एमालेको ११ औँ महाधिवेशन : ०८४ को निर्वाचन अघि कि पछि ?
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन २०८४ को आम निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा अन्योल देखिएको छ । एमाले विधानअनुसार ५ वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
‘राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुनेछ र यसको आयोजना केन्द्रीय कमिटीले सामान्यतया हरेक पाँच वर्षमा गर्नेछ’, एमाले विधानको धारा १३ मा भनिएको छ । यसबाहेक संवैधानिक व्यवस्था अनुसार विशेष परिस्थितिमा ६÷६ महिना गरी थप एक वर्ष पछि सार्न पनि सकिनेछ ।
विधानको व्यवस्था कार्यान्वयन गर्दा एमालेले आगामी २०८३ मङ्सिर दोस्रो साता ११ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर एमालेको सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित भएकाले त्यसअघि पार्टीको महाधिवेशन गर्ने कि नगर्ने भन्ने पार्टीभित्रै अन्योल देखिएको छ । यद्यपि, यसबारे नेतृत्वले औपचारिक कुनै छलफल गरेको छैन ।
प्रदेश अधिवेशन सकेर जिल्ला अधिवेशनसमेत लगभग सकाएको एमालेले राष्ट्रिय महाधिवेशनबारे भने कुनै तयारी र छलफल नथालेको नेताहरू बताउँछन् ।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशन २०७८ साल मङ्सिरमा चितवनको सौराहामा भएको थियो । तर आगामी महाधिवेशन २०८४ मा हुने आम निर्वाचनको सम्मुखमा पर्ने भएकाले त्यसअघि यो गर्ने/नगर्ने कुनै निर्क्योल भई नसकेको नेताहरूको भनाइ छ ।
‘हाम्रो सम्पूर्ण ध्यान अहिले मिसन ०८४ लाई कसरी सफल बनाउने भन्नेमा मात्र केन्द्रित छ । पार्टीको महाधिवेशनबारे अहिले हाम्रो कुनै तयारी र छलफल भएको छैन,’ एमाले स्थायी समिति सदस्य समेत रहेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘संवैधानिक हिसाबले बाध्य गर्यो भने मात्र राष्ट्रिय महाधिवेशन होला, नत्र २०८४ को महायज्ञमा हिँड्नुपर्ने बेला महाधिवेशनमा लाग्ने कुरा त्यति उचित नहोला ।’
सौराहामा सम्पन्न १० औँ महाधिवेशनबाट अध्यक्षमा ओली निर्वाचित भएका थिए । हाल उनी प्रधानमन्त्री पनि छन् । नेपाली कांग्रेससँगको गठबन्धनमा २ वर्ष प्रधानमन्त्री हुने सहमति अनुसार २०८३ साल असार तेस्रो सातासम्म उनी नै प्रधानमन्त्री हुनेछन् । त्यसपछि कांग्रेस सभापति देउवा चुनावी प्रधानमन्त्री हुनेछन् ।
२०८४ मङ्सिरमा आम निर्वाचन हुने र एक्लै चुनावमा जाने एमाले नेताहरूको भनाइले पनि महाधिवेशन भन्दा आम निर्वाचन एमालेको प्राथमिकतामा पर्ने निश्चित जस्तै रहेको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।
तर एमालेका एक नेताका अनुसार एमालेको अबको महाधिवेशनले अहिलेकै नेतृत्वलाई पुनः दोहोर्याउने भएकाले आम निर्वाचनभन्दा अघि अर्थात् ‘अर्ली महाधिवेशन’ (२०८२) मै पनि गर्न सक्ने सम्भावना रहेको छ ।
‘अबको महाधिवेशनले अहिलेकै नेतृत्वलाई दोहोर्याउने हो । त्यसकारण आम निर्वाचनपछि महाधिवेशन गर्दा निर्वाचनको परिणाम के आउँछ, त्यसले अर्कै परिस्थिति पनि निम्त्याउन सक्ने भएकाले अध्यक्षले पहिला नै गरौँ पनि भन्न सक्ने अवस्था छ,’ ती नेताको भनाइ छ । उनका अनुसार अबको एमालेको नेतृत्व पनि हालका अध्यक्ष ओलीले नै गर्ने भएकाले ओलीले आफू अनुकूल निर्णय गराउने सम्भावना पनि छ ।
‘अध्यक्षले चाहे अर्ली महाधिवेशन पनि हुनसक्छ । तर अहिले नै त्यसबारे पार्टीका कुनै पनि फोरममा छलफल भएको छैन,’ ती नेता भन्छन्, ‘आम निर्वाचनपछि महाधिवेशन गर्दा आम निर्वाचनको परिणामले अर्कै परिस्थिति निर्माण गर्ने भएकाले त्यसको हिसाब किताब गरेर ओलीले आफू प्रधानमन्त्री भएकै बेलामा महाधिवेशनको विधि पुर्याउन सक्ने सम्भावना रहेको छ ।’
त्यसो त एमालेमा यसअघि रहेको ७० वर्षे प्रावधान निलम्बन गरेपछि आगामी कार्यकालका लागि पनि ओली अध्यक्षमा निर्विकल्प बन्न पुगेका छन् । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा ओलीसँग नेता भीम रावलले प्रतिस्पर्धा गरेका थिए । तर त्यसयता रावल एमालेमा भूमिकाविहीन छन् ।
- कांग्रेसमा आशीर्वादको पर्खाइ
संसद्को पहिलो ठुलो दल कांग्रेसमा भने महाधिवेशनको चर्चा सुरु भइसकेको छ । विधानअनुरूप एउटै व्यक्ति दुई पटकभन्दा बढी सभापति हुन नमिल्ने भएकाले कांग्रेसमा अहिलेकै व्यवस्था कायम राखेसम्म हालका सभापति शेरबहादुर देउवा नेतृत्वबाट बाहिरिनेछन् । त्यस्तो अवस्थामा देउवाको उत्तराधिकारीका रूपमा अब कसले कांग्रेसको नेतृत्व हत्याउने भन्ने पार्टीभित्र आन्तरिक चर्चा बढ्दो छ ।
१४ औँ महाधिवेशनमा कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबिच मुख्य प्रतिस्पर्धा भए पनि १५ औँ महाधिवेशनमा हालका उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, महामन्त्री गगन थापा, विमलेन्द्र निधी र प्रकाश कोइरालालगायतले आकाङ्क्षा देखाइरहेको कांग्रेस नेताहरूमा चर्चा छ ।
सभापतिका आकाङ्क्षीमध्ये उपसभापति खड्काले आफू उपसभापति भैसकेको र फर्केर महामन्त्रीमा चुनाव लड्दिन भनेर सभापतिको दाबेदारका रूपमा आफू निकटस्थ नेताहरूलाई बताउँदै आएका छन् । त्यस्तै महामन्त्री गगन थापाले पनि आफू १५ औ महाधिवेशनमा सभापतिमा लड्ने सार्वजनिक रूपमै उद्घोष गरिसकेका छन् । शेखर कोइरालाले त १४ औँ महाधिवेशनमै देउवासँग प्रतिस्पर्धा गरेकाले उनी पनि पछि हट्ने सम्भावना नरहेको नेताहरू बताउँछन् ।
अर्का नेता डा. शशांक कोइरालाले पनि आफू कांग्रेस भित्रको तेस्रो धारको नेतृत्व गर्ने भन्दै सभापतिको प्रतिस्पर्धीका रूपमा आफूलाई अघि सार्ने तयारी गरेका छन् । यसरी हेर्दा कांग्रेसको १५ औँ महाधिवेशनमा पनि सभापतिका उम्मेदवारका आकाङ्क्षी धेरै हुने देखिन्छ । आकाङ्क्षी धेरै भए पनि हालका सभापति शेरबहादुर देउवाको आशीर्वाद कसलाई हुन्छ भन्ने विषयले महत्त्व राख्ने देखिन्छ । त्यसका लागि उनीहरू सबैले देउवाको आशीर्वाद कुरेको बताइन्छ ।
कांग्रेस नेता मीन विश्वकर्मा १४ औँ महाधिवेशन सम्पन्न भएको अढाई वर्ष समय बितेकाले १५ औँ महाधिवेशनको सरगर्मी बढ्न थाल्नु स्वाभाविक भएको बताउँछन् । ‘अढाई वर्ष बितिसक्यो अब धेरै समय छैन । यस्तो बेला महाधिवेशनको चर्चा चल्नु स्वाभाविक हो,’ विश्वकर्माको भनाइ छ ।
- माधव दोहोरिए, प्रचण्डमाथि प्रश्न
तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रको विशेष महाधिवेशन अनिश्चित बनेको छ । २०७८ पुसमा भएको आठौँ महाधिवेशनको ६ महिनाभित्र गर्ने भनिएको विशेष महाधिवेशन अझै अनिश्चित बनेको हो ।
महाधिवेशन भएको दुई वर्ष कटिसक्दा समेत माओवादीभित्र विशेष महाधिवेशनको कुनै तयारी छैन । गएको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए ।
गत फागुनमा भएको विधान अधिवेशनमा पनि नेताहरूले चाँडै विशेष महाधिवेशन गर्नुपर्ने दबाब दिएका थिए । तैपनि सो पार्टीले अहिलेसम्म महाधिवेशनको प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । साउन २५ देखि ३० गतेसम्म बसेको माओवादीको स्थायी कमिटी बैठकले आगामी असोजसम्म पार्टी निर्माणबारे तल्ला पार्टी कमिटीमा बहस चलाउने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकमा नेतृत्व हस्तान्तरणबारे नेताहरूले प्रश्न उठाए पनि हालका अध्यक्ष प्रचण्ड नेतृत्व छाड्न तयार देखिँदैनन् ।
उता, नेकपा एकीकृत समाजवादीको नेतृत्वमा माधव नेपाल निर्वाचित भएका छन् । गत असारमा सम्पन्न पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट नेपाल सर्वसम्मत पार्टी अध्यक्ष बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई