बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
जब वीरेन्द्र र गिरिजाको भेट भयो...
गाईजात्रा

जब वीरेन्द्र र गिरिजाको भेट भयो...

‘गाईजात्रा’मा प्रधानमन्त्रीदेखि बालेनसम्मलाई झटारो
मङ्गलबार, ०४ भदौ २०८१

काठमाडौँ । ‘राजनीति’ राज्यको नीति र व्यवस्थालाई ठिक राख्ने मूल व्यवहारगत व्यवस्था हो । तर, हाम्रो देशमा राजनीतिमै गाईजात्रा छ । नेपालमा सरकारदेखि सडकसम्म गाईजात्रा नै जाईजात्रा छ । सबैतिरको यस्तै गाईजात्रालाई व्यङ्ग्य गर्ने उद्देश्यकासाथ काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भइसकेको छ ‘एकासीको गाईजात्रा’ ।

आइतबारबाट सुरु भएको ‘एकासीको गाईजात्रा’ लाई कलाकार मनोज गजुरेलले संयोजन गरेका हुन् । यसमा नेपालका हरेक राजनीतिक पक्षदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म, पूर्व प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म, खेलाडीदेखि कलाकारसम्म, कर्मचारीदेखि अदालतसम्म सबै विषय समेटेका छन् । 

कलाकारले यो पटक सबैभन्दा धेरै झटारो पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि बर्साएका छन् । यसपटक सबैभन्दा बलियो झटारो कलाकार शैलेन्द्र सिम्खडाको रहेको छ ।

गाईजात्रा कार्यक्रममा कलाकार मनोज गजुरेलको गेटअपको चर्चा हरेक वर्ष हुन्छ । यो वर्ष पनि गजुरेललाई दर्शकले दुई फरक गेटअपमा पाउनेछन् । स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह र बहुला आम नागरिक ।

gaijatra (2)

‘पुनर्जन्म शीर्षक’को प्रहसनमा वीरेन्द्र र गिरिजाप्रसाद कोइरालाबिच आमनागरिकको रूपमा जन्म भएपछिको संवाद प्रस्तुत छ । वीरेन्द्रको नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने पूर्व जन्मको चाहना पूरा गर्न नागरिकको रूपमा जन्म भएको देखाइएको छ । गिरिजाको पनि चाहना त्यही देखिन्छ । 

वीरेन्द्र र गिरिजाको संवादमा राजतन्त्रको पुनर्बहालीदेखि हरेक व्यवस्थाको विषयमा समेत बहस हुन्छ । दुवैको बहसबाट व्यवस्थापक र व्यवस्थापन राम्रो नहुँदा नेपाल बिग्रिएको निचोड निस्कन्छ । दुईको संवादले दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य गराउँछ । यो संवादमा के–के विषय पर्छ, कुरो थाहा पाउन भने कार्यक्रम हेर्नुको विकल्प छैन ।

प्रहसनमा गजुरेललाई गिरिजाप्रसाद कोइरालाको रूपमा कलाकार चक्र दुवाडीले साथ दिएका थिए । सिस्नुपानीका सदस्यसमेत रहेका दुवाडीले गत वर्ष बीपी कोइरालको गेटअपमा दर्शकलाई मनोरञ्जन दिएका थिए ।

मनोजको दोस्रो गटेअप एक ‘बहुला’ मानिसको थियो । यो पात्रमार्फत गजुरेलले संविधान संशोधन, संविधान कार्यान्वयन, राष्ट्रिय सहमतिका साथै सहकारी समस्या, मिटरब्याजको समस्या, वैदेशिक रोजगारीको समस्यालगायतको पीडाबाट विक्षिप्त एक व्यक्तिको कथा पस्किएका छन् ।

gaijatra (5)

अभिनेत्री रिमा विश्वकर्माले स्टेजमा कार्यक्रमको होस्ट गरिरहँदा बहुला मानिसको शैलीमा नेपाली राष्ट्रिय झण्डा राखिएको बोरा बोक्दै दर्शक दीर्घबाट एक्कासि स्टेजतर्फ उनी बढ्दा सबै त्रसित देखिन्थे । त्यो गेटअपमा उनी कलाकार गजुरेल नै हुन् भनेर ठम्याउन जो कोहीलाई मुस्किल पर्थ्यो । 

जब स्टेजमा पुगेर उनले ईपीएस, सहकारीलगायत देशमा वर्षभरि घटेका महत्त्वपूर्ण घटना कोट्याउँथे, दर्शक छिनमै भावुक हुन्थे । मनोजको एकल प्रस्तुतिले दर्शकको सिटी र तालीको राम्रो साथ पाएको थियो । 

पुराना र नयाँ पुस्ताको फ्युजनको अलावा नव बाल प्रतिभालाई समेत दर्शकका अगाडि यो पटक गजुरेलले उभ्याएका छन् । शैलेन्द सिंखडा, सुबोध गौतम, साजन श्रेष्ठ, मेक्सम गौडेल, चक्र दवाडी, सीता न्यौपाने, आशिष खनाल, पर्वत लामा, यमन श्रेष्ठ, प्रकृति गिरी लगायतको प्रस्तुतिको कार्यक्रम ‘एकासीको गाईजात्रा’ले दर्शकलाई मनोरञ्जन प्रदान गर्छ ।

कक्षा ५ मा अध्ययनरत बालकलाकार युमी गौतमको ‘नेपाली हो नि गर्छ’ शीर्षकको हास्य कविताबाट सुरु भएको थियो । उनले आम नेपालीको प्रवृत्तिमाथि कवितामार्फत व्यङ्ग्य हान्छिन् ।

कार्यक्रममा मेक्सम गौडेल र सुबोध गौतमको ‘न घरवाला, न डेरावाल’ दर्शकले सायदै बिर्सन सक्लान् । गौडेल र गौतमले घरबेटी र डेरावालको प्रस्तुतिमा घरबेटीको समस्या, राजनीतिक, पार्टीका विद्यार्थी संगठनका दादागिरी लगायतका विषय समेटिएका छन् । ‘न घरवाला, न डेरावाल’ को प्रस्तुतिमा कलाकारले राखेको हरेक विषयमा दर्शक नहाँसी सुखै पाउँदैनन् ।

gaijatra (4)

कार्यक्रममा कलाकार प्रभात लामाले कुलमान घिसिङ र सुन तस्कर गर्ने एक व्यक्तिको भूमिकामा प्रस्तुति दिएका छन् । कुलमानको भूमिकामा विद्युत्को पैसा नतिर्नेदेखि उनलाई हटाउन खोज्ने प्रधानमन्त्री केपी शर्मासम्म प्रस्तुतिको विषय बन्दा सुन तस्करीको भूमिकामा उनले नेतादेखि सर्वसाधारण सम्मलाई जोड्छन् । सुन तस्करीका प्रस्तुतिमा उनलाई ट्याक्सी चालकको रूपमा साथ दिएका छन्, कलाकार साजन श्रेष्ठले ।

सीता न्यौपानेले कार्यक्रममा सामान्य प्रस्तुति दिइन् । करिब १० मिनेट भन्दै स्टेजमामा देखिएकी उनले दिएको १५ मिनेटको प्रस्तुतिमा यसपटक एक–दुई पन्चमा बाहेक दर्शक हाँस्न सकेनन् ।

gaijatra (1)

गाईजात्रा कार्यक्रममा शैलेन्द्र सिम्खडाको प्रस्तुतिले बेग्लै रौनक थाप्छ । दर्शकलाई सबैभन्दा बढी खिच्का छुटाउने काम सिम्खडा गरे । 

gaijatra (3)

सोही कार्यक्रममा बालेन र पत्रकारको अन्तर्वार्ता पनि थियो । नव कलाकार आशिष खनाल बालेनको रूपमा प्रकृति गिरी पत्रकारको रूपमा प्रस्तुत भएर दर्शकको मन जिते । कार्यक्रममा यमन श्रेष्ठले भने एक प्यारोडी गीत राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया