आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
कूटनीति

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण : हवाई रूट र पञ्चेश्वर परियोजनाबारे छलफल

सोमबार, ०३ भदौ २०८१, २२ : ३०
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ ।  परराष्ट्रमन्त्री आरजु राणा (देउवा)को भारत भ्रमणका क्रममा हवाई रूट र पञ्चेश्वर परियोजनाबारे छलफल भएको छ । परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भएको भेटवार्तामा हवाई रूट, पञ्चेश्वर परियोजना, सीमा सुरक्षा, ऊर्जा लगायतका विषयमा छलफल भएको हो । 

छलफल गरिएका विषयमा दुई देश द्धिपक्षीय संयन्त्र निर्माण गर्न सहमत भएका छन् । भेटमा व्यापार तथा पारवहन, लगानी र पूर्वाधार निर्माणका विषयमा समेत छलफल भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । 

भेटमा नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा समेत भएको थियो । साथै दुवै पक्षबिच ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिकाबारे पनि कुराकानी भएको थियो । 

सोमबारै भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको थियो ।

भेटवार्तामा नेपाल र भारतबिच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो ।  

भेटमा द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल भएको बताइएको छ । भेटलगत्तै विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी राणाको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए । 

त्यसलगत्तै मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् ।  हैदरावाद हाउसमा सोमबार साँझ भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको मन्त्री राणाले जानकारी दिएकी छन् । 

भेटमा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएकी छन् । भारतका विदेशमन्त्रीको निमन्त्रणामा  पाँच दिने भारत भ्रमणमा रहेकी मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप