बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
अपराध

फार्मेसीमा जागिर, एआई दुरुपयोग गरेर नेताहरूको चरित्रहत्या

एआईमार्फत चरित्रहत्या गरेको तथ्य अदालतमा प्रमाणित गर्न चुनौती
मङ्गलबार, ०४ भदौ २०८१, १४ : ३५
मङ्गलबार, ०४ भदौ २०८१

काठमाडौँ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ घर भएका रमेशबहादुर रावत गत साउन ३२ मा पक्राउ परे । सिन्धुपाल्चोकस्थित एक फार्मेसीमा काम गर्ने २२ वर्षका रावतले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मार्फत प्रधानमन्त्री, काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयर तथा परराष्ट्रमन्त्रीको चरित्रहत्या गरेको आरोप छ ।

सिन्धुपाल्चोकको फार्मेसीबाट रावत पक्राउ परेका हुन् । उनीविरुद्ध ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ अनुसार म्याद लिएर अनुसन्धान थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीर पैसाको जस्तो देखिने बनाएर आरोपीले लेखेका छन्, ‘भ्रष्टाचारका महादेव ।’ परराष्ट्रमन्त्री आरजु राणाको शरीर पनि पैसाको बनाएर ‘भ्रष्टाचारकी कुल देवी’ लेखेर उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

रावतले ‘र्‍यानआरफोर’ नामको पेज बनाएर त्यस्ता सामग्री पोस्ट गरेको भेटिएको छ । सो पेजको प्रोफाइलमा उनले काठमाडौँका मेयर बालेन शाहको तस्बिर प्रयोग गरेका छन् ।

प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू दौडेको फोटो पोस्ट गर्दै रावतले मुलुक बंगलादेश बन्न लागेको गलत सन्देश प्रवाह गरेका छन् । यसअघि ‘फोटो मर्फिङ’ मार्फत गरिने अपराध अब एआईको दुरुपयोगबाट हुन थालेको छ । ब्युरोले एआई दुरुपयोग गरेको आरोपमा पहिलोपटक आरोपीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ । तर, एआई प्रयोगबाट हुने यस्ता घटनाको अनुसन्धान र अदालतमा तथ्य प्रमाणित गर्न चुनौतीपूर्ण हुने अनुसन्धान अधिकृतहरू बताउँछन् ।

अहिले रावतले फोटो मात्रै बनाएका हुन् । तर, भोलिका दिनमा रूप र भाषा उस्तै बनाएर गलत सन्देश दिने भिडियो पोस्ट गरेमा ठम्याउन नसकिने साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । उनले भने, ‘दुरुस्तै लाग्ने भिडियो बनाएमा त्यो एआईबाट गलत तरिकाले बनाइएको हो भनेर अदालतमा प्रमाणित गर्ने चुनौती हाम्रोसामु छ ।’

विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ मा एआईको दुरुपयोग बारे उल्लेख गरिएको छैन । तर, नयाँ विधेयकमा एआई भनेर छुट्याइएको छ ।

बैंकमा भिडियो कुराकानी मार्फत केवाईसी भेरिफिकेशन गर्न थालिएको छ । तर, एआईको दुरुपयोग गरेर खाता सञ्चालक हुँ भनेर फरक व्यक्तिले भेरिफिकेशन गराए त्यसबाट आर्थिक अपराध बढ्ने अनुसन्धान अधिकृतहरू बताउँछन् ।

प्रहरीसँग एआईको दुरुपयोग गरेको हो वा होइन भनेर ठम्याउने टुल छैन । ब्यूरोका एसपी अवस्थी भन्छन्, ‘एआईको दुरुपयोग गरेको ठम्याउने प्रविधि अब हामीलाई आवश्यक छ ।’

प्रविधिले मार्फत भिडियो र आवाज परक्षण गर्दा निश्चित प्रतिशत रिपोर्ट आउँछ । अदालतले परीक्षण गर्नेहरूको ‘योग्यता’ खोज्ने हुनाले दक्ष जनशक्ति पनि उत्पादन आवश्यक छ । एसपी अवस्थी भन्छन्, ‘एडभान्स तालिम पनि आवश्यक छ ।’

ब्यूरोले एआईको दुरुपयोग गरेर गलत सन्देश जान सामग्री प्रकाशन र प्रसारण नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप