शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
एमालेमा कलह बढ्दो

पार्टीभित्रका ‘विपक्षी’लाई डन्डा बर्साउन आचारसंहिताको ‘फन्डा’

१३ बुँदै आचारसंहितामा के छ ?
मङ्गलबार, ०४ भदौ २०८१, १२ : १९
मङ्गलबार, ०४ भदौ २०८१

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको अन्तर्विरोध भुसको आगोजस्तै भएको छ । यहीबिचमा एमाले कोशी प्रदेश समितिले १३ बुँदे आचारसंहिता जारी गरेको छ । 

जुन आचारसंहिता पार्टीभित्रकै विरोधी खेमालाई अनुशासनको डन्डा चलाउने हतियार बनाइन सक्ने भन्दै पार्टीभित्र फरक विचार राख्ने समूह सशङ्कित छन् ।

एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले जारी गरेको आचारसंहितामा पार्टीको गोपनीयता भङ्ग गरी अनधिकृत मिडियामा सम्प्रेषण गर्ने कार्य बन्द गर्न, नेतृत्वविरुद्ध फेसबुकमा नलेख्न, ठाउँ कुठाउँ पार्टीविरुद्ध नबोल्न चेतावनी दिइएको छ । 

एमालेले कार्यकर्तालाई मात्रै होइन पार्टीभित्र भइरहेको गुटबन्दीमा नेताकै तहबाट हुने गुटगत गतिविधिलाई पनि नियन्त्रण गर्ने मनसाय राखेको देखिन्छ । सोही अनुसार आचारसंहितामा गुटबन्दी पूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका बैठकहरू गर्ने काम नगर्न, कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिँड्ने खेती नगर्न र कुनै पनि अन्तर्विरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्तालाई मुछ्न वा विभाजित गर्ने कार्य नगर्न भनिएको छ । 

एमाले कोशी कमिटीले गरेको उक्त निर्णयप्रति एमालेकै कतिपय नेताहरू असन्तुष्टि व्यक्त गर्छन् । ‘हाम्रो पार्टीले अहिले नै यस्तो आचारसंहिता किन जारी गर्नुपर्‍यो ? एमालेमा धेरै गुटबन्दीको अभ्यास सुरु भएको हो र ? या पार्टी कमिटीहरूमा अन्तर्विरोध चुलिएको हो ? हो भने त्यसको हल त राजनीतिक तरिकाले हुनुपर्छ । ‘यो त सिधै कारबाहीको धम्की दिइएको छ,’ एक नेता बताउँछन् । 

एमालेका कतिपय नेताहरू मोरङका अध्यक्ष बाबुराम कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अन्तर्विरोधलाई बढाउने प्रयास गरिरहेको बताउँछन् । ‘विधि एकातिर छ, निर्णय अर्कोतिर भइरहेको छ,’ एमालेका एक कार्यकर्ता भन्छन्, ‘पार्टीभित्र फरक विचार राख्ने सबै सशङ्कित छन् । विधि विधान मिचेर उहाँहरूले नै काम गरिरहनु भएको छ । जिल्लाको अन्तर्विरोध प्रदेशमा पुगेको छ । त्यही भएर उहाँहरूले आचारसंहिताको फन्डा ल्याउनु भयो ।’

उनले पार्टी कमिटीभित्र फरक विचार राख्नै नपाउने परिस्थिति निर्माण भएको बताए । ‘उहाँहरूले पार्टी भित्रका असहमत पक्ष सबैलाई हान्दै जाने योजना बनाए जस्तो देखिन्छ । विपक्षमा बोल्ने, गलत कुराको विरोध गर्नेहरूलाई आउट गरेर मेरो पक्षमा बोल्छस् कि बोल्दैनस् भनेर सोधेर मात्रै पार्टी कमिटीमा राख्ने नीति लिएको देखिन्छ,’ ती कार्यकर्ता भन्छन्, ‘पार्टी कार्यकर्ताले शीर्ष नेताहरू कसैलाई भेट्न जाँदा पनि किन गइस् भनेर प्रश्न उठाउँछन् । हाम्रो नेतालाई हामी कार्यकर्ताले भेट्न नपाउने ? यसले मिसन ८४ सफल बनाउने होइन, ८१ मै पार्टी कमजोर हुने देखियो ।’

कार्यकर्तालाई अनुशासनमा राख्नका लागि पार्टीको विधान छ । विधान अनुसार नियमावली छ । अनुशासन विभाग पनि छ । तर, कोशी प्रदेशमा छुट्टै आचारसंहिता किन बनाइयो भन्ने प्रश्न गर्दै अर्का एक कार्यकर्ता भन्छन्, ‘यो बेकारको कुरा हो । पार्टी विधान छँदैछ । विधानअनुसार पार्टी चल्ने हो । अहिले महाधिवेशन पनि छैन । केही छैन । यस्तो अवस्थामा के आइलागेको हो ?’

एमालेको २०८० असोज १२ र १३ गते भएको कोशी प्रदेशको अधिवेशनदेखि नै आन्तरिक अन्तर्विरोध चुलिएको हो । त्यसबेला एमालेका नेता विनोद ढकालले पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । यद्यपि निर्वाचनबाट घनश्याम खतिवडा निर्वाचित भए । 

खतिवडा निर्वाचित भएपछि ढकाल पक्षका नेता कार्यकर्तालाई हेर्ने दृष्टिकोण फरक हुन थालेको ढकाल पक्षका कतिपय नेताहरू नै बताउँछन् । अहिले आएको आचारसंहिताले पनि ढकाल पक्षका नेता कार्यकर्तालाई तर्साउन ल्याइएको कतिपय बताउँछन् ।

यस्तै एमालेमा अन्तर्विरोध बढ्ने दोस्रो कारण भनेको विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचन हो । उक्त निर्वाचनमा एमालेका तत्कालिन नगर अध्यक्ष सागर थापासमूह र मोरङ एमाले अध्यक्ष बाबुराम कार्की पक्षले छुट्टा छुट्टै उम्मेदवार बनाएको थियो । त्यसपछि पार्टी निर्णय विपरीत गएको भन्दै थापासहितका नेता कार्यकर्तालाई जिल्ला अध्यक्ष कार्कीले कारबाही सिफारिस गरेका थिए । उनले गरेको कारबाहीको विषयलाई प्रदेश समितिले अनुमोदन गरेको छ । तर, विराटनगर महानगरपालिका र मोरङको पार्टीभित्र पकड जमाएको थापा समूहले तीव्र विरोध गर्दै कुरा उठाउन थालेपछि उनीहरूलाई कन्ट्रोल गर्न प्रदेश समिति नै लाग्नु पर्ने देखिएको छ । एमाले भित्रको आन्तरिक विवादकै कारण अहिलेसम्म मोरङ, इलाम र तेह्रथुम जिल्लाको अधिवेशन हुन सकेको छैन । 

एमाले प्रदेश अध्यक्ष खतिवडाले आचारसंहितालाई कसैले पनि अन्यथा लिन नमिल्ने तर्क गरे । ‘कार्यकर्तालाई पार्टीको लाइन विपरीत जान नदिन र अनुशासित पार्टी बनाउन आचारसंहिता लागू गरिएको हो’, उनले भने, ‘यसलाई अन्यथा लिन मिल्दैन ।’

एमालेको १३ बुँदै आचारसंहितामा के छ ?

१. पार्टीको नीति विधि, विधान, पद्धति र संस्थागत प्रणालीभन्दा बाहिर जान र कुनै पनि कार्य गर्न नहुने ।

२. गुटबन्दीपूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरू गर्ने काम गर्न नहुने ।

३. पार्टी नीति, नेतृत्व र निर्णयको विरुद्ध बोल्न र कार्य गर्न नहुने ।

४. पार्टीमा कोही कसैप्रति भेदभाव वा निषेध गर्न नहुने ।

५. पार्टीलाई क्षति वा नोक्सान पुग्ने गरी घात, अन्तर्घात गर्न नहुने ।

६. फेसबुक वा सामाजिक सञ्जालमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित वा इङ्गित गरी लेख्न नहुने । गोपनीयता भङ्ग गरी अनधिकृत रूपमा मिडियामा सम्प्रेषण गर्ने कार्य गर्न नहुने ।

७. ठाउँ कुठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इङ्गित बोल्न नहुने ।

८. कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिँड्ने खेती गर्न नहुने ।

९. कुनै पनि अन्तर्विरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरूलाई विवादमा मुछ्न वा विभाजित गर्ने कार्य गर्न नहुने ।

१०. व्यक्तिगत स्वार्थ र महत्त्वाकाङ्क्षा पूरा गर्ने माध्यमको रूपमा नेता वा कार्यकर्तालाई प्रयोग गर्न नहुने ।

११. आर्थिक र नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने ।

१२. जनताले उचित नठान्ने, प्रचलित कानुन प्रतिकूल सामाजिक, नैतिक दृष्टिले अनुचित र अपारदर्शी काम गर्न नहुने ।

१३. कुनै पनि नेता कार्यकर्ता वा सदस्यले तोकिएको कार्यक्षेत्र र जिम्मेवारीमा रहँदा आफू रहेको कमिटीको निर्णयहरूको जानकारी गराउने, सिर्जनात्मक ढङ्गले लागू गराउने, सहजकर्ता, प्रशिक्षक र समन्वयकर्ताको रूपमा र साङ्गठनिक मामिलामा गाँठो फुकाउने अभिभावकको भूमिकाको काममा बाहेक अन्य काममा अनावश्यक चासो, संलग्नता वा हस्तक्षेप गर्ने कार्य गर्न नहुने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप