएको हो । 

राजा वीरेन्द्रका समयमा २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बर्सेनि एक हप्ता गाईजात्रा महोत्सवका रूपमा प्रारम्भ हुन थाल्यो । 

यो कार्यक्रम आउनुअघि हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको कलियुग पत्रिका र उनका लेखन–प्रकाशनले दरबारमा प्रभाव पारेको थियो । त्यस बखतका उनका गुरु दरबारका सचिवले राजाको स्वीकृतिमा प्रज्ञा प्रतिष्ठानमार्फत यस कार्यक्रमलाई सार्वजनिक रूपमा ल्याउन लगाएको कुरा त्यस बेलाका प्रज्ञाका सचिव सत्यमोहन जोशीले बेलाबखत आफ्नो प्रवचनमा उल्लेख गरेका थिए । 

२०४६ सालमा बहुदल आएसँगै महोत्सव बन्द भयो । त्यसपछि वरिष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले ‘हास्यव्यङ्ग्य समाज नेपाल (हासने) गठन गरे र हास्यव्यङ्ग्य महोत्सवलाई निरन्तरता दिए । 

456143349_8030365883706721_5173954925769930785_n (1)राजा महेन्द्रको समयमा पनि नाचघरमा रसरङ्ग कार्यक्रम सञ्चालन भएको थियो, त्यति बेलाका हास्यव्यङ्ग्य कलाकार मास्टर केशव, राजपाल थापा, ध्रुव हाडाको हास्य मञ्चन अद्भुत थियो । त्यस्तै गोपालराज मैनाली, लक्ष्मण लोहनी लगायत प्रभावशाली कलाकार थिए । 

भीमबहादुर थापा, रामशेखर, वसुन्धरा भुसालपछि गाईजात्रा महोत्सवसँगै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य देखापरे । मदनकृष्ण र हरिवंश जोडी भएर ‘मह’ बनेपछि ‘मह हास्यव्यङ्ग्य महोत्सव’लाई निकै लोकप्रिय बनाए । 

रमेश केसी, राजाराम पौडेल, किरण केसी, सन्तोष पन्त, आनन्द थापाले हास्यव्यङ्ग्य महोत्सवलाई नै अघि बढाए । त्यसपछि शैलेन्द्र सिम्खडा, शम्भु दाहाल, शिवहरि पौडेल, खेम शर्मा, साम्दे शेर्पा, डम्बर घिमिरे, मनोज गजुरेल दीपकराज गिरी, दीपाश्री निरौला, कमल मैनाली, जितु नेपाल, दमन रूपाखेती, कमल गाउँले, सुरेन्द्र केसी, पल्पसा डङ्गोल, गोपाल नेपाल ‘फिस्टे’, शिवशंकर रिजाल, रवि डंगोल, राजन थापा, पूर्ण थापा, केदार घिमिरे ‘माग्ने बुढो’, सीताराम कट्टेल ‘धुर्मुस’, विष्णु सापकोटा, हर्के हल्दार आदिले हास्यव्यङ्ग्यको मञ्च जमाए । 

अहिले रियालिटी सोहरूले हास्यव्यङ्ग्य क्षेत्रमा नयाँ पुस्ताका थुप्रै स्ट्यान्ड–अप कमेडियन जन्माएका छन् । 

  • हलमा हुने हास्यव्यङ्ग्य गाईजात्रा 

गाईजात्राका अवसरमा हलमा दुई समूहले छुट्टाछुट्टै हास्यव्यङ्ग्य गाईजात्रा गर्ने गरेका छन् । यसपालि प्रज्ञा प्रतिष्ठानमा हुने गाईजात्राको समूहमा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, सुबोध गौतम, प्रभात लामा, सीता न्यौपाने, मेक्सम गौडेल, चक्र दवाडी, सजन श्रेष्ठ लगायत छन् । नाचघरमा हुने गाईजात्राको अर्काे समूहमा धुर्मुस–सुन्तली, शिवशंकर रिजाल ‘जोगिन्दर’, सुरेन्द्र केसी ‘मुलाको साग’, पल्पसा डँगोल ‘चम्सुरी’, लक्ष्मण गाम्नाङे, राजा राजेन्द्र, हिमेश पन्त, खड्गबहादुर पुन मगर ‘खबपु’, सन्तोष खनाल, सुयशा खनाल लगायत कलाकारको प्रस्तुति रहेको छ ।

नियमित रूपमा हास्य व्यङ्ग्य गाईजात्रा गर्दै आएका एउटा समूहका नेतृत्वकर्ता दमन रूपाखेती भने यसपालिको गाईजात्रे प्रस्तुतिमा छैनन् । त्यसैगरी नियमित गाईजात्रा गर्ने प्रभाकर देव शर्मा, रवि डंगोल, पूर्ण थापा, विष्णु सापकोटा ‘हर्के हल्दार’, किशोर भण्डारी पनि यसपालिको गाईजात्रे कार्यक्रममा छैनन् । 

यसपालि यु–ट्युबमार्फत पनि गाईजात्रासम्बन्धी प्रस्तुति सार्वजनिक भएका छन् । जसमा शिवशंकर रिजाल ‘जोगिन्दर’को ‘ठगठाग कम्पनी’, दमन रूपाखेतीको ‘पत्तासाफ’, शैलेन्द्र सिम्खडाको ‘यसपालिको सिकार’, कमल गाउँलेले ‘भीषण ८४’, प्रभाकरदेव शर्माको ‘जा. जा. आ. बा.’, गोपाल ढकाल ‘छन्दे’का ‘गठबन्धनका राजाहरू’ (यसमा नक्कली ‘केपी वली’ सुरेश तिमल्सिनाले साथ दिएका छन्), उत्तम कोदेको ‘बसिबियाँलो’, युवराज भण्डारीको ‘घुडैसिति २०८१’ लगायत छन् । 

मैले २०६८ सालदेखि दमन रूपाखेती समूहको गाईजात्रा कार्यक्रममा नियमित रूपमा प्रचण्डको अभिनय गर्दै आएको थिएँ । पोहोर साउनदेखि पेटको ठुलो आन्द्रामा क्यान्सर भएपछि उपचार गरिरहेको छु । पोहोर साल पनि गाईजात्रामा उपचारमै थिएँ । यसपालिको गाईजात्रामा पनि म अस्पतालको बेडमै छु । गाईजात्रा हास्य कलाकारको ठुलो पर्व हो । यस्तो पर्वमा नियमित सक्रिय भएर दर्शकहरूलाई हँसाउँदै आएको थिएँ तर अहिले अस्पतालको बेडमा हुँदा साह्रै दुःख लाग्दो रहेछ । 

जिन्दगीमा जे आइलागे पनि पनि त्यसको सामना गर्नैपर्दाे रहेछ तर हिम्मत हारेको छैन । यो क्यान्सरसँगको लडाइँमा पक्कै मेरो जित हुनेछ र फेरि दर्शक हँसाउन म स्टेजमा उक्लनेछु । सम्पूर्ण शुभचिन्तक तथा दर्शकको माया र शुभेच्छाले मेरो मनोबल डगमगाएको छैन । अर्काे गाईजात्रामा हँसाउने सामग्री लिएर आउने वाचा गर्दै यसपालिको हास्यव्यङ्ग्य गाईजात्रा गर्ने दुई टोलीलाई सफलताको शुभकामना व्यक्त गर्छु । जय हास्यव्यङ्ग्य ! जय गाईजात्रा !!

(लेखक गौतम कलाकारिता क्षेत्रमा ‘नक्कली प्रचण्ड’का रूपमा चिनिन्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

घनश्याम गौतम
घनश्याम गौतम
लेखकबाट थप