शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

आगामी आइतबार लन्डनमा नेपाली मेला हुँदै, तयारी अन्तिम चरणमा

मङ्गलबार, ०४ भदौ २०८१, ०९ : ११
मङ्गलबार, ०४ भदौ २०८१

लन्डन । आगामी आइतबार (२५ अगस्ट) लन्डनस्थित केम्पटन पार्क रेस कोर्समा नेपाली मेलाको आयोजना हुने भएको छ ।  १५ औँ नेपाली मेलामा पाँच हजारदेखि सात हजार मानिसहरूको सहभागिता रहने नेपाली मेलाका आयोजक तमुधिं युकेले जनाएको छ ।

तमुधिं युकेले मिचेटस्थित तमुधिं भवनमा  एक पत्रकार सम्मेलन गरी नेपाली मेलाबारे जानकारी गराउँदै नेपाली मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । तमुधिं युकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हरेक वर्ष नेपाली मेलाको आयोजना गर्दै आएको छ ।

बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने उक्त मेला हेर्न १२ वर्षमाथिका वयस्कलाई ५ पाउन्ड, कार पार्किङ ५ पाउन्ड र १२ वर्ष मुनिकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । तमुधिं युकेले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ तमुधिं युकेले सन् २००९ देखि नेपाली मेलाको आयोजना गर्दै आएको हो ।

बेलायतको नेपाली समुदाय र सङ्घसंस्थाबिच सम्बन्ध प्रगाढ बनाउन एवं स्थानीय समुदायमा नेपाली कला, संस्कृति, रहनसहन र परम्परालाई संवर्द्धन र प्रवर्द्धन गर्न नेपाली मेलाले  महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

मेलामा नेपाली खाना, हस्तकला, पोसाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका दर्जनौँ व्यापारिक स्टल रहने छन्  । यसैगरी मेलामा थप आकर्षणको रुपमा राफल ड्र पनि राखिएको छ, जसमा  ३००, २०० र १०० पाउण्डको पुरस्कार राखिएको आयोजकले बताए।

बेलायतवासी नेपालीहरूलाई लक्षित नेपाली मेलामा सहभागी हुन् तमुधिं युके अध्यक्ष हरि गुरुङले सम्पूर्ण बेलायतवासी नेपालीहरूमा आग्रह गरेका छन् । विगतको तुलनामा केहि फरकपन ल्याउन झाँकी, रुट तथा स्टेज व्यवस्थापनमा केहि परिवर्तन गरिएको गुरुङले जानकारी दिए । तमुधिं युकेले नेपाली मेलाको सुरुवात गरेपछि पछिल्लो समयमा अरुपनि नेपाली मेला तथा भेलाको आयोजना हुँदै गएको बताउँदै आफूहरूले सुरु गरेको प्रयासले वृहत् रूप लिँदै गएको उनले बताए ।

मेला संयोजक तथा संस्थाका उपाध्यक्ष परशु गुरुङले यसपटक मेलामा विभिन्न मौलिक झाँकी र नृत्यका लागि बेलायतस्थित ४२ नेपाली संघसंस्थाहरुले सहभागिता जनाउने बताए । नेपाली कला, संस्कृति, रहनसहन र परम्परा चिनाउन र यसलाई दोस्रो पुस्तामाझ पुस्तान्तरण गर्न नेपाली मेलाको महत्त्वपूर्ण योगदान रहने गुरुङले  बताए ।

उत्कृष्ट झाँकी र नृत्य प्रस्तुत गर्ने समूहलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरिने छ भने रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउन्ड, सर्टिफिकेट एवं मेडल प्राप्त गर्नेछन् ।

झाँकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउन्ड, रनरअपलाई ३०० पाउन्ड, र सेकेन्ड रनरअपलाई २०० पाउन्ड नगदसहित सर्टिफिकेट एवं मेडल प्रदान गरिनेछ ।

एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउन्ड प्रदान गरिनेछ । मेलामा हुनसक्ने आपतकालीन अवस्थामा प्राथमिक उपचार र सुरक्षा व्यवस्थाको लागि सम्पूर्ण व्यवस्थापन मिलाइएको छ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घका नयाँ कार्यसमितिलाई तमुधिं युकेले बधाई तथा शुभकामना व्यक्त गर्दै तमुधिं युके अध्यक्ष र आमा समूहकी अध्यक्षले मायाको चिनो प्रदान गरेका थिए । यसैगरी नेपालबाट भर्खर लन्डन आइपुगेकी नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव दिलिपाश्री अधिकारीलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा तमुधिं युके संस्थापक अध्यक्षहरू, एनआरएनए युके अध्यक्ष हित काजी गुरुङ, पूर्व अध्यक्षहरू, काउन्सिलर धनबहादुर सार्कीसहित तमुधिं यूकेका ट्रष्टीहरु, सल्लाहकारहरू, आमा समूहकी अध्यक्ष तथा पदाधिकारी, तमुधिं यूकेका इकाई समिति अध्यक्षहरू लगायत सहभागी थिए ।

महासचिव डा विशाल गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारहरूलाई परिचय गराएका थिए । यसपटक नेपाली मेलाको प्रत्यक्ष प्रसारण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूले प्रत्यक्ष प्रसारण गर्ने मिडिया संयोजक एसके गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप